इंग्ल्यान्डलाई स्तब्ध पार्ने धुनमा क्रोएशिया



मस्को, (एजेन्सी)
विश्व फुटबलका एक से एक खेलाडीले इंग्लिस घरेलु फुटबल संरचना प्रिमियर लिगमा खेल्ने गर्छन् । जारी विश्वकप सेमीफाइनल चरण सम्म पुग्दा प्राय जसो प्रिमियर लिगका नै छन् ।

त्यसमाथि २८ वर्षपछि पहिलो पटक विश्वकपको सेमीफाइनल पुगेको इंग्लिश टोली प्रिमियर लिग खेलाडीले सुसज्जित समेत छन् । यस्तोमा २० वर्षपछि पहिलो पटक सेमिफाइनल पुगेको जाट्को डालिचको क्रोएसिया गेरेथ साउथगेटको इंग्ल्याण्डलाई स्तब्ध पारेर फाइनल पुग्ने धुनमा रहेको छ । यी दुईले बुधबार राति मस्कोमा अवस्थित लुज्नीकी स्टेडियममा दोस्रो फाइनल खेल्दैछ ।

क्वाटरफाइनल अन्तर्गत रुसविरुद्धको खेलमा दोस्रो गोल गरेका क्रोएसियाका डोमागोज भिडा भने फिफाको चेतावनीमा परेका छन् । भिभाले ’भिभा यूक्रेन’ भन्दै गोलको उत्सव मनाएका थिए । जसका कारण फिफाले राजनितिक नारा लगाएकोमा उनलाई चेतावनी दिईएको हो । उनीमाथि फिफाले जरिवाना तोक्ने सम्भावना भएपनि इंग्ल्याण्डविरुद्धको खेलमा भने उनले सेन्टर ब्याक सम्हाल्ने छन् ।

त्यस्तै अघिल्लो खेलमा घाइते भएका लेफ्ट ब्याक इभान स्ट्रीनीचले प्रशिक्षणमा ७५ मिनेट सजिलै खेलेकाले इंग्ल्याण्डविरुद्ध उनी टिम अटाउनेछन् । यस्तै सोही खेलमा तिघ्रामा समस्या देखिएको गोलरक्षक ड्यानिजेल सुबासिच र अतिरिक्त समयसम्म खेलेका सिमे भर्साल्ज्को भने बुधबार फिटनेस प्रशिक्षणपछि मात्र खेल्ने वा नखेल्ने टुङ्गो लाग्नेछ ।

रुसविरुद्ध १ सय २० मिनेट खेलेका क्रोएशियन टोलीलाई भने थकानले सताउन सक्नेछ । विशेषतः जारी विश्वकपको सबै म्याच खेल्दै आएका क्रोएशियाका मेरुदण्ड लुका मोड्रिच र इभान पेरिसिचको प्रदर्शनमा थकान बाधक बन्न सक्छ ।

यता स्वीडेनविरुद्धको खेलमा सामान्य चोट लागेका एश्ली योन्गसहित डेले अली, ह्यारी केन र किली वाकर पूर्ण फिट छन् । तर कोलोम्बियाविरुद्धको खेलमा चोट बेहोरेका इंग्लिश फरवार्ड जेमी भार्दी भने पूर्ण रूपले फिट हुन सकेका छैनन् ।

म्यानचेस्टर सिटीका फाबियन डेल्फ पनि टिममा फर्केका छन् । गत साता आफ्नी श्रीमती सुत्केरी हुने भएपछि उनी इंग्ल्याण्ड फर्केका थिए । उनी पिता भएसँगै उनी पुनः रुस फर्केका हुन् । स्वीडेनविरुद्धको खेलमा झै रणनीति अपनाउने देखिएकोले इंग्लिश टिमले सेमीफाइनलमा खासै परिवर्तन नगर्ने सम्भावना रहेको छ ।

पछिल्लो पटक एन्फील्डमा भएको विश्वकप अभ्यास खेलमा ब्राजिलसँग पराजय भोगेयता क्रोएसियाले लगातार ४ म्याचमा जितको नतिजा निकालेको छ । रुसमा भएको म्याचको कुरा गर्दा समूह चरणका ३ वटै खेलमा क्रोएशियाले जित हासिल गरेको थियो । नाइजेरियालाई २–० ले, अर्जेन्टिनालाई ३–० ले तथा आइसल्याण्डलाई २–१ ले हराएर समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

