संगठित अपराधलाई निस्तेज पार्न प्रहरीको भूमिका महत्वपूर्ण



काठमाडौ (नेस) । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, गुण्डागर्दी जस्ता ंसगठित अपराधमा संलग्न अपराधीहरूलाई पूर्णरुपमा निस्तेज पारी निर्दोषलाई उन्मूक्ति र अपराधीलाई दण्ड दिलाउन अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरू दृढ भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

‘विश्वासिलो र भरपर्दो फौजदारी न्याय प्रशासन, वस्तुगत प्रमाणमा आधारित अनुसन्धान र अभियोजन’ भन्ने मूल नाराका साथ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजना र महान्यायधिवक्ताको कार्यालयको समन्वयमा आयोजित प्रभावकारी अनुसन्धान तथा अभियोजनका लागि प्रहरी र सरकारी वकिलहरुको दुई दिवसीय पहिलो प्रदेश सम्मेलन २०७५ को शुक्रबार उदघाटन गर्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनुभएको हो ।

समाजमा न्याय स्थापित नहुँदा राष्ट्रले लिएको मुख्य लक्ष्य बिकास र समृद्धिमा गम्भीर असर पर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले न्याय प्रणालीलाई अझ मजबुत बनाई वस्तुगत प्रमाणमा आधारित प्रभावकारी अनुसन्धान अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राज्यको मुख्य लक्ष्य प्राप्तिको लागि अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीचको अन्तरसम्बन्ध एवं समन्वयको विकास गर्न सम्मेलन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

समाजमा शान्ति स्थापना गरी जनताको हकअधिकारको संरक्षण गर्दै कानून कार्यान्वयन तथा अपराध अनुसन्धान गर्ने निकायलाई साधन सम्पन्न बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको चर्चा गर्दै गृहमन्त्री थापाले अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाइने सुरक्षा नीति तथा कार्ययोजना बःतुगत, वैज्ञानिक एवं आवश्यकता अनुरुप हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनका निष्कर्षले राज्यले अङ्गीकार गरेको नीतिलाई प्रभावकारी रुपमा कार्वान्वयन गर्दै न्याय स्थापना गर्न अहम् भूमिका खेल्ने समेत उहाँले उल्लेख गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी भदौदेखि लागू हुने मुलुकी फौजदारी संहिता ऐनको प्रभावकारी कार्यान्वयन तथा अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच दिगो सहकार्य र समन्वय कायम गर्न सम्मेलन महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गर्नुभयो । राज्यले लिएको लक्ष्य प्राप्तिको लागि विकास र सुरक्षा सँगसँगै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नागरिकको हक अधिकारको सुरक्षा गरी समाजमा शान्ति स्थापना गर्न प्रहरीले सम्पादन गर्ने क्रियाकलापमा कुनै पनि त्रुटी नरहने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले यस्ता लक्ष्य पुरा गर्न अनुसन्धानकर्ता र अभियोजनकर्ता बीचको समन्वय र सहकार्यलाई अझ बढी प्रभावकारी बनाउन सम्मेलनले महत्वपूर्ण सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय अनुसन्धान बिभागका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले सम्मेलनको उद्धेश्य एवं आवश्यकतामाथि प्रकाश पार्नुभयो । सम्मेलनले अनुसन्धानकर्ता र अभियोजनकर्ता बीचको आपसी समझदारी एवं समन्वयमा वृद्धि भई आगामी दिनमा वःतुगत प्रमाणमा आधारित अनुसन्धान गर्न थप मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश नम्बर ३ का प्रहरी कार्यालय प्रमुखहरु, सरकारी वकिलहरू तथा चिकित्सक समेतको सहभागिता रहेको शनिबार सम्पन्न हुने उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनकर्ताको सम्पादनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्