सरकारप्रतिको जनविश्वासमा ह्रास



प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई इतिहासकै सर्वशक्तिमान् सरकारका रुपमा लिने गरिएको छ । दुई तिहाइ बहुमतको समर्थन रहेको ओली सरकारमा संलग्न नेताहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढ्ने आश्वासन चुनावताकादेखि नै दिएका थिए ।

तर अहिलेसम्म देखिएको राजनीतिक परिदृश्यले मुलुक त्यसतर्फ अघि बढ्ने संकेत देखाइरहेको छैन । दुई तिहाइ बहुमत हुँदा पनि सरकारलाई काम गर्नबाट कसले रोकेको भन्ने प्रश्न आखिर सबैतिरबाट उठ्न थालेको छ ।

अहिलेको राजनीतिमा नेपाली कांग्रेसबाहेक असबैजसो दलले सत्तालाई समर्थन गरेका छन् । वर्तमान सरकारको हालको अंकगणितीय आधारमा हेरिँदा यसको पाँच बर्से शासनमा बाधा हुने देखिँदैन । यद्यपि वर्तमान ओली सरकारको कार्यक्षमता, सोच आदि पहिलेका सरकारका भन्दा तात्विक अर्थमा फरक देखिएको अनुभूत जनताले गर्न सकेका छैनन् ।

सरकारले प्रत्येक नेपालीलाई सुखी बनाउन भन्दै अनेकानेक सपना बाँडे पनि ती सपना पूरा गर्नेतर्फ मुलुक अघि बढिरहेको विश्वास कसैले गर्न सकेका छैनन् । यसले गर्दा सरकारप्रतिको जनविश्वास क्रमशः तल झर्दै गएको छ ।

मुलुकको सबैतिर देखिएको अस्तव्यस्ततामा सुधार हुने आधार र लक्षण देखिएको छैन । चार–पाँच महिनाको छोटो अवधिमा सरकारको समग्र मूल्यांकन नभए पनि मुलुकलाई समृद्धितर्फ हाँक्ने पूर्वसंकेत भने देखिनुपर्ने हो । तर सरकारको छवि जनहितका मुद्दा बिर्सिएको, शक्तिको उन्माद देखिएको, अरुलाई होच्याउने र घृणा फैलाउन किसिमको देखिएको छ ।

आज डा. गोविन्द केसीले उठाएका विषय गरिब जनताका लागि हुन् भन्ने कुरा व्याप्त हुँदाहुँदै सरकारले बेवास्ता गरी होच्याउने गरेको देखिएको छ । यसले गर्दा सरकारको सस्ता नारा र उसको कार्यक्षमताबीच देखिने र भोगिने व्यवहारले जनताको मोहभंग हुन थालेको छ । यसले गर्दा स्थिर सरकार र विकासको तीव्र गति भनिने नारा कतै नारामै सीमित हुने हो कि भन्ने लाग्नु स्वाभाविक नै हो ।

लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारमा पनि क्रमशः शक्तिको उन्माद देखिएको अनेक घटनाहरुबाट उजागर भएको छ । राजनीतिमा ‘दुई दुना चार’ पनि नहुने राजनीतिक शास्त्रीहरुको टिप्पणी पनि यहाँनिर मननीय छ । सरकारी दलको नेताको सोच, विश्वसनीयता, कार्यशैली, लोकहितकारी कदम र कार्यसम्पादनमा देखिने दक्षताले सरकारको स्थायित्वको सम्भावना बढी हुन्छ  ।

त्यस्तै देखिने र गरिने कुरामा पनि विश्वसनीयता आउनुपर्छ । क्षणिक लोकप्रिय नारा र बाचाका भरमा चुनाव जिती बनेको सरकार विभिन्न कारणले पतन भएका उदाहरण यत्रतत्र रहेको तथ्यलाई सरकारले गम्भीरताका साथ आत्मसात् गर्न नसके सरकारप्रति जनताको असन्तुष्टि बढ्दै जाने निश्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्