जापानमा बाढी पहिरोमा मर्नेको संख्या ११४ पुग्यो, ८० जना अझै सम्पर्कविहिन



,टोकियो ।
पश्चिमी जापानको विभिन्न क्षेत्रहरुमा बर्षाका कारण आएको बाढि र पहिरोमा परि सोमबार साँझसम्म कम्तिमा ११४ जनाले ज्यान गुमाएको एनएचकेमा खबर छ । ३ जना अझै अचेत अवस्थामा रहेका छन् भने पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अझै ८० जना हराइरहेको खबर क्योदो न्यूजले लेखेको छ ।
सबैभन्दा धेरै प्रभावित बनेको हिरोसिमा प्रिफेक्चरमा मात्र ४४ जनाले ज्यान गुमाएका छन् अन्य मृतकहरु एहिमे, ओकायामा, ओशाका, सिगा, ह्योगो, यामागुची, कोची तथाफुकुओका प्रिफेक्चरका वासिन्दाहरु रहेका छन् ।
प्रभावित क्षेत्रहरुमा स्थिती भयाबह बनेपछि आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ७३००० जना खटाइएको छ ।
जापानका विभिन्न क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको विभागको भनाई छ । केही स्थानहरुमा जारि गरिएको इमर्जेन्सी एलर्ट पचास बर्षमा एक वा दुईपटक जारि गरेजस्तै भएको बताइएको छ ।
सन् २०१४ अगस्त महिनामा हिरोसिमा प्रिफेक्चरमा भारी बर्षापश्चाच आएको बाढि र पहिरोमा परि ७७ जनाले ज्यान गुमाएका थिए । स्थानिय वासिन्दाले यसपटकको बाढि ४ बर्ष अघिको भन्दा भयानक भएको बताए ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले आफ्नो आसन्न बिदेश भ्रमण रद्द गरेका छन् । उनले उद्दार तथा राहतमा खटिएर लाग्नुपर्ने बेलामा बिदेश भ्रमण अनुपयुक्त भएको भन्दै बेल्जियम, फ्रान्स, साउदी अरेबिया, ईजिप्टका लागि तय गरिएको यसै हप्ताको भ्रमण रद्द गरेका हुन् ।
धेरै स्थानहरुमा रेल तथा सडक यातायात रोकिएको छ भने प्रभावित क्षेत्रमा रहेका उद्योग तथा कम्पनीहरु समेत बन्द छन् ।
अधिकारिहरुले यसलाई ‘ऐतिहासिक बर्षा’ भनेका छन् र मृतकहरुको संख्या अझै बढ्नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्