जापानमा बाढीबाट मृत्यु हुने १५६ पुगे



टोकियो ।
जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ ।

जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ ।

सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १५६ पुगेको हो ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ ।

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।
रासस

प्रतिक्रिया दिनुहोस्