नौं बर्ष अघि कतारबाट घर आउदै छु भनि खबर गरेका बस्नेत अहिलेसम्म बेखबर



रामधन राई, खोटाङ ।
कतारबाट काठमाण्डौं फर्किंदैछु भनेर नौं बर्षअघि फोन सम्पर्क गरेका खोटाङ मंगलटारका देवबहादुर बस्नेत सोही दिनदेखि बेखबर बनेका छन् । २०६६ सालको कुलपूजा देवालीमा घर आईपुग्छु भनेर फोन सम्पर्क गरेको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका बस्नेत हालसम्म सम्पर्कमा नआएका हुन् ।

वैदेशिक रोजगारीको शिलशिलामा २०६२ सालमा कतार पुगेका देवबहादुरले चार वर्षसम्म फोन, चिठी र पैसा पनि बेलाबेलामा पठाईरहने गरेको श्रीमति लेखकुमारी बस्नेतले बताउनुभयो । ती चार वर्षमा ऋण तिरेर घडेरी समेत किनेको परिवार जनाउँछन् । देवबहादुर विदेश गएको साल २ कक्षामा पढ्ने छोरा पुष्ष हाल १२ कक्षामा पढ्ने भइसकेका छन् । दुई छोरी मध्ये एकको बिहे भइसक्यो । कान्छी छोरी आठ कक्षामा पढ्छिन् । तर देव सम्पर्कमा नआउँदा परिवारमा अत्यास लागेको छ ।

श्रीमान हराएपछि तीन छोराछोरी र घर व्यवहारको जिम्मेवारी एक्लै सम्हाल्न गाह्रो भएको लेखकुमारी बताउनुहुन्छ । आउँदैछु भनेको श्रीमान त्यही दिनदेखि बेपत्ता बनेपछि लेखकुमारीमा अनेक तर्कना र आशंका उब्जने गरेको छ ।

लेखकुमारी भन्नुहुन्छ– ‘खै दोस्रो ल्याएर पो हो कि हामीलाई बिर्सिएको, कसैले हानेर पो मारिदियो कि, के थाहा, माया नै पो मारेको हो कि ?’ तर पनि एक दिन फर्केर आउने आशा नमारेको उहाँ सुनाउनुहुन्छ । जे भए पनि एउटा टुङ्गोको खबरको पर्खाईमा रहेको परिवारको भनाई छ ।
विदेश जाँदाका कुनै कागज पत्र नहुनका साथै काम गर्ने कम्पनीको नाम समेत थाहा नभएकोले देवबहादुरको खोजी गर्न पनि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्