मामुली ब्याग २ करोड ३३ लाख बराबरको मूल्य



एउटा ब्यागको मूल्य कतिसम्म पर्ला ? बेलायतमा एउटा मामुली ब्याग २ करोड ३३ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ ।
१८ क्यारेट ह्वाइट गोल्ड तथा हिरा जडित लकयुक्त उक्त २००८ हिमालय बर्किन ब्यागको लिलामी युरोपमा पहिलो भएको बताइएको छ । लिलाम घर क्रिस्टीका अधिकारीका अनुसार यो ब्याग ३० सेमी चौडा छ र ओरिजिनल बर्किन ब्यागभन्दा केही सानो छ । स्मरण रहोस् किम कार्दाशिन, भिक्टोरिया बेकह्याम जस्ता केही हस्तीहरुले यहीँ ब्राण्डको ब्याग बोक्ने गरेका छन् ।

लण्डनमा आयोजित लिलामीका क्रममा १० वर्ष पुरानो हर्मेस बर्किन ब्राण्डको ब्याग २ लाख १७ हजार १ सय ४४ डलरमा बिकेको हो । यो सँगै यस ब्यागले सबैभन्दा महंगो युरोपेली ब्यागको कीर्तिमान पनि राखेको छ ।

सामान्य बर्किन ब्यागको मूल्य झण्डै १० लाख रुपैयाँबाट सुरु हुन्छ । यसको उत्पादन निकै सीमित हुने हुनाले यो ब्याग किन्न चाहनेले धेरै पहिले अर्डर गरेर लामो समय पर्खिनुपर्ने हुन्छ ।

फ्रान्सको लग्जरी फेसन हाउस हर्मेसले सन् १९८१ मा एउटा ब्यागको डिजाइन गरेको थियो, जसको नाम बर्किन राखिएको थियो । गायिका तथा अभिनेत्री जेनी बर्किनको नामबाट यसको नामाकरण गरिएको हो । यो ब्याग विश्वका धनाढ्य महिला सेलिब्रेटीबीच प्रसिद्ध छ ।

स्मरण रहोस् विश्वमा सबैभन्दा महंगो ब्यागको किर्तिमान पनि हर्मेस बर्किनकै नाममा छ । सन् २०१७ मा हंगकंगमा उक्त कम्पनीको एउटा ब्याग ३ लाख ८० हजार डलरमा बिकेको थियो ।

प्रतिक्रिया दिनुहोस्