ब्राजिलसँगै विश्वकपबाट दक्षिण अमेरिकी सबै टोली बाहिरिए



काठमाडौँ । ‘विश्वकप–२०१८’बाट ब्राजिल बाहिरिएको छ । जो विश्वकपका दावेदारका रुपमा चर्चामा थियो । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल यसपटक पनि विश्वकपमा क्वाटरफाइनल खेलमा यरोपियन राष्ट्र बेल्जियमसँग २–१ गोलअन्तरले पराजित हुँदै बाहिरिएको छ । ब्राजिलसँगै विश्वकपबाट सबै दक्षिण अमेरिकी टोली बाहिरिएका छन् ।
योसँगै ब्राजिलको छैटौँपटक विश्वविजेता बन्ने सपना अधुरो भएको छ । बेल्जिियम भने सन् १९८६ पछि विश्वकपको सेमिफाइलनमा पुगेको योपटक हो ।

विश्वकपबाट ब्राजिल बाहिरिएपछि अहिले अनेक चर्चा चल्न थालेको छ । ब्राजिल मात्र नभएर यसअघि नै अर्जेन्टिना बाहिरिसकिएको छ । जो ब्राजिल जस्तै विश्वकप विजेताको दावेदार थिए । फुटवलका महासारथी मानिएका ब्राजिल र अर्जेन्टिना बाहिरिएसँगै खेल पे्रमीहरुले भन्न थालेका छन्, ‘यसपटक अप्रत्यासित भयो ।’

हुन पनि शुक्रबार साँझको खेल अप्रत्यासित रुपमै बेल्जियमले जितेको थियो । दुई हेभिवेट टोलीबीचको भिडन्त निकै रोमाञ्चक हुने देखिन्थ्यो । तर, अन्नतः ब्राजिल कमजोर बन्यो ।

बेल्जियमले यसअघि भन्दा क्वाटरफाइनल खेलमा उत्कृष्ट काउन्टर अट्याकिङ खेलको थियो । खेलको १५औँ मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि बेल्जियमले ब्राजिलमाथि दबाब बनाइराख्यो । र, खेलको ३१औँ मिनेटमा अर्को काउन्टर अट्याक गर्दै रोमेलु लुकाकुको पासमा केभिन डि बु्रयनाले बेल्जियमको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा ब्राजिलले खेल सुधारेपनि उनको मनोवल खस्किएको भान हुन्थ्यो जबकि बेल्जियमको बक्समा निरन्तर आक्रमण गरेपनि गोलमा भने परिणत गर्न सकेन ।


खेलको ७८औँ मिनेटमा रेनाटो अगस्तोले फिलिपे काउन्टिहोको पासमा गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए । खेलको अन्त्यतिर बेल्जियमको दवावमा परेको ब्राजिलका अगस्तोले गोल गर्ने अर्को सुन्दर अवसर पनि गुमाएका थिए ।

क्वाटरफाइनलका बाँकी खेलमा पनि युरोपेली टोलीबीच नै प्रतिस्पर्धा हुनेछ । स्विडेन र इङल्यान्डबीचको खेलको विजेता तथा क्रोयशिया र रसियाबीचको खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् । स्विडेन र इङल्यान्डबीच शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुनेछ भने ११ बजेर ४५ मिनेटमा आयोजक रसिया र क्रोयशिया भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्