ओलीजी, आशाको डोरी चुँडिएला !



सुशील देवकोटा
आशा! सुन्दा फगत यो एउटा शब्द भए पनि यसमा लुकेको भावलाई खोतल्ने हो भने यो निकै बृहत् छ। कोही कसैले कुनै कुुरामा हार मान्न खोजेको देखिएमा यस्तो निराशावादी हुनुहुँदैन, सधैँ आशावादी हुनुपर्छ भनेर सिकाउन खोज्नेकोे कुनै अभाव कहिल्यै पनि खट्किँदैन। भलै जो स्वयंले यो कुरा भन्दै छ, ऊचाहिँ सबैभन्दा ठूलो निराशावादी किन नहोस्, तर शिक्षा उसले आशावादी हुने नै दिन्छ। भोको पेट भरिने आशामा मानिस दिनरात नभनी घोटिन्छन्, आफ्नो प्रेम पाउने आशामा मानिसहरू ठूला–ठूला चुनौतीको सामना गर्न तयार हुन्छन्, नाम कमाउने आशामा मानिसले अनेक सृजना गर्छन् र देश परिवर्तन हुने आशामा ठूला–ठूला क्रान्तिहरू गरिन्छन्। तसर्थ यो आशालाई फगत एक शब्दको रूपमा लिनु वा बुझ्नु यो शब्दको अवमूल्यन गरिनु नठहर्ला भन्न सकिन्न। बरु आशालाई भविष्यमा हुने परिवर्तनको प्रस्थान विन्दु भनेर बुझ्दा अनुपयुक्त नै चाहिँ नहोला कि भन्ने यहाँ अनुमान गरिएको छ। झन् हाम्रो देशको अवस्था र परिस्थितिलाई केन्द्रमा राखेर सोच्ने हो भने त यो उदाहरण झन् उपयुक्त लाग्ला भन्ने ठानिएको छ।

देशमा प्रजातन्त्र आएपछि मात्रै जनताको सरकार बन्छ अनि त्यसले मात्रै जनताको हित हेर्छ र गर्छ भन्ने आशमा अधिकांश जनताले ४६ सालको आन्दोलनलाई समर्थन गरे र देशमा शासन परिवर्तन भयो, प्रजातन्त्र ल्याइयो। तर त्यसपछि, राम्रो हुन्छ भनिएको देशको अवस्था कस्तो हुँदै गयो र अहिले कुन हालतमा पुगिसक्यो ? त्यो जति छोप्न खोज्दा पनि नछोपिएको लाजझैं खुलारूपमा देखिएको छ। आशा गर्नमा नेपालीहरूले विश्वकीर्तिमान राख्न खोजेजसरी नेताहरूले जे–जे र जसो–जसो भन्दै गए त्यसलाई हुबहु पत्याएर अब राम्रो हुन्छ, अब राम्रो हुन्छ भन्ने आशा गर्न छोडेनन्। विदेशीको एजेन्डा बोकेर सीमित मानिसको सीमित स्वार्थ पूरा गर्न गरिएको कथित जनआन्दोलन नाम दिइएको आतंकमा समेत केही सोझासीधा जनता लागे र आफ्नै दाजुभाइ मार्नेजस्तो नीच कामसमेत यही आशाको डोरी थमाएर गराइयो। देशका हरेक आन्दोलनमा जनता सडकमा उतारियो। जनता उत्रिए पनि। अब त परिवर्तन हुन्छ कि भन्ने आशमा। अब त राम्रो दिन आउला कि भन्ने आशमा।

मन्दिरै मन्दिरको देश भनेर नेपाललाई परिचय गराउने पनि एउटा समय थियो। मन्दिरहरू त आज पनि छन् नेपालमा तर अब त्यो परिचय महत्वहीन र अर्थहीन भएको छ। किनभने केही पश्चिमा राष्ट्रको दबाब र केही अदृश्य शक्तिको प्रभावमा परेका केही नेताहरूले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेपालमा जबरजस्ती गणतन्त्र मात्रै लादेनन् तानाशाही तरिकाले धर्मनिरपेक्ष राष्ट्रसमेत घोषणा गरे नेपाललाई। एक पक्षीय रूपमा यति ठूलो परिवर्तन लादिँदा जुन किसिमको विरोध वा प्रतिरोध हुनुुपथ्र्यो त्यो अनुुपातमा विरोध वा प्रतिरोध भएन।

