नोटबुकमा छरपस्ट टिपिएका टिपोटहरु



-मुक्तिबन्धु
टिपोट (१)  झम्पलसिंग स्वर्गे हुँदा उनका गोठमा एउटा बुढो गोरु र बुढी गाई मात्र बाँकी थिए । झम्पलका दुई भाइ छोरा डिम्पल र सिम्पल । उनीहरुले आपसमा सल्लाहा गरे, ‘कमाउने जुटाउने बा बिते पनि हाम्रो लागि गाई गोरु छोडेर गएका छन् । यिनीहरु व्याएपछि दुध टन्न खानुपर्ला ।’

कहिल्यै काममा नभिजेका डिम्पल र सिम्पललाई व्यावहारिक कुरामा त्यति मेसो थएन । अलि दिनपछि बुढी गाई व्यायो । दुई दुई थुन बाँडेर दुध निचोर्न र पिउन सुरु गरे । अझै बढी दुध पिउने उत्कण्ठा जाग्यो । गोरु व्याउला र अरु पिउँला भनेको खै गोरु त व्याएन । तान्दा तान्दै बुढी गाइका थुन पनि चुँडिए । दुध खान नपाएको बाच्छो धनसारभित्र टाट्नामाथि दाम्लोमै म¥यो ।

एक दिन दुई जना लठैत लिएर पारीघरे मुखिया टुप्लुक्क आइपुग्यो । डिम्पल र सिम्पललाई सम्बोधन गरेर भन्यो, “तिमीहरुलाई यो घरगृहस्थीका काम थाहा छैन । यो झ्याउ काम हो । बुढो गोरु व्याउँदैन । बुढी गाइका थुन चुँडिन्छन् । खेतबारीमा नरोपी केही फल्दैन । कल्ले गर्छ यस्तो झ्याउ काम ? तिमीहरु पारीतिर जाऊ । जागीर खाऊ । तिम्रो बाउको घर गृहस्थी मेरो जेठो छोराले चलाइदिन्छ । जाऊ । अहिल्यै यसै क्षण जाऊ । निक्लिहाल । आजैबाट यस घरमा बस्न मेरा छोरो शेरसिंग आउँछ ।”

हामी गाउँले नभएको भए डिम्पल र सिम्पलको घरबास त्यतिखेरै उड्ने ।
वर्षौंअघि हजुरबाबाले सुनुाउनुभएको कथा हो यो । यो घटना कथा हो कि तथागत कथा हो । बेलैमा हजुरबाबालाई सोधिएन । कथा अहिले अरु ताजा भएर सम्झनामा जागेकोे छ ।

टिपोट (२)  ‘हाम्रो आकाङ्क्षा विपरीत । लम्किरहेछ हात्ती अझै लयवद्ध । आँखा छन् हाम्रा आफ्नै । हामी हात्तीलाई सद्योविभाज्य देख्छौं । हामी हात्तीका आफ्नै छावा त थिएनौं, होइनौं ।
खुट्टाजति हामीलाई । हामी खुट्टाकै बार ठोक्छौं । इच्छा न हो । हामी विभाजित हात्तीलाई हात्तीकै बार ठोक्छौं । ए हात्ती बोकेर पहाड उक्लनेहरु हो, हामी तिमीहरुलाई बेसी ओर्लन बार ठोक्छौं ।’

यो आवाज कताबाट आउँछ ? कसको रेडियोबाट आउँछ यो आवाज ? म सपनामै जागरुक बनेर जुरुक्क उठ्छु । बत्ती बाल्छु । कोठा सुनसान सुति रहेकै छ । म व्युँझेर के हुन्छ ? कोठा ब्युँझेको छैन । घर ब्युँझेको छैन । सुत्छु । फेरि सुत्छु । फेरि उठ्छु । लाग्छ, हिजोआज मेरो घरमा एउटा दुःस्वप्न पसेको छ । म दुःस्वप्नको लखेटोमा छु ।

०७२ को भूकम्प सम्झन्छु । प्रथम भूकम्प त मध्यदिनमै थियो । सवै जागा थिए । म त्यसलाई भन्दा पनि एउटा अँध्यारो रातलाई सम्झन्छु । म मस्त निद्रामा थिएँ, भूकम्पले अनायास ब्युझेँ । सवै यस्ता कम्पलाई परकम्प भन्थे तर यो परको कम्प थिएन वरकै कम्प थियो । भूकम्प नै थियो । मेरो घर काँपेको थियो । म हल्लेको थिएँ । ब्युझेँ । घरमा अरु कोही ब्युँझिएको थिएन ।

 

