तुलसीपुरमा ११७ प्रतिशत राजश्व असुली



नरेन्द्र केसी, घोराही, दाङ ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले आर्थिक बर्ष २०७४÷०७५ मा लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ । सोमवारसम्म कायार्यालयले ११७ प्रतिशत राजश्व असुली गरेको छ ।

चालु आर्थिक बर्षमा १ अर्ब ४३ करोड २७ लाख २ हजार राजश्व संलकन गर्ने लक्ष्य दिइएकोमा सोमवारसम्म १ अर्ब ६८ करोड ५४ लाख राजश्व असुली भएको कार्यालयका सूचना अधिकृत उदयराम केसीले जानकारी दिनुभयो । कार्यालयले २ सय ९१ जना ब्यवसायीको कारोवार छानवीनबाट ९ करोड ३७ लाख ७ हजार कर निर्धारण गरेको भने ११ करोड ९२ लाख ३६ हजार बक्यौता पनि असुल गरेको छ ।

दाङ, प्युठान, रोल्पा, सल्यान, पश्चिम रुकुम र पुर्वी रुकुमबाट यति रकम उठेको हो । गत आर्थिक बर्षमा १ अर्ब ९ करोड लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब १८ करोड राजश्व संकलन भएको थियो । चालु आर्थिक बर्षको सोमवारसम्म गत बर्षको लक्ष्यभन्दा २५ करोड बढी राजश्व संकलन भएको छ । चालु आर्थिक बर्षको अझै केही दिन बाँकी रहेकाले दशदेखि १५ करोडसम्म अझै असुल हुनसक्ने कार्यायले विश्वास गरेको जनाएको छ ।

कार्यालयले राजस्व संकलनलाई प्रभावकारी बनाउन नियमित राजस्व संकलन, बक्यौता असुली, बजार अनुगमन, तथा कर परीक्षण र अनुसन्धानलाई तिव्रता दिएको जनाएको छ ।

जसअनुसार हालसम्म यस्तो कामकारवाहीवाट ९ करोड ३७ लाख ७ हजार कर निर्धारण गरिएको कार्यालयले जनाएको छ । यसमध्ये ८५ करदाताको कर परिक्षणतथा अनुसन्धानबाट आयकर ३ करोड १२लाख १४ हजार, मूल्यअभिवृद्धि कर रु. २ करोड ६४ लाख ५० हजार, अन्तशुल्क २२ लाख २० हजार कर निर्धारण गरिएको सूचना अधिकृत केसीले जानकारी दिनुभयो ।

वास्तविक कारोवारभन्दा कमी कारोवार देखाइ कमआयकर तिर्ने १ सय २ जना साना करदाताको अनुसन्धानबाट ७९ लाख ७ हजार आयकर निर्धारण गरिएको छ । त्यस्तै २४ वटा शिक्षण संस्था र स्वास्थ्य संस्थाहरुको नियमित दाखिाला गर्नुपर्ने करको अनगुमन गर्दा ६ लाख ५८ हजार कर असुली भएको पनि केसीले जानकारी दिनुभयो ।

कार्यालयले २५ ब्यवसायीको कारोवारको मौज्दात तथा विक्रीको स्थलगत छानवीन गरी ६६ लाख ४७ हजार मूल्यअभिबृद्धि कर दायित्व सिर्जना गरेको छ ।

आयविवरण पेश नगर्ने २५ करदाताको छानवीन गरी १ करोड २९ लाख १० हजार आयकर निर्धारण गरिएको कार्यालयले जनाएको छ । स्थानिय प्रहरी प्रशासन समेतको सहभागितामा अन्तशुल्कतर्फ इजाजत नलिइ मदिराको कारोवार गर्ने दश व्यवसायीको मदिरा जफतगरी ४० हजारा जरिवाना गरिएको जनाउँदै कार्यालयले अवैध मदिरातर्फ सल्यानमा कारवाही गर्दा १ हजार तीन सय लिटर र दाङको घोराही, तुलसीपुरको बनकटमा कच्चा पदार्थसमेत ३ हजार २ सय ९० लिटर मदिरा जफत गरी नष्ट गरेको सूचना अधिकृत केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्