केही राष्ट्रवादी जनताले विरोधका नारा लगाए, केही राष्ट्रवादी पत्रकारहरूले आफ्नो कलम पनि खियाए त्यो घोषणाको विपक्षमा, तर जनस्तरबाट यसको जति विरोध हुनुपर्ने थियो त्यो नहुँदा ती विरोध वा ती लेखले आफ्नो लक्ष्य पाउन सकेनन्। शायद सोझा नेपाली जनताले यसलाई आफ्नो नियति सम्झे वा अब यति गरेपछि त भोलिको दिन राम्रो होला भन्ने आशा गरे। यस अर्थमा हेर्ने हो भने नेपाललाई आशावादीहरूको देशको रूपमा अब नयाँ परिचय दिइयो भने पनि आश्चर्य नै मान्नुपर्ने स्थिति छैन।

४६ सालपछिको १५–१६ वर्षमा नेपालले ठूलै राजनीतिक उथलपुथल देख्यो, भोग्यो। राजनीतिक परिवर्तन भयो, नेताहरू परिवर्तन भए, उनीहरूको आर्थिक हैसियतमा परिवर्तन भयो। देश पनि परिवर्तन भयो तर नकारात्मक दिशातर्फ। यदि केही परिवर्तन भएन भने त्यो हो– नेपालीहरूको अवस्था। हिजो पनि पिसिएका थिए, आज पनि पिसिएका र पिल्सिएका छन् नेपाली जनता। तर आश्चर्यको कुरा के भने, अहिले पनि सकारात्मक दिन आउने आशामा चाहिँ बसेका छन्। आशाको डोरी छोडिसकेका छैनन् नेपाली जनताले।

गणतन्त्र घोषणा भएपछि नेपालमा कति जना प्रधानमन्त्री भए भनेर सोध्ने हो भने शायदै कुनै सर्वसाधारण जनताबाट यसको सही जवाफ आउला। तर जो प्रधानमन्त्री भए पनि नेपाली जनताले आफ्नो आशा गुमाएनन्, आफ्नो धैर्य गुमाएनन्। नेताहरूले सत्ता र कुर्सीको लागि देखाएको निर्लज्ज खेल बहिरा र अन्धा देशका नागरिक भएजसरी टुलुटुलु हेरेर मात्रै बसे यो आशामा कि कुनै न कुुनै दिन त नेताहरूको मति फिर्ला र उनीहरूले जनताको पक्षमा पनि कुनै काम गर्लान्।

कुनै दिन त उनीहरूको सम्पूर्ण स्वार्थ पूरा होला, भुँडी भरिएला अनि त देशको बारेमा पनि सोच्लान् र जनताको अवस्था पनि हेर्लान्। यस्तो आशा गर्दै एक दशकभन्दा बढी समय बिताइसक्दा पनि नेपालीको धैर्यको बाँध टुटेको छैन, आशाको डोरी छोडेका छैनन् नेपालीहरूले।

केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बनेपछि बरु त्यो आशामा एकाएक वृद्धि भएको चाहिँ देखिएको छ। यसको कारण स्पष्ट छ, यसभन्दा अगाडि प्रधानमन्त्री हँुदा ओलीले नेपालमा अरू केही गरे वा गरेनन् त्यो बेग्लै कुरा हो, तर सपनाचाहिँ प्रशस्त बाँडे। विकास गर्छौं भन्दै आएका सबैबाट उल्टै विनाश मात्रै देख्ने बानी परेका नेपालीलाई ओलीले विकासको सपना मात्रै बाँड्दा पनि त्यसलाई नै ठूलो राहत र यथार्थ सम्झिदिए नेपाली जनताले। त्यति बेला आफूलाई मधेसका मसिहा भन्नेहरूले उत्पन्न गरेको परिस्थितिले आक्रान्त भएका नेपालीको मनस्थिति बुझेर ओलीले भारतको विरोध गर्दा जनताको नजरमा उनी सबैभन्दा ठूला राष्ट्रवादी बन्न पुगे।
गत चुनावमा जनतामाझ बनेको उनको यही छविले सकारात्मक काम गर्यो एकातिर भने प्रमुख विपक्षी दलका निकम्मा सभापतिको ठोस रणनीतिविहीन चुुनावी अभियानले समेत उल्टै उनलाई सहयोग नै गर्यो। परिणाम, ओलीले नेतृत्व गरेको गठबन्धनले स्पष्ट बहुमत पायो। ओली नेपालको प्रधानमन्त्री भए र नेपाली जनताको आशाको डिग्री पनि ह्वात्तै माथि गयो।

