तरकारीखेतीको आम्दानीले जीवनस्तर फेरियो



बेनी, म्याग्दी,  म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।

तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरे अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

दस वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिकरुपमा तरकारीखेती गर्दै आउनुभएको हो ।

सात रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडि, बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारीखेती गरेका घिमिरेले यसबाट वार्षिक रु ६ लाख भन्दा बढी कमाइ हुनेगरेको बताउनुभयो ।

गतवर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि घिमिरेको जीवनस्तर समेत फेरिएको छ ।

पहिला दुई÷चार सय आवश्यक पर्दा अरुसँग हातथाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा बचत, छोराछोरीको पढाइ र घरघडेरी समेत जोड्नुभएको छ ।

सरकारले कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइ कृषकले उत्पादन गरेका कृषिउपजको बजारीकरणमा स्थानीय तहले व्यवस्था गरिदिन सके कृषकलाई राहत पुग्ने विश्वास उहाँको छ ।

वैदेशिक रोजगारीमा जाने क्रम घट्यो  

‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने गरेको म्याग्दी जिल्लाबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या घट्दै गएको छ । देशमा सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनपछि आफ्नै गाउँठाउँमा नैै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरूमा वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो ।

लामो समयको अस्थिर राजनीति र लगानीको ग्यारेन्टी नहुँदा युवाको विदेश मोह बढेको थियो । तर निर्वाचनपछि स्थिर सरकार र समृद्धिको आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको वैदेशिक रोजगारसँग सम्बद्ध व्यक्तिले बताएका छन् ।

‘अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ,’ बेनी नगरपालिका– २ का रमेश कार्कीले भन्नुभयो, “जापान जाने सोच फेरेर स्वदेशमै कृषि व्यवसाय गर्ने योजना बनाएको छु ।”

त्यस्तै नगरपालिका–३ डाँडाखानीका मनबहादुर छन्त्याल गाउँमै स्वरोजगार उद्यमी बन्ने भन्दै अघिल्लो हप्ता स्वदेश फर्किनुभएको छ । गाउँका खाली जमीनमा सुन्तलाखेती र पशुपालन गर्ने योजना बनाएर आफू युएइबाट घर फर्केको उहाँले बताउनुभयो ।

“त्यसका लागि पूर्ण योजना बनाएर आएको छु” उहाँले भन्नुभयो, “सदरमुकाम केन्द्रीत अधिकार गाउँमा नै पुगेपछि अब गाउँको विकास हुने अपेक्षा धेरैले गरेका छन् ।”

जिल्ला प्रशासन कार्यालयका अनुसार, पछिल्लो समय विदेश जाने युवा घटेका छन् । गत आवको तुलनामा चालू आवको पहिलो चौमासिकमा राहदानी लिनेको संख्यामा कमि आएको छ । राहदानी लिनेको संख्या करीब १५ प्रतिशत घटेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले खाडीमा रहेका युवालाई अबको पाँच वर्षभित्र देश फर्काउने बताउँदै जिल्लामा अहिले पाँच वटा जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा छन् । त्यसैगरी कालीगण्डकी कोरिडोर पूरा हुने क्रममा छ । कालीगण्डकी करिडोर निर्माणसँगै उत्तर दक्षिण सिधा यातायात सञ्चालन भएपछि रोजगारीका धेरै अवसर सिर्जना हुने युवाको भनाइ छ ।

अधिकांश ग्रामीण सडक अवरुद्ध 

असार महिनाको अन्त्यसँगै म्याग्दीका अधिकाँश ग्रामीण सडक अवरुद्ध भएका छन् । अत्यधिक पानी पर्न थालेपछि ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएका हुन् ।

जिल्लाका मुख्य/मुख्य सडक बेनी–जोमसोम, बेनी–पाखापानी, बेनी–दरवाङ, बेनी–दग्नाम र बेनी–बरँजा सडक खण्डमा समेत मुस्किलले यातायातका साधन सञ्चालनमा आएका छन् । ग्रामीण सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् भने दैनिक उपभोग्य वस्तु आयातमा समेत समस्या सिर्जना हुन थालेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक समेत बेला बेलामा अवरुद्ध हुने गरेको छ ।

बेला बेलामा सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र पर्ने गरेका छन् । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणधिन अवस्थामा रहेको छ । सडक विस्तारको क्रममा ठाउँ/ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

सडक निर्माणको जिम्मेबारी लिएकाले समेत अवरुद्ध पन्छाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै बेनीदेखि पुलाचौर जोड्ने सडकसमेत पानी प¥यो भने बन्द हुने गरेको छ ।

यसैबीच, मंगला गाउँपालिका–५ अर्मनमा बाढीले पाइप बगाउँदा दुईवटा बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम–टिकावाङ सडक विस्तारको क्रममा निस्किएको माटोलाई सिधँै खहरे खोलामा फाल्दा दिही–पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानेपानीको समस्या भएको हो ।

सडक विस्तारको क्रममा मनपरी फालिएको माटोले पाइप बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीयवासी ताराबहादुर क्षेत्रीले बताउनुभयो ।

अन्नपूर्ण पदयात्रा छोटिँदै 

जथाभावी कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पद्यात्रा छोटिदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटर बाटोका कारण छोटिएको छ ।

यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यावसायीको गुनासो छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।

‘योसँगै अन्नपूर्ण क्षेत्रको मजदूरीमा आश्रित मजदूरको रोजीरोटी नै धरापमा परेको छ,’ उहाँले भन्नुभयो । महाभूकम्पपछि क्रमिकरूपमा पर्यटक आगमन वृद्धि हुँदै गए पनि जथाभावी कच्ची सडक निर्माणले पद्यात्रा छोटिँदै गएको उहाँले बताउनुभयो । ‘महिना दिनको यात्रा हुँदा पर्यटन व्यवसायी, सरकार, स्थानीय र आवद्ध सबैलाई फाइदा हुन्थ्यो ।

‘मोटरबाटो आवश्यक भए पनि जथाभावी खनिएका कच्ची सडकले पर्यटन उद्योग खुम्चिन पुगेका छन्’ अध्यक्ष अधिकारीले भन्नुभयो, “नेपालकै चर्चित पद्यात्रका रूपमा रहेको यस क्षेत्रको पदयात्रा सुरक्षित र व्यवस्थित बनाउन पर्यटन बोर्ड पोखराको अनुमति लिनुपर्ने व्यवस्था छ ।” बोर्डबाट अनुमति लिएका पर्यटक अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)लाई तोकिएको शुल्क तिरेपछि मात्र पदयात्रामा जान पाउँछन् ।

अनावश्यक सडक निर्माणले पर्यटकको पदयात्रा र बसाइँ अवधि छोटिएकाले उनीहरूले गर्ने खर्चसमेत घटेको व्यवसायीको भनाइ छ । पदयात्रा अवधिसँगै यस क्षेत्रका स्थानीयवासीको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ ।

जिल्लाकै प्रमुख पर्यटकीयस्थल घोडेपानी, तातोपानी हँुदै मुस्ताङ जाने पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडक अन्तर्गत पोखरेबगर–घार– शिखगाउँ हँुदै प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीमा पुग्ने पदमार्गमा सडक विस्तार भएपछि त्यस क्षेत्रका होटल बन्द हुने अवस्थामा पुगेका छन् ।

अव्यवस्थित पदमार्ग, स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिन्ह लगायतका पूर्वाधार नहुँदा पर्यटकले रुट परिवर्तन गरेको घारकी पर्यटन व्यवसायी राममाया पुनले बताउनुभयो । सडक विस्तारपछि पदमार्गमा व्यवसाय गरिरहेका अधिकांशको होटल बन्द गरेर कृषि तथा अन्य व्यवसायमा लागेका छन् ।

यो क्षेत्र हँुदै आवतजावत गर्ने विदेशी पर्यटक कास्कीको नयाँ पुल, घान्द्रुक हुँदे जाने गरेका छन् । पदमार्गमा रमाउन आउने पर्यटकलाई मोटरबाटोका कारण समस्या हुने गरेको पटक÷पटक गुनासो गर्ने गरेको भए पनि सम्बन्धित निकायले पदमार्ग व्यवस्थित गर्न तर्फ चासो नदेखाइएको स्थानीय बासिन्दाको भनाइ छ ।

मोटरबाटो पदमार्ग क्षेत्रबाटै सञ्चालन भएकाले लाखौं नोक्सानी भएको भन्दै स्थानीयवासीले वैकल्पिक मोटरबाटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्वमै उत्कृष्ट अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने भए पनि पर्यटनका क्षेत्रमा काम गर्ने संघ संस्था, जिसस साथै सरकारले समेत चासो नदेखाउने गरेकाका कारण पदमार्गबाट व्यवसायी नै विस्थापित हुनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्