नाइजेरियाली कप्तानका पिता अपहरणमा



लन्डन, (एजेन्सी)
विश्वकप समहु चरणमा अर्जेन्टिनासँग खेल्नु अघि नाइजेरियाका कप्तान मिकेल जोन ओबीका पिताको अपहरण भएको खुलासा भएको छ ।

मिकेलले अर्जेन्टिनाविरुद्ध खेल्न स्टेडियम जानका लागि बस चढेको अवस्थामा बुबा अपहरणमा परेको खबर आएको बताएका छन् । परिवारका सदस्यले फोन गरेर बुबा अपहरण परेको बताएको र अपहरणकारीले फिरौती मागेको उनले बताएका छन् ।

स्टेडियम निस्कनेक्रममा पिता अपहरणमा परेको स्तब्धपूर्ण खबर भने उनले टोलीका अन्य सदस्यहरुलाई भनेका थिएनन् । नाइजेरियाको जोयस शहरबाट माकुर्दी इन्युगी राजमार्गमा गई रहेका बेला उनका पिता माइकल ओबी दक्षिण पूर्वी नाइजेरियाबाट अपहरणमा परेका बताएको छ । अपहरणमा परेको एक सातापछि नाइजेरियन प्रहरीले उनलाई अपहरण मुक्त गरेको थियो । मिकेलका पिता सोमबार दिउँसो अपहरण मुक्त भएका थिए ।

तर, त्यसक्रममा आफ्ना बुबाले धेरै यातना सहनुपरेको मिकेलले बताए । हाल उनका बुबाको अस्पतालमा उपचार भईरहेको छ । यो उनको बुबा अपहरणमा परेको दोस्रोपटक हो । यसअघि सन् २०११ को अगस्टमा पनि उनको पिताको अपहरण भएको थियो ।

मिकेलले आफ्ना बुबा अपहरणमा परेको पीडासँग जुध्दै अर्जेन्टिनाविरुद्ध पुरै ९० मिनेट मैदानमा बिताएका थिए । उक्त खेलमा अर्जेन्टिना २–१ गोलले विजयी भएको थियो । ‘मेरा बुबा अपहरणकारीको कब्जामा भएको बेलापनि पीडाहरु दबाएर मैले खेलेँ,’–मिकेलले भने ।

प्रतिक्रिया दिनुहोस्