नेपालका डाँडाकाँडामा रेल कुदाउने, नेपालको पानीजहाज समुद्रमा चलाउने, हावाबाट बिजुली निकाल्ने वा घरको चुल्होमा पाइपबाट ग्यास पुर्याउने कुराहरूबाट अब ओलीजीले समय पाउनुभएको छ भने केही दिनको लागि उहाँ यथार्थको धरातलमा ओर्लिनुभएमा र नेपालको तत्कालको अवस्था एवम् आवश्यकतामा नजर बक्सिनुभएमा नेपालका प्रधानमन्त्रीले नेपालको वर्तमान अवस्था बुझ्नुहुन्थ्यो भन्ने सोच्न सकिन्छ। काम गर्न उहाँले थालिसक्नुभएको छ। प्रधानमन्त्री भएको केही दिनमा नै सर्वोच्च अदालतको मर्यादासमेत नरहने गरी उहाँले त्यहाँको प्रधानन्यायाधीशलाई जुन किसिमले निकाल्नुभयो त्यसबाट यो बुझ्न कुनै गाह्रो छैन कि उहाँको कार्य कस्तो हुनेछ। तर पनि जनताले आशा गरेका छन्।

नेपालका जनताले रातारात कुनै विकासका ठूला कामको आशा गरेका छैनन्। नेपालमा तुरुन्तै कुनै ठूला उद्योग खुलोस्, रोजगारीको अवसर सृजना होस्, नेपालीले ५० डिग्रीको तातोमा काम गर्नुपर्ने र बाकसमा बन्द भएर फर्किनुपर्ने नियतिबाट मुक्ति मिलोस् भन्ने पनि सोचेका वा आशा गरेका छैनन् नेपालीहरूले। जति नै समृद्धिको कुरा गरे पनि संविधान संशोधन गरेर संविधानबाट ट्रेड युनियनको अधिकार नहटाएसम्म देशमा ठूला लगानी भित्रिँदैन भन्ने जनताले बुझेका छैनन् भनेर सोचिएको छ भने त्यो सोचलाई कुरी–कुरी ⁄ बाहेक अरू केही भन्न सकिँदैन।

नेपाली जनताले हाल चाहेको वा आशा गरेको कुरा ओलीजीको सपनाको तुलनामा साह्रै सूक्ष्म छन्। नेपालीले हाल आशा गरेको भनेको स्वच्छ वातावरण हो। धूलो र हिलो बाटो होइन, हिँडनलायकको बाटो हो। महँगी घटाउन त हुत्ति पनि हुनुपर्छ, महँगी नियन्त्रण हो। धारामा ग्यासभन्दा पहिला धारामा निर्बाध पानीको आपूर्ति हो। सुलभ स्वास्थ्य सेवा र शिक्षामा व्यापारीकरणको अन्त्य हो। यत्ति गरेर देखाउनुभयो भने पनि अधिकांश नेपालीको आधाभन्दा धेरै आशा पूरा हुनेछ। उनीहरूले तपाईंलाई जिताएर एकदम सही गरिएछ भन्ने सोच्नेछन् भन्ने कुरा बुझ्न कुनै सर्वेक्षणको आवश्यकतासमेत पर्नेछैन।

यति पनि गर्न सक्नुहुन्न र उखान र चुड्किलाको पोको खोलेर हास्य कलाकारको पेसालाई चुनौती दिइरहने काम मात्रै गरिरहनुभयो भने जबसम्म धैर्य र आशा गर्न सकिन्छ तबसम्म त नेपाली जनताले धैर्य र आशा गर्लान् तर आशाको डोरी चुँडिएको दिनचाहिँ फेरि नेपालीले तपाईंलाई सत्ता र कुर्सीको लागि आशा मात्रै गर्नुपर्ने स्थानमा नपुर्याऊलान् भनेरचाहिँ नसोच्नुभएमा देश, जनता र तपाईंको समेत हित होला कि ?

राजनीतिक परिवर्तन भयो, नेताहरू परिवर्तन भए, उनीहरूको आर्थिक हैसियतमा परिवर्तन भयो। देश पनि परिवर्तन भयो तर नकारात्मक दिशातर्फ। यदि केही परिवर्तन भएन भने त्यो हो– नेपालीहरूको अवस्था। हिजो पनि पिसिएका थिए, आज पनि पिसिएका र पिल्सिएका छन् नेपाली जनता। तर आश्चर्यको कुरा के भने, अहिले पनि सकारात्मक दिन आउने आशामा चाहिँ बसेका छन्। आशाको डोरी छोडिसकेका छैनन् नेपाली जनताले।

प्रतिक्रिया दिनुहोस्