नेपाल समाचारपत्र, विराटनगर
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रदेश सरकारले पहल शुरु गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रदेश–१ को मन्त्रिपरिषद् बैठकले नै विमानस्थललाई तत्काल अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरिसकेको छ । लामो समयदेखि पूर्वका उद्योगी व्यवसायीले यो विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन माग गर्दै आएका थिए ।
पूर्वबजेट छलफल कार्यक्रममा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघसहित पर्यटन व्यवसायीहरूले विमानस्थलको स्तरोन्नतिको माग गर्दैै आएका थिए ।
मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा विकास गर्न तत्काल काम अगाडि बढाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पर्यटन तथा उद्योगमन्त्री जगदीश कुसियतले जानकारी दिए । प्रदेश सरकारले हालको १ हजार ५ सयको रनवेबाट ३ हजार मिटरको धावनमार्गसहितको अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
नागरिक उड्डन प्राधिकरणले पनि आन्तरिक रुपमा विमानस्थलको विकास र विस्तारको योजनालाई अघि बढाएको छ । विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले अल्पकालीन मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा विमानस्थलको विकास र विस्तार गरिने जानकारी दिए । पहिलो अल्पकालीन योजनामा विमानस्थलको पूर्वपट्टीको साढे चार विगाह जमिन र त्यसमा रहेका २६ घरलाई अधिग्रहण गरिनेछ । जसको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।
मध्यकालीन योजनामा क्रस बोर्डर जहाजको उडानका लागि ५ वर्षभित्र विमानस्थलरलाई तयार पारिने छ भने दीर्घकालीन योजनामा विमानस्थललाई फुल अन्तर्राष्ट्रियस्तरको बनाइनेछ । जहा“बाट युरोप अमेरिकासम्म सिधा उडान हुनेछ । अल्पकालीन योजनालाई पूर्णता दिन जमिनको मुअब्जा तोकी वितरण शुरु गरीसकेको बताउ“दै उनले भने जग्गाको मूल्याङ्न सकी वितरण शुरु भइसक्यो अब घरको पनि मुअब्जा वितरण शुरु हुन्छ ।
विमानस्थलले घरको पनि मूल्याङ्न गरी स्थानीय घरधनीलाई असार मसान्तसम्म रकम बुझिलिन सूचना जारी गरेको छ । प्रतिधुर ३ लाखदेखि ४ लाख २५ हजारसम्म जग्गाको मुआब्जा वितरण गरेको विमानस्थलले घरका लागि भने २० हजारदेखि १५ लाखसम्म मुआब्जा वितरणको तयारी गरेको सिटौलाले जानकारी दिनुभयो । विमानस्थलले मुआब्जा लिई आगामी कात्तिक मसान्तसम्म घर खाली गराउन पनि घरधनीलाई अपिल गरेको छ ।
विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाका अनुसार यो विमानस्थल १ सय १० बिघा क्षेत्रफलमा अवस्थित छ । यहा“बाट हाल प्रतिदिन १ हजार ७ सय यात्रु ओहोरदोहोर गर्छन् । स्वदेशका १० वटा विमान कम्पनीका जहाजले दैनिक १५ वटासम्म उडान भरिरहेका छन् । स्तरोन्नति गरिएपछि यहा“बाट १ सय ५० सिट क्षमताका ठूला विमान उड्न सक्नेछन् ।
विराटनगरबाट तत्काल भारतको कोलकाता र नया“दिल्लीको उडान भर्न सकिने सम्भावना छ । साथै नया“ दिल्ली हु“दै बंगलादेशको ढाकाको उडान पनि सञ्चालन गर्न सकिने पर्यटन व्यवसायी पुण्य भट्टराईको दाबी छ ।
यस विमानस्थलबाट हाल ७० सिट क्षमताका ८० आर ७२ र सिआरजे जेड ७ सय सिरिजका विमानले उडान भरिरहेका छन् । साथै साना टुवीनअटर विमान पनि सञ्चालित छन् । अन्तर्राष्ट्रियस्तरको बनाइएमा न्यारो बडी जेट सर्भिसबाट संसारको कुनै कुनामा पनि हवाई सम्बन्ध कायम गर्न सकिने प्रमुख सिटौलाको भनाइ छ । यहा“बाट २०५८ सालमा नेकोन एअरले कोलकाताको उडान सञ्चालनमा ल्याएको थियो । तर, यो सेवा ६ महिनाभन्दा बढी चलेन । कालान्तरमा नेकोन पनि बन्द भयो । त्यसबेला यात्रु कम भएका कारण देखाएर सेवा स्थगित गरिएको थियो ।
प्रदेश सरकारले निर्णय नै गरेर अन्तर्राष्ट्रियस्तरको बनाउन केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।‘हामीले लामो समयदेखि विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन माग गर्दै आएका थियौं,’ पर्यटन व्यवसायी भट्टराईले भने–‘अब भने हाम्रा माग पूरा हुने संकेत देखिएको छ ।’ उनले सम्पूर्ण आन्तरिक उडान पनि विराटनगरबाटै सञ्चालन गर्न माग गरेका छन् ।











प्रतिक्रिया