दुई दशकपछि क्रोएशिया सेमिफाइनलमा



मस्को, (एजेन्सी)
आयोजक रुसलाई पेनाल्टी शुटआउटमा हराउँदै क्रोएशिया दुई दशक पछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी शुटआउटमा दोस्रो पटक भाग्यशाली रहँदै क्रोएसिया जारी विश्वकप फुटबलको अन्तिम चारमा पुगेको हो । क्रोएशियाले शनिबार फिस्ट ओलम्पिक स्टेडियममा थ्रिलर पेनाल्टी शुटआउटमा रुसलाई उसकै मैदानमा ४–३ ले पराजित ग¥यो ।

निर्धारित र अतिरिक्त समयसम्म २–२ गोलको बराबरीमा खेल टुंगिएपछि विजेताको छीनोफानो पेनाल्टी शुटआउमार्फत् भएको थियो । यी दुबै टोली अघिल्ला खेलमा पेनाल्टी शुटआउटमा भाग्यमानी बन्दै क्वाटरफाइनलमा पुगेका थिए ।

फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेयता क्रोएशियाको यो दोस्रो विश्वकप सेमिफाइनल हो । सो विश्वकपमा क्रोएशिया आयोजक फ्रान्ससँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो। तेस्रो स्थानको खेलमा भने नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसियाले डेब्यू गरेको विश्वकपमा नै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

रुसले दुई पेनाल्टी गुमाएको थियो भने दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेका थिए । रुसका लागि अतिरिक्त आधा घन्टाको समयमा बराबरी गोल फर्काउने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नु नै आयोजक टोलीको दुर्भाग्य बन्न पुग्यो । त्यसअघि क्रोएसियाका गोलकिपर डानिजे सुबासिचले रुसका फेडोर समोलोभको पेनाल्टी रोकेका थिए ।

क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिचले पहिलो पेनाल्टीमा गोल गरे भने माटेउ कोभासिसको पेनाल्टी रुसी गोलकिपर इगोलर अकिनफिभले रोकेका थिए । रुसका लागि दोस्रो पेनाल्टी हानेका एलन जेगोएभले गोल गरे । तर फर्नान्डेजको प्रहार गोलपोस्ट नजिकबाट बाहिरिएपछि रुस पछि परेको थियो । क्रोएसियाका लागि तेस्रो पेनाल्टीमा लुका मोड्रिच र चौथोमा डोमागोज भिडाले गोल गरे ।

यता रसियाका चौथो पेनाल्टी प्रहारकर्ता सेरेगेइ इगानसेभिचले र डालेन कुजेयभले गोल गर्दा ३–३ को बराबरीमा थियो । अन्तमा क्रोएसियाका इभान राकिटिचले गोल गर्दै क्रोएसियालाई जित दिलाए । जसले डेनमार्कविरुद्ध पनि पाँचौ पेनाल्टी गोल गरेका थिए ।

रुसले अग्रता लियो

यसअघि रुसले खेलको ३१ औं मिनेटमा अग्रता लिएर घरेलु टोली र दर्शकलाई खुशी मनाउन बाध्य बनाए । डेनिस चेरिसेभले डी एरिया बाहिरबाट विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ उत्कृष्ट गोल गरेका थिए । तर उक्त अग्रता धेरै समयसम्म भने टिकेन । क्रोएशियाले खेलको ३९औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । स्ट्राईकर मान्डुजीकीचको क्रसमा आन्द्रेज करामारिकले हेड मार्फत गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयसम्म लम्बिएकोको थियो । थपिएको ३० मिनेट पनि रोमाञ्चक बनेको थियो । १ सय १ मिनेटमा डिडेले हेडमार्फत् गोल गरेर क्रोएशियालाई २–१ ले अग्रतामा राखे । रुसले १ सय १५औं मिनेटमा बराबरी गोल फर्काए । फ्रिकिकमार्फत् प्राप्त बललाई फर्नान्डेजले हेडमार्फत क्रोएसियाको जाली चुमाएको थियो। अब सेमीफाइनलमा क्रोएशियाले इङ्ल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्