यस्तै गोलरक्षक ड्यानीजेल सुबासिचले उत्कृष्ट प्रदर्शन गरेपछि अन्तिम १६ मा डेनमार्कलाई र क्वाटरफाइनलमा आयोजक रुसलाई टाईब्रेकरमा हराउँदै क्रोएशियाले २० वर्षपछि पहिलो पटक अन्तिम चारको यात्रा तय गरेको हो । यसक्रममा क्रोएशियाले खेलेको हरेक खेलमा गोल गरेको छ ।

यता इंग्ल्याण्डले भने पछिल्ला १५ म्याचमा एकपटक मात्र पराजित भएको छ । जारी विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्ड बेल्जियमसँग १–० ले हारेको थियो । समूह चरणको पहिलो खेलमा ट्यूनीसियाविरुद्ध इन्ज्यूरी समयमा ह्यारी केनको हेड गोलमार्फत् इंग्ल्याण्डले २–१ को जित निकालेको थियो । यस्तै पानामालाई ६–१ ले हराउँदा केनले ह्याट्रिक पूरा गरेका थिए ।

त्यसपछि समूहको अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित हुँदै समूह उपविजेताको रुपमा इंग्ल्याण्डले कोलम्बियासंग भेट पक्का गरेको थियो । जसमा गोलरक्षक पिक्फोर्ड नायक बनेपछि इंग्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेनको सामना गरेका थिए । स्वीडेनलाई पनि २–० ले हराउँदै सन् १९६६ का च्याम्पियन इंग्ल्याण्डले २८ वर्षपछि पहिलो पटक सेमिफाइनलमा आफूलाई उभ्याउन सफल भएको छ ।

सेमीफाइनलमा ३–१–४–२ को रणनीति अपनाउन सक्ने इंग्ल्याण्डविरुद्ध क्रोएशिया ४–२–३–१ रणनीति सहित मैदानमा उत्रने सम्भावना रहेको छ । जसअनुसार इंग्लिश आक्रमणको बागडौर सम्हाल्ने फरवार्ड ह्यारी केन र रहिम स्टर्लिन्गलाई किरान ट्रिपिएर, जेसे लिन्गार्ड, डेले अली र एश्ले योन्गसम्मिलित अट्याकिंग मिडफील्डरहरुले साथ दिनेछ ।

जसलाई निस्तेज पार्न क्रोएसियाली गोलरक्षक ड्यानीजेल सुबासिचसहित डिफेन्डरहरु सिमे भर्साल्ज्को, डेजन लोभ्रेन, डोमागोज भिडा र इभान स्ट्रीनीचलाई सहज हुने छैन ।

क्रोएसियाको उक्त रक्षापंक्तीलाई सहयोग र आक्रमणमा ओभरल्याप तथा बल उपलब्ध गर्न डिफेन्सिभ मिडफील्डरद्वय लुका मोड्रिच र ईभान राकिटिचले पनि साथ दिनेछन् ।

जसको सहयोगमा क्रोएसियाली अट्याकिंग मिडफील्डरहरु आन्टे रेबिच, आन्द्रेज क्रमारीच, ईभान पेरिसिच र फरवार्ड मारियो माण्डजुकीचलाई इंग्लिश रक्षापंक्तीमाथि आक्रमण गर्न सहज बन्नेछ । यता क्रोएसियाको आक्रमणलाई हरसम्भव विफल पार्न इंग्लिश गोलरक्षक जोर्डन पिक्फोर्ड सहित डिफेन्डरहरु किली वाकर, जोन स्टोन्स र ह्यारी मागुईरे चुस्त देखिनेछ ।

जसलाई अवस्था अनुसार अग्रपंक्ति र रक्षापंक्तिलाई साथ दिन पोख्त डिफेन्सिभ मिडफील्डर जोर्डन हेन्डरसनले पनि सहयोग गर्नेछ । इंग्ल्याण्डको मुख्य हतियार स्ट्राइकर तथा कप्तान ह्यारी केन, रहिम स्टार्लिङ्ग र राइट विन्ग ब्याक किरान ट्रिपिएर बन्नेछ । यस्तै क्रोएशिया भने मुख्यतः सेन्ट्रल मिडफील्डरद्वय लुका मोड्रिच र इभान राकिटिच सहित स्ट्राइकर माण्डजुकीचको प्रदर्शनमा निर्भर हुनेछ ।

हेड टू हेड 
यी दुईले एकअर्काबीच ७ पटक खेलेका छन् । जसमा इंग्ल्यान्डको वजन भारी देखिन्छ । इंग्ल्याण्डले ४ पटक जित हासिल गर्दा १ खेल बराबरीमा टुंग्याएको छ ।

यस्तै क्रोएसियाले भने २ पटक मात्र जित हासिल गरेका छन् । यसक्रममा इंग्ल्याण्डले १८ गोल गर्दा क्रोएशियाले १० गोल मात्र फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्