सनसनी खेलमा बेल्जियम विजयी, जापानले इतिहास कोर्न सकेन



मस्को, (एजेन्सी)
सनसनी खेलमा एसियाली राष्ट्र जापानलाई पराजित गर्दै बेल्जियम रुसमा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एसियाली पावरहाउस जापानसँग २–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले ३–२ को जित निकाल्यो । खेलको ६८औं मिनेटसम्म जापान २–० ले अगाडि बढ्दा इतिहास रच्