सारिन ग्यास आक्रमणमा सम्लग्न जापानी धार्मिक नेता आसाहरासहित छ जनालाई मृत्युदण्ड



जापान ।
करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ ।
१३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास ९सारिन० को प्रयोग गरी गराइएको विष्फोटनमा जिम्मेवार रहेको अभियोगमा ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरासहित छ जनालाई मृत्युदण्ड दिइएको शुक्रबार जापानी न्यायमन्त्री योको कामिकावाले बताउनुभयो ।
ओम् शिन्रिक्योको अर्थ सर्वोच्च सत्य बताउने उक्त धार्मिक संस्थाले सन् १९८० को दशकमा बौद्ध, हिन्दू तथा इसाई धर्मका मतलाई मिलाएर केही नयाँ धार्मिक अवधारणाको विकास गरेको मानिन्छ ।
उक्त समूहका संस्थापक शोको आसशाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान प्राप्त भएको’ बताउने गरेका थिए ।
सन् १९९५ मा भएको सारिन ग्यास आक्रमणमा सम्लग्न दोषीमाथि भएको यो पहिलो मृत्युदण्डको सजाय हो । उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने हजारौँ विषालु ग्यासका कारण विरामी परेका थिए । यसै घटनामा सम्लग्न छ जनामाथिको मुद्दाको अझै निर्णय आउन बाँकी छ ।
जापान मृत्युदण्डलाई निरन्तरता दिने विश्वका केही विकसित मुलुकमध्ये एक मानिन्छ । विश्वव्यापी रूपमा मृत्युदण्डको प्रावधानलाई लिएर आलोचना हुने गरेपनि स्थानीय स्तरमा उक्त प्रावधानको पक्षमा राम्रो जनमत रहेको बताउने गरिन्छ ।
सारिन हमलामा मारिएका व्यक्तिहरूका आफन्त तथा घाइतेहरूले ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरालाई दिइएको मृत्युदण्डको स्वागत गरेका छन् ।
“मैले शान्तपूर्वक नै प्रतिक्रिया जनाएको छु । तर मलाई महशुस भएको छ कि संसार विस्तारै उज्ज्वल बनिरहेको छ,” सारिन हमलामा घाइते भएका एक फिल्म निर्देशक आत्सुसी साकाहाराले भन्नुभयो ।
“म धेरै वर्षसम्म पीडामा थिएँ,” उहाँले एएफपीसँगको कुराकानीमा बताउनुभयो । “उक्त घटनालाई सधैँका लागि बिर्सन असम्भव नै छ तर दोषीलाई दिइएको मृत्युदण्डले एक किसिमको राहत मिलेको छ ।”
उक्त घटनामा पति गुमाएकी सिजुई ताकाहासीले आसाहरालाई दिइएको मृत्युदण्ड पूर्णरूपले सही भएको बताउनुभयो ।
ताकाहासीले भन्नुभयो, “निश्चय नै उनले मृत्युदण्ड पाउनु नै पथ्र्यो । त्यसैले म उनको मृत्युका लागि दुःख मान्नुपर्ने कुनै कारण रहेन ।”
ओम् शिन्रिक्योले सन् १९८९ मा जापानमा धार्मिक संस्थाको मान्यता पाएको थियो र उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभरि थिए । उक्त संस्था आफ्नो उचाइमा हुँदा दशौँ हजार समर्थक भएको बताइने गर्छ ।
तर बिस्तारै उक्त समूह विश्व समाप्त हुने अवधारणातर्फ लाग्यो र विश्वव्यापी युद्धका कारण पृथ्वी मासिने र आफूहरूमात्रै जीवित रहने विश्वास गर्न थाल्यो । सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भयो र ’एलेफ’ र ’हिकारी नो वा’ भनेर पुर्ननामकरण गरी संगठन विस्तारमा लाग्यो ।
ओम् शिन्रिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौँ देशहरूले आतङ्कवादी संगठनको सूचीमा राखेका भएपनि जापानमा वैध मानिन्छन् । तर जापानले तिनलाई ‘खतरनाक धर्म’ मानेर निगरानी गर्ने गरिएको पाइन्छ ।
रासस

प्रतिक्रिया दिनुहोस्