क्रोसिया विश्वकप फुटबलको सेमिफाइनलमा, पेनाल्टी सुटआउटमा आयोजक रसिया पराजित



क्रोएसिया २० वर्ष पछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९८ मा तेश्रो स्थान ओगट्न सफल क्रोएसिया त्यसयता सेमिफाइनल पुुग्न सकेको थिएन ।

टाइब्रेकरमा रुसलाई ४–३ ले पराजित गर्दै क्रोएसिया विश्वकप यात्रामा अगाडी बढेको हो । निर्धारित समयमा १–१ को बराबरी भएको खेल अतिरिक्त समयमा २–२ को बराबरी भएको थियो । पछि परेको घरेलु टोलिलाई मारियो फेरनानडेजले ११५ मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए ।

अतिरिक्त समयकै १०१ मिनेटमा डोमागोज भिडाले गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता बनाएको थियो । निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

त्यसअघि आयोजक रुसले क्रोएसियाविरुद्ध बनाएको अग्रता ८ मिनेटमै तोडिएको थियो । खेलको ३१ औं मिनेटमा डेनिस चेर्सिभले गोल गर्दै घरेलुटोलीलाई अग्रता दिलाए पनि क्रोएसियाले बराबरी गरेको थियो । आन्द्रेज क्रामारीजले हेडमार्फत गोल गर्दै पछि परेको क्रेएसियालाई खेलमा फर्काएका थिए ।

रुस सन् १९६६ पछि दोश्रो सेमिफाइनल पुुग्ने सपना आफ्नै मैदानमा चकनाचुर भयो । क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा पनि दुवै टोलीले टाइब्रेकरमा जितेका थिए ।

बलियो दावेदार मानिएको स्पेनलाई रुसले र डेनमार्कलाई क्रोयसियाले घर पठाए । क्रोएसिया समूह डी को बिजेता र रुस समूह ए को उपविजेता बन्दै अघि बढेका थिए ।

समूहका आफ्ना सबै खेल जित्यो क्रोएसियाले । तर आयोजक रुस सुरुका दुई खेलमा तहल्का पिटे पनि उरुग्वेसँग पराजित भयो । क्रोएसिया त्यो टिम हो जसले पूर्वविजेता अर्जेन्टिनालाई समूहको खेलमा ३–० ले पराजित गरेको थियो ।

यो खेलको नतिजासँगै सेमिफाइनलको समिकरण पूरा भएको छ ।
यसअघि उरुग्वेलाई हराउँदै फ्रान्स र ब्राजिललाई हराउँदै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । यी दुई टोलीको सेमिफाइनलमा भेट हुनेछ । क्रोएसियाले भने सेमिफाइनलमा इङ्ल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्