अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा



प्योङयाङ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुग्नुभएको समाचार छ ।

उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उहाँ प्योङयाङ पुग्नुभएको हो ।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्नुहुने छ । उहाँ सोही विषयमा वार्ताका लागि त्यसतर्फ लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली आफ्ना समकक्षी रि योङ हुसँग वार्ता गर्नुहुने छ । सो वार्ता शुक्रबार बिहान हुने जनाइएको छ । त्यसपछि उहाँले यहाँका नेता किम जोङ उनसँग वार्ता गर्नुहुने बताइएको छ ।

उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि विदेशमन्त्री पोम्पेओ त्यसतर्फ लाग्नुभएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा गर्नुभएको छ । यस वार्ताका क्रममा उत्तर कोरियाले गरेको निशस्त्रीकरणको प्रतिबद्धता पूरागर्ने अपेक्षा गरिएको ट्रम्पको भनाई छ ।

सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा उत्तर कोरियाली नेता किमले अबदेखि आणविक अस्त्र उत्पादन नगर्ने र निशस्त्रीकरणमा लाग्ने बताउनु भएको थियो ।

कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरणको लागि अमेरिकाले निगरानी गरिरहेको बताइएको छ । विदेशमन्त्री पोम्पेओको नेतृत्वमा शुक्रबार यहाँ आइपुगेका उच्च अधिकारीहरुले यसै विषयमा नेता किमसँग वार्ता गर्ने बताइएको छ ।

कतिपय अमेरिकी विज्ञहरुले भने राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिङ्गापुर सम्पन्न वार्ताको बाचा अनुरुप उत्तर कोरियाले काम नगर्ने तर्क गर्ने गर्छन् ।

उनीहरुको भनाई छ– कोरियाली प्रायद्वीप पूर्ण रुपमा निशस्त्रीकरण हुन सक्दैन, यो उद्देश्य पूराहुन अझै पनि कैयौँ वर्ष लाग्ने आधारहरु धेरै छन् ।

विदेशमन्त्री पोम्पेओ उत्तर कोरियाको भ्रमण सकेर जापान र दक्षिण कोरिया पनि जानुहुने कार्यक्रम रहेको छ । उहाँले जापान र दक्षिण कोरियाली विदेशमन्त्रीहरुसँग पनि यसै विषयमा भेटवार्ता गर्नुहुने बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्