तुलनात्मकरूपमा फ्रान्स बलियो



२ पटकको च्याम्पियन उरुग्वे र १ पटकको च्याम्पियन फ्रान्सबीच शुक्रबार निज्नी नोभोगोरोड स्टेडियममा पहिलो क्वाटरफाइनल हुनेछ। नकआउट चरणमा उरुग्वेले पोर्चुगललाई २–१ ले र फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।

पोर्चुगलविरुद्ध निर्णायक २ गोल गरेका एडिन्सन काभानी फ्रान्सविरुद्ध खेल्नेमा अझै टुंगो लागेको छैन। उनी पिडौंलाको चोटका कारण फिट हुन संघर्षरत छन्। यदि उनले खेल्न नसकेमा अग्रपंक्तिमा क्रिस्टियन स्तुआनीले लुईस स्वारेजलाई साथ दिनेछन्। काभानी नहुने हो भने फ्रान्स तुलनात्मकरूपमा आजको खेलमा बलियो बन्न सक्नेछ।

जारी विश्वकपमा आयोजक रुस र पोर्चुगललाई पराजित गर्दा अपनाएको ४–४–२ को रणनीति उरुग्वेलाई फापेको छ। सम्भवतः फ्रान्सविरुद्ध पनि सोही रणनीतिमा उरुग्वेले खेल्नेछ। यता २ वटा पहेँलो कार्ड देखेका ब्लाइसे माटुइडी उरुग्वेविरुद्धको खेलमा फ्रेन्च टोलीमा हुनेछैनन्। उनको विकल्पका रूपमा कोरेन्टिन टोलिसोले खेल्ने सम्भावना छ।

फ्रान्सले पछिल्ला ८ म्याचमध्ये ६ मा जित र २ मा बराबरीको नतिजा आत्मसात् गरेको छ। तीमध्ये समूह चरण र अन्तिम १६ गरी ३ खेल समावेश छन्। त्यसक्रममा १९ वर्षीय क्लीयन एम्बाप्पेको अभूतपूर्व प्रदर्शनको चर्चासमेत चुलिएको छ। यस्तै पाउल पोग्बा र एन्टोइन ग्रिजम्यानको प्रदर्शनले सबैको ध्यान तानेको छ। यता पछिल्ला ७ खेलमा उरुग्वेले शतप्रतिशत जित हासिल गरेको छ। तीमध्ये पोर्चुगलविरुद्ध खेल्नुअघिका ६ खेलमा उरुग्वेले १ गोल पनि बहोरेको थिएन।

जारी विश्वकपमा उरुग्वेको ४–४–२ को रणनीति ‘डायमन्ड स्ट्राटेजी’ को रूपमा चर्चित बनेको छ। उरुग्वेको उक्त रणनीतिविरुद्ध फ्रान्सले ४–२–३–१ रणनीति अपनाउने सम्भावना छ। जसअन्तर्गत उरुग्वेविरुद्ध आक्रमणमा फरवार्ड ओलिभर जिरुडलाई अट्याकिङ मिडफिल्डरहरू क्लियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान र कोरेन्टिन टोलिस्सोले साथ दिनेछन्।

यता फ्रेन्च आक्रमणबाट गोलपोस्ट जोगाउन उरुग्वेका गोलरक्षक फर्नान्डो मुसलेरासहित डिफेन्डरहरू मार्टिन कसेरस, जोसे मारिया गिमिनेज, डिएगो गोडिन र डिएगो लाक्जाल्ट सतर्क रहनेछन्।
उरुग्वे भने चर्चित गोल मेसिन लुइस स्वारेज र क्रिस्थियन स्टुअनीको अग्रपंक्तिसहित चुस्त तालमेलका मिडफिल्डरहरू नाहितान नान्डेज, लुकास तोरिएरा, रोड्रिगो बेन्टाकर र माटियास भेसिनोको सहयोगले फ्रान्सेली रक्षापंक्तिलाई भत्काउने हरसम्भव प्रयास गर्नेछन्।

उरुग्वेको आक्रमणलाई निस्तेज पार्न र आवश्यकताअनुसार अग्रपंक्तिमा ओभरल्याप गर्न फ्रेन्च डिफेन्सिभ मिडफिल्डरद्वय पाउल पोग्बा र एन्गोलो कान्टे तयारी अवस्थामा मैदान देखिने छन्। फ्रेन्च टोलीको नतिजा मुख्यतः एन्टोइन ग्रिजम्यान, क्लियन एम्बाप्पे र पाउल पोग्बाको प्रदर्शनमा निर्भर हुनेछ। यस्तै उरुग्वे भने लुइस स्वारेज, एडिन्सन काभानी अथवा क्रिस्थियन स्टुअनी र डिएगो गोडिनको प्रदर्शनमा भर पर्नेछ।

क्लियन एम्बाप्पे

क्लियन एम्बाप्पे, जसले १९ वर्षको उमेरमा फ्रान्सलाई विश्वकपको क्वाटरफाइनल पुर्याउन मेसीसहितको अर्जेन्टिनाविरुद्ध २ गोल गरे। जारी विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले हराएको खेलमा उनले फ्रान्सका तर्फबाट २ गोल गर्दै सनसनी मच्चाएका थिए। १९ वर्षको उमेरमा विश्वकपमा २ गोल गर्दै उनले सर्वकालीन महान् खेलाडी पेलेको झझल्को दिलाएका छन्।

योसँगै उनले जारी विश्वकपमा आफ्नो गोल संख्या ३ पुर्याएका छन्। यसअघि समूह चरणअन्तर्गत पेरूविरुद्धको दोस्रो खेलमा उनले १ गोल गरेका थिए। उनले २ डिसेम्बर २०१५ मा वैकल्पिक खेलाडीका रूपमा लिग वानमा डेब्यू गरेका हुन्। उनले डेब्यू मात्रै गरेनन्, क्लबका महान् खेलाडी थिएरी हेनरीले क्लबबाट सबैभन्दा सानो उमेरमा खेल्ने खेलाडीका रूपमा बनाएको रकेर्डसमेत तोडे।

लिग वानमा डेब्यू गर्दा उनको उमेर १६ वर्ष ३ सय ४७ दिन मात्र थियो। एम्बाप्पे २०१६ मा जर्मनीमा भएको अन्डर १९ युरो कपका स्टारमध्ये एक थिए। उनले सेमिफाइनलका २ सहित ५ गोल गरेका थिए। कलिलो उमेरमै उनले २ वर्षको अन्तरालमा फ्रेन्च घरेलु फुटबल प्रतियोगिता ‘लिग वान’ का २ उपाधि जितेका छन्। गत सिजनमा मोनाकोबाट १ सय ८० मिलियन युरोमा पेरिस सेन्ट जर्मेन आएका उनी यो सिजनमा स्थायीरूपमा अनुबन्ध हुने लगभग निश्चित छ। सन् २०१७ देखि फ्रेन्च राष्ट्रिय टोलीमा सम्मिलित एम्बाप्पेले १९ खेलमा ७ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्