दिनभरिको कामको थकान थियो । सवै गहिरो निद्रामा थिए । सम्भवतः राम्रो सपना देखिरहेका थिए । नराम्रो देखेका भए ब्युँझन्थे । मैले त्यतिबेला घरपरिवारलाई आवाज दिएर बिम्झाउने कि सपना देखेर निदाइरहन दिने ? सपना त मिठो होला । शान्त सुन्दर होला । बिपना त भागाभाग छ । ज्यान जोगाउन फाल छोडेर भाग्नै पर्छ । हतारमै मैले निदो गरेँ ‘सपनाका आनन्दका लागि विपनाको मृत्यु वरेण्य छैन ।’ एकाएक म चिच्याएँ । घरपरिवारमा सवैको निद्रा भङ्ग हुने गरी चिच्याएँ । अहिले लाग्छ हामी सवै जाग्यौं र नै जोगियौं ।

राणाशासन कालमा शासक राणाका विरोधमा बोल्न हुन्न, बोल्यो भने जिब्रो थुत्छ भन्थे । अहिले जिब्रो थुत्ने झन्झट छैन । समय गतिशील छ । अहिले शासनमा रहेका राणाहरु पश्चगामी छैनन्, अग्रगामी छन् । अझ समाजवादी र जनवादीसमेत छन् । अहिले लोकतन्त्र छ । विधिको शासन छ । अहिले रैती दुनियाँले पनि बोल्न हुन्छ

 

जोगिनलाई बेलामा जाग्नै पर्र्दो रहेछ । बुढापाकाहरु भन्थे, “न भयम् चास्ति जाग्रतः अर्थात् जो जागा बसेको छ उसलाई डर हुँदैन ।” यो भनाइको तात्पर्य जो सावधान छ उसले समयमै सामना गर्छ र विजय हासिल गर्छ भनेको पनि हो ।

टिपोट (३) ः जुन चेपोले नेपालमा सङ्घीयता भित्र्यायो त्यस चेपोको मनसाय नेपालको समग्रतामैत्री थिएन । हतारमै सङ्घीयता सकार्ने दलपतिहरु मूर्ख कालिदास जत्तिका पनि थिएनन् । कालिदासलाई त म मूखर््ा छु भन्ने थाहा थियो । त्यसै थाहाले मूर्ख कालिदासलाई महाकवि कालिदास बनायो । हाम्रा दलपतिहरुलाई आफु मूर्ख छु भन्ने थाहा नै रहेन । यसैले यिनीहरु जनताका घरै भत्काउने व्यामोहमा फँसेका अरबपतिमा फेरिएकाछन् ।

हो अरबपतिहरु अरु मूर्ख हुन्छन् । तिनीहरुमा जो भएको विवेक पनि खिया लागेर सकिन्छ र भावसम्वेदनाका क्षेत्रमा त तिनीहर दयनीय स्थितिका दरिद्र नै बनिसकेका हुन्छन् । अरबपतिहरुलाई देश र जनता चाहिँदैनन् । सरकारले अहिले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उठेको जनआवाजको जसरी अपमान गरिरहेका छ यसले उल्लिखित अरबपतिहरुको दरिद्रतालाई डबलीमा नाङ्गै उभ्याएको छ । देखेर दुःख लाग्छ ।

यिनीहरुलाई ‘म कोहुँ कहाँ छु कहाँबाट आएँ ? कहाँबाट यो मान सम्मान पाएँ ? कहाँ जानुपर्ला कहाँ जानु हुन्न ? कति खानुपर्ला कति खान हुन्न ? कुनै शुद्धि बाँकी ममा छैन आज । कता हो म आफु कता हो समाज ? त्यसै मात्तिँदै फुत्त अक्कास्सिएँ कि ? चढी राज्यसत्ता म राजै भएँ कि ? कतै कृत्य कर्तव्य होलान् कि मेरा ? जता हेर्छु छन् कोटरीमा चमेरा ! म मान्छेहरुबाट नै टाढिएँ कि ?उकास्सिन्छु भन्दा अरु गाडिएँ कि ?’

हाम्रा अरबपति दलपतिहरु एकान्तमै सही आफुसँग कदाचित् यसरी यी प्रश्न पनि गर्छन् त ? मलाई लाग्छ गर्दैनन् । यिनीहरुलाई आलोचना मन पर्दैन । आत्मआलोचना पनि मन पर्दैन । सामन्त महासामन्तहरु आलोचनाभन्दा माथि हुन्छन् ।

यसै त आलोचना सहन कसलाई पो मन पर्छ र ? पुरानो भक्तिकाव्य श्रीमद्भागवतमा विश्वभ्रमण सकेर फर्केका नारदले आफ्नो मौखिक प्रतिवेदनमा भनेका छन्, “डुलफिरका क्रममा मैले यस भूमण्डलमा अनेकौँ दुःखद्वन्द्व सहन सक्ने मानिसहरु भेटेँ, आलोचना सहन सक्ने मानिस एउटै भेटिनँ । आलोक्यते सन्चरता लोके द्वन्द्वसहो जनः । नालुलोके खिले लोके न दुर्वादसहो जनः । –भागवतमञ्जरी, विद्वच्छिरोमणि कुलचन्द्र गौतम ।” राजनेताहरुका सन्दर्भमा हामी आज पनि भागवत्कै युगमा छौँ ।

