माथेमा कार्यदलको प्रतिवेदन हुबहु लागू गर–सभापति देउवा



काठमाडौं, (नेस)
आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले उहाँको जीवनरक्षाको माग गर्नुभएको छ ।

सोमबार सार्वजनिक गर्नुभएको वक्तव्यमा उहाँले कुनै अप्रिय घटना भए सम्पुर्ण दोषको जिम्मेवारी सरकारको हुने बताउँदै उहाँले अप्रिय घटना भए चिकित्सा शिक्षामा सुधारको अभियानप्रति नै गम्भीर घात हुने दावी गर्नुभयो ।

डा. केसीको स्वास्थ्य स्थिति थप विग्रदै गएको खवरले आफूलाई गम्भिर बनाएको जानकारी दिँदै सभापति देउवाले भन्नुभएको छ–डा.केसीको अवस्था चिन्ताजनक हँुदा पनि सरकार वार्तामार्फत समाधानको लागि गम्भीर नहुनु झन गम्भीर विषय भएको छ ।’

उहाँले आफ्नो नेतृत्वको सरकारले चिकित्सा शिक्षामा सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको दावी गर्दै थप्नुभएको छ–डा.केसीसंगको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेकसम्मत हल हुने मेरो दृढ निष्कर्ष छ ।’

प्रतिक्रिया दिनुहोस्