ठूला सपना बाँड्नुभन्दा स–साना काम गर



दुई तिहाइ बहुमतको दम्भका साथ देश र जनतालाई समृद्ध बनाउने उपयुक्त एजेन्डासहित अघि बढेको सरकारको आयु ५ महिना बित्न लागिसक्यो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ आमजनताको भरोसाप्रति यो सरकारले निकै आशा जगाएको पनि थियो । यो अवधिसम्म सरकारकले जति जोश–जाँगरका साथ गति बढाए पनि दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको र इमानदारिता देखाउन नसकेको आरोपहरु त्यत्तिकै आइरहेको छ ।

अझ पछिल्लो समय त मनलाग्दी भाषण मात्र गरेर हिँड्ने यो सरकारको आयु जति लामो हुन्छ उति नै देश र जनताको पतन चाँडै हुन्छ भनेर समेत बौद्धिक व्यक्तित्वहरुले तर्क गर्न थालिसके । सरकारको आयु लम्बिदै जाँदा वावाही पाउनुको सट्टा उल्टो आलोचना बढ्नुले सरकार इमानदारिताका साथ अघि नबढेको प्रस्ट्याउँछ ।

न्यायालयमा इमानदारिताको प्रतिमूर्तिको रुपमा परिचित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले त पत्रकार सम्मेलन नै गरेर सरकारको पछिल्लो क्रियाकलापबारे विश्लेषण गरी सामन्तीको कित्तामा गएको भन्दै यो सरकार खत्तम रहेको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल कमजोर रहेको फाइदा उठाउँदै दुई तिहाइको दम्भमा दलीय र व्यक्तिगत स्वार्थअनुसार मात्र अघि बढेको सरकार स्वतन्त्र एवम् बौद्धिक व्यक्तित्वहरुको सुझावसमेत सुन्न चाहँदैन ।

सरकार आफूले जे गरेको छ, त्यो नै देश र जनताको लागि सबैभन्दा राम्रो काम हो भन्ने भावनाका साथ अघि बढेको देखिन्छ । आफ्नो छोराको हत्यारालाई कार्वाही गरी न्याय पाऊँ भनेर आमरण अनशनमा बसेकी गंगामाया अधिकारी हुन् वा गरिबका छोराछोरीले पनि मेडिकल शिक्षा पढ्न पाऊन्, आमनागरिकले गुणस्तरीय स्वास्थ्य उपचार पाऊन् भन्ने माग राखेर आमरण अनशन बसेको प्रा.डा. गोविन्द केसी हुन्, कसैको आवाज सुन्दैन यो सरकार ।

आफ्नो दलीय स्वार्थलाई नै जनताको स्वार्थ सम्झने यो सरकारले यही ५ महिनाको अवधिमा ऐन कानुनबाट भन्दा पनि आदेशबाट धेरै काम गर्न खोजेको आरोप पनि लागिरहेको छ । सरकारले गर्नुपर्ने कामको प्राथमिकतालाई हेर्ने हो भने पनि यो सरकार आमजनताप्रति जिम्मेवार नभएको देखिन्छ । आमजनता महँगीको मारमा परेका छन् ।

किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । किसानले बिक्री गरेको मूल्य र उपभोक्ताले खरिद गरेको मूल्य २ सय प्रतिशतसम्म फरक छ । तलदेखि माथिसम्म बिचौलियाहरुको राज छ । बर्र्सेपिच्छे हुने प्राकृतिक प्रकोप न्यूनीकरणको लागि कुनै प्रभावकारी योजना छैन । सडकको अवस्था कस्तो छ, मतलब छैन । भूकम्पपीडितको समस्या अझै उस्तै छ । ठूला–ठूला सपना मात्र बाँड्नुभन्दा स–साना काम गरेमा आमजनता लाभान्वित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्