थाइ गुफामा फसेकाहरुको उद्धार क्रममा गोताखोरको मृत्यु



बैंकक,(एजेन्सी)
थाइल्याण्डको चियांग राइको थाम लुआंग गुफामा फसेका बाह«जना किशोरहरु र तिनीहरुका एकजना फुटबल प्रशिक्षकको उद्धारमा खटिएका थाई नौसेनाका एक पूर्व गोताखोरको शुक्रवार मृत्यु भएको छ ।

सरकारी अधिकारीका अनुसार ३८ वर्षका समान गुनान गुफामा फसेका समूहलाई सामान पुर्याएर फर्कने क्रममा बेहोस भएका थिए ।
एकजना अधिकारी भनेका छन् , ‘ उनी पिडितहरुलाई अक्सिजन पुर्याउन गएका थिए , तर फर्किनेबेला उनी आफैंलाई अक्सिजनको कमी भयो । थाइ नौसेनामा काम छोडिसकेका समान गुनानले उद्धार अभियानमा समावेश हुनका लागि स्वेच्छाले फर्किएका थिए ।’

स्थानीय उप गभर्नर पासाकोर्न बूनयालकले पत्रकार सम्मेलनमा भनेकाछन् , ‘ स्वेच्छाले राहत बचाउको काममा मद्दत गर्न आएका एक पूर्व सैनिकको हिजो बिहान दुई बजे उनको मृत्यु भएको हो । अक्सिजन पुर्याएर फर्किने क्रममा उनीसँगै पर्याप्त अक्सिजन बाँकी रहेन । ’
उत्तरी थाइल्याण्डको एउटा गुफामा बाढीको पानी जमेको कारण १२ दिनदेखि फसेका १२ किशोर र उनका फुटबल प्रशिक्षकलाई सुरक्षित ढंगले बाहिर निकाल्ने प्रयास भइरहेको छ । तिनीहरु जिवितै रहेको सोमवार वेलायतबाट आएका दुईजना गोताखोरले पत्ता लगाएका थिए ।

त्यस यता सरकारले तिनीहरुलाई आवश्यक खानेकुरा औषधि र अक्सिजन पठाइरहेको छ । तिनीहरु त्याहाँबाट बाहिर निस्कने दुईवटा विकल्प मात्र छन् । कि त तिनीहरु गोताखोरले जस्तै पौडेर बाहिर निस्कनु पर्दछ , कि पानी नसकुन्जेल कम्तिमा चार महिना पर्खनु पर्दछ ।
तर सबैभन्दा ठूलो समस्या यो छ कि कुनै पनि किशोरलाई पौडी खेल्न आउँदैन । किशोर र उनीहरुका आमाबुवा बीच कुराकानीका लागि एउटा टेलिफोन लाइन बिछ्याउने योजना बनाइँदैछ ।

तिनीहरु सबै २३ जूनमा फुटबलको अभ्यासपछि उत्तर थाइल्याण्डको सो गुफा हेर्न गएका थिए । तर बाढीको पानीका कारण सबैजना गुफाभित्र फसे । अहिले थाइल्यान्डमा प्रशिक्षकले यसरी तिनीहरुलाई बिना कुनै सुरक्षा पुर्वाधा वा तयारीका साथ गुफा भित्र लानु हुन्छ वा हुँदैन भन्नेबारे सरकारी र जनस्तरमा ठूलो बहश शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्