डालीचको केनलाई रोक्ने विश्वास



लन्डन, (एजेन्सी)
क्रोएसियाका प्रशिक्षक जाटको डालीचले बुधबार हुने सेमिफाइनल खेलमा इंग्ल्यान्डका ह्यारी केनलाई रोक्ने विश्वास गरेका छन् ।

शनिबारको खेलमा आयोजक रुसलाई हराएर डालीचको टोली सेमिफाइनल पुगेको हो । विश्वकपमा मेडन फाइनल प्रवेशको लागि क्रोएसियाले इंग्ल्यान्डलाई पन्छाउनु पर्नेछ । डालीचले लियोनेल मेसीलाई रोकेकोले पनि आफनो टोलीले इंग्ल्यान्डलाई रोक्ने बताए ।

उनले भने—केन र रहिम स्टर्लीङले तर्साउन सक्नेछन् । तर हामीलाई हाम्रो क्षमतामा विश्वास छ । हामी इंग्ल्यान्डसँग डराउँदैन । केन सर्वाधिक गोलकर्ता हुन्, उनलाई रोक्न त्यति सजिलो हुँदैन । तर हामीसँग शीर्ष सेन्टर ब्याक छन् । हामीले मेसी र क्रिस्टियन इरिक्सेन (डेनमार्क) लाई रोक्यौ भने आशा गरौं केनलाई पनि रोक्न सक्नेछौ ।

५१ वर्षीय प्रशिक्षक डालीचले राष्ट्रिय टोली अक्टोबरदेखि मात्रै नेतृत्व गरेका हुन् । उनले इंग्ल्यान्डको क्षमतालाई नकार्न नसकिने भन्दै बताए —म भन्न सक्दैन कि इंग्ल्यान्ड कमजोर छ । उनीहरु सेमिफाइनलमा पुगेका छन् । यति नै बलियो भन्नको लागि पर्याप्त छ । उनीहरुले खेल देखाएका थिए । उनीहरु प्रत्यक्ष फुटबल खेल्न्छन र अति छिटो छन् । उनीहरुका अग्ला खेलाडी कर्नर प्रहारमा डरलाग्दो छन् ।

उनले थपे—मलाई लाग्छ रहीम स्टर्लीङ महत्वपूर्ण खेलाडी हुन् । उनी साँच्चिकै छिटो खेल्छन् र उनका तालमेल ह्यारी केनसँग एकदमै डरलाग्दो देखिएको छ । उनीहरुले स्वीडेनलाई सजिलैसँग हराए । त्यसैले हामीले उनीहरु कठिन प्रतिद्वन्द्वीको रुपमा हेरेका छौ र सम्मान गर्छौ ।

प्रतिक्रिया दिनुहोस्