टिपोट (४)  राणाशासन कालमा शासक राणाका विरोधमा बोल्न हुन्न, बोल्यो भने जिब्रो थुत्छ भन्थे । अहिले जिब्रो थुत्ने झन्झट छैन । समय गतिशील छ । अहिले शासनमा रहेका राणाहरु पश्चगामी छैनन्, अग्रगामी छन् । अझ समाजवादी र जनवादीसमेत छन् । अहिले लोकतन्त्र छ । विधिको शासन छ । अहिले रैती दुनियाँले पनि बोल्न हुन्छ ।

कसैले नसुन्ने ठाउँमा गएर जति पनि बोल्न हुन्छ । बोल्न पाइन्छ । सुनिने ठाउँबाट बोल्न मात्र निषेध छ । “हाम्रो राजाको सिङ् छ ! हाम्रो राजाको सिङ् छ !!” बाँसघारीमा गएर बाँसका ढुङ्ग्रोमा मुख जोतेर बोल्न निषेध छैन । जति बोले पनि हुन्छ ।

सरकारको नीति र कार्यक्रम अपरिवर्तनीय छ । विकल्परहित छ । त्यो फेरिँदैन । कसैले सिङ छ भने पनि फेरिँदैन । सिङ् छैन भने पनि फेरिँदैन । समृद्धिको बुलेटप्रुफ चढेर सुरक्षा स्कर्टिङ्का साथ राजनेताहरु प्रगतिपथमा घुइँकिएका बेला जेब्राक्रस भन्दै निर्धक्क सडक तर्न खोज्नेहरु अपराधी हुन् । ती पेलिन्छन् । विधिको शासनमा पेलिने तिनै हुन् ।

‘जनता पनि चाहिन्छन् राज्यसत्ता चलाउन । खोरबाट दिनै हुन्न दुनियाँ चल्मलाउन । भेडाबाख्रा धपाएर ¥याली जति गरे पनि । नमुना छ प्रजातन्त्र मान्छे जति मरे पनि ।’ यो पन्चायत कालीन पद्यात्मक टिप्पणी हो । हामी अहिले ‘लोकतान्त्रिक समाजवादी गणतन्त्र’मा छौँ र पनि टिप्पणीमा त्यहीँ छौं ।

टिपोट (५)  हुन त कमरेड माओ त्सेतुङ संसदवादी कम्यनिष्टहरुका प्राधिकार होइनन् । तर पनि नाम भएकालाई कतै न कतै नामले पनि पोल्छ । आफ्नै नामले पनि पोल्छ । कम्पनीको ब्राण्ड नाम मात्रै भए पनि कम्युनिष्ट नामबहादरहरुका सन्दर्भमा लक्षणा व्यन्जनामा कुरा गर्दा माओलाई उद्धृत गर्नु गैरमनासिव होइन ।

८सेप्टेम्बर १९४४मा प्रकाशित ‘जनताको सेवा गर’ शीर्षक रचनामा माओले भनेकाछन्, “यदि हामीमा कुनैै कमी छ भने कसैले बताइदिँदा वा आलोचना गर्दा हामी डराउँदैनौं । किन कि हामी जनताको सेवा गर्छौं । जोसुकै र जस्तोसुकै मानिसले पनि हाम्रा कमी कमजोरीहरु बताइदिन सक्छ । उसका कुरा ठीक छन् भने हामी आफ्ना कमीकमजोरीहरु सुधार्छौं । उसका सल्लाहअनुसार काम गर्दा जनतालाई फाइदा हुन्छ भने हामी त्यसै अनुसार काम गर्छौं ।”

३० जुन १९४९मा प्रकाशित जनताको जनवादी अधिनायकत्व शीर्षक रचनामा कामरेड माओले भनेका छन्– “गल्तीहरु र असफलताहरुबाट पाठ सिकेर नै हामी पहिलेभन्दा धेरै समझदार बनेका छौं । आफ्ना कामहरु पहिलेभन्दा धेरै राम्रोसँग गर्न सकेका छौं । गल्ती नै नगर्ने कुनै पनि राजनीतिक पार्टी वा व्यक्ति न होला तर हाम्रो माग के हो भने सकेसम्म गल्ती नगरौं । भएछ भने तुरुन्त सुधारौं । जति छिटो र जति लागिपरेर सुधार्न सक्छौं त्यति राम्रो ।”

प्रतिक्रिया दिनुहोस्