जापानी कप्तान हासिबीको संन्यास



टोकियो, (एजेन्सी)
जापानी राष्ट्रिय टोलीका कप्तान माकोतो हासिबीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन्।

३४ वर्षीय हासिबी जापानी डिफेन्सिभ मिडफिल्डर थिए। १२ वर्षदेखि हासिबी जापानको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए। ‘मैले राष्ट्रिय टोलीमा मेरो करियरको अध्याय सक्ने निर्णय गरेको छु।’ –हासिबीले सामाजिक सञ्जाल इस्टाग्राममा लेखेका छन्।

यसअघि सोमबार राति भएको विश्वकपको प्रि–क्वार्टरफाइनलमा जापान बेल्जियमसँग ३–२ ले पराजित भएको थियो। मंगलबार मिडफिल्डर केइसुकी होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।

‘राष्ट्रिय टिममा मेरो करियर टुंग्याउँदै छु’, होन्डाले भनेका छन्– ‘म खुसी छु किनभने हामीसँग राम्रा युवा खेलाडी छन्। जापानी फुटबलको इतिहास लेख्ने पालो अब उनीहरूको हो।’ होन्डाले सन् २००८ मा जापानको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। ३२ वर्षीय होन्डाले जापानका लागि ३७ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्