बोलिभियाको तालमुनि ऐतिहासिक संग्रहालय बन्ने



ला पाज,(एजेन्सी)
बोलिभियाको निकैे पवित्र मानिने टीटीकाका तालमुनि संग्राहलय बनाइने भएको बोलिभियाको संस्कृति मन्त्रालयले सोमवार जानकारी दिएको छ ।

सो तालको पिधंमा हजारौं बहुमूल्य कलाकृतिका सामाग्रीहरु भेटिए पछि सरकारले यो कदम उठाउन लागेको हो ।

यो संग्राहलयको निर्माण लागत एक करोड अमेरिकी डलर पर्ने र यसलाई बेल्जियन विकास एजेन्सी इनाबेलसँगको सहकार्यमा निर्माण गरिने बताइएको छ । सस्कृति मन्त्री विल्मा अलनाकोले भनेका छन् , ‘

यसलाई एक पर्यटकीय संयन्त्रका अतिरिक्त विश्वको एक मात्र पुरातात्विक, भौगोलिक र जैविक अनुसन्धानको केन्द्र रुपमा विकास गरिने छ । बेल्जियम सरकार र युनेस्कोले यस परियोजनामा २० लाख डलर खर्च गर्नेछन् । ’

स्थानीय मानिसहरुको मनमा टिटिकाकाको विशेष स्थान रहेको छ । इन्का किम्बदन्ती अनुसार सूर्यका छोरा म्यान्को कप्याक र उसको पत्नी मामा आक्ल्लो यही तालबाट बाहिर निस्किएका थिए ।

इन्का किम्बदन्तीको मुख्य पात्र मध्ये एक मानिने म्यान्को कप्याकले पेरुको शहर कुस्को निर्माण गरेको विश्वास गरिन्छ । यो ऐतिहासिक सहर १३ औं शताब्दी देखि १६ शताब्दीको बीचमा इन्का साम्राज्यको राजधानीको रुपमा थियो । टीटीकाका ८ हजार ५ सय वर्ग कि.मी. क्षेत्रफलमा पेरु र बोलिभियाको सीमाबीचमा फैलिएको छ ।

समून्द्र सतहदेखि ३ हजार ८ सय मिटरको उचाईमा रहेको यो ताल विश्वको सबैभन्दा उचाईमा रहेको ठूलो जलवाहन चलाउन मिल्ने स्वच्छ पानी भरिएको तालको रुपमा पनि चिनिन्छ ।

पछिल्लो उत्खननबाट यहाँ करिव दश हजारको संख्यामा अनुपम कलाकृतिहरु भेटिएका छन् । कलाकृतिमा हड्डी, माटो, धातु आदीबाट बनेका भाडाँकुडाँ र मानवीय र जनावरको अवशेषहरु रहेका छन् । सन पेर्दो दे तिक्युना सहर नजिक र राजधानी लापाजबाट १ सय कि.मी. टाढा यो संग्राहलय बन्न लागेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्