दुर्घटनाको जिम्मा नलिने समितिको निर्णय



यमलाल भुसाल, बुटवल,
प्रदेश नम्बर ५, ६ र ७ मा रहेका ८ वटा यातायात व्यवसायी समितिले साउन १ गतेदेखि हुने कुनै पनि दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका छन्।

३ वटा प्रदेशका यातायात व्यवसायी समितिको बैठक दाङमा बसेर विभिन्न निर्णय गरेका हुन्। पश्चिमाञ्चल ट्रक व्यवसायी समिति, वाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त यातायात व्यवसायी समिति, भेरी यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक व्यवसायी समिति, मध्यपश्चिम ट्रक तथा टे«क्टर व्यवसायी समिति, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र सेती महाकाली ट्रक व्यवसायी संघ धनगढीको संयुक्त भेलाले सो निर्णय गरेको नेपाल ट्रक यातायात व्यवसायी महांसघका केन्द्रीय सदस्य लोकराज पोखरेलले बताउनुभयो।

सरकारले गत चैत १८ गते गरेको निर्णयले आफूहरूमाथि अन्याय भएको भन्दै निर्णय सच्चाउनुपर्ने उनीहरूको माग रहेको छ। सरकारलाई अविलम्ब रोक्का रहेका संघसंस्थाको खाता सञ्चालन गर्न र नवीकरण गराउन अनुरोध गरेका छन्।

सरकारले बिनातयारी सिन्डिकेट खारेज गर्न खोज्दा दुर्घटना निम्तिने पोखरेलको ठहर छ। सरकारको गलत निर्णयले साउन १ बाट यातायात व्यवसाय क्षेत्रमा ठूलो समस्या सिर्जना हुने भएकाले यसको दोष राज्यले लिनुपर्ने पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमको भनाइ छ। असार २५ गते बसेको संयुक्त बैठकले खाता फुकुवा र संस्था नवीकरण नभएमा आठवटै संस्थाले कुनै पनि ट्रिप शुल्क र हितकोष नलिने, यातायातका साधनबाट हुने दुर्घटनाको जिम्मेवारी नलिने र तौलपुल पनि सञ्चालन नगर्ने निर्णयसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्