वृद्धाश्रम पठाउन खोज्ने छोराको हत्या



न्युयोर्क, (एजेन्सी)
अमेरिकाका एक ९२ वर्षीया वृद्धाले आफूलाई केयर होममा पठाउने योजनामा रहेका ७२ वर्षीया छोरालाई गोली हानी मारेको प्रहरीले जनाएको छ। अदालतको दस्तावेजले हत्याको अभियोग लगाइएकी अन्ना माय ब्लेसिङ लामो समयदेखि आफ्नो छोराले केयर होममा पठाउने चिन्ताबाट ग्रस्त रहेको जनाएको छ।

एरिजोनास्थित आफ्नी गर्लफ्रेन्डसँग बस्दै आएका छोराको घरबाट लैजाने क्रममा उनले भनेकी थिइन्– ‘तिमीले मेरो जीवन लियौ, मैले तिम्रो लिनेछु। ब्लेसिङले आफ्नै पनि ज्यान लिन खोजेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै म्यारिकोपा काउन्टिको फाउन्टेन हिल्स शहरमा २ जुलाईको बिहान सो हत्याकाण्ड भएको जनाएको छ। नाम नखुलाइएका ब्लेसिङका छोराले स्याहार गर्न निकै कठिन भएपछि आमालाई केयर होममा पठाउने निर्णय गरेका थिए।

प्रहरीले आफ्नो छोरासँग उनको शयनकक्षमा भिड्नका लागि आफ्नो लुगामा दुईवटा रिवल्भर लुकाएर लगेको प्रहरीले जनाएको छ। विवाद चर्किंदै गएपछि उनले सत्तरीको दशकमा किनिएका दुईवटामध्ये एउटा रिवल्भर निकालेर छोरोमाथि गोली चलाएकी थिइन्।

प्रहरीले घाँटी र बंगारामा गरी दुई वटा गोली लागेका उनलाई मृत अवस्थामा भेट्टाएको थियो। त्यसपछि ब्लेसिङले छोराकी ५७ वर्षीया गर्लफ्रेन्डलाई पनि गोली हान्ने प्रयास गरेकी थिइन्।
तर, ती महिलाले वृद्धालाई झम्टेर उनको रिवल्भर कोठाको कुनामा फ्याल्न सफल भएकी थिइन्। उनले पुनः सत्तरीको दशकमा आफ्नो पतिले दिएको अर्को रिवलभर निकालेकी थिइन्।

तर, दोस्रोपटक पनि ब्लेसिङको हातबाट रिवल्भर थुतेर भाग्न सफल उनले प्रहरीलाई खबर गरेकी थिइन्। तर, पछि प्रहरीसमक्ष उनले गल्ती स्वीकार गर्दै आफूलाई मृत्युदण्डै दिए हुने बताएकी थिइन्। ५ लाख अमेरिकी डलरमा उनको जमानत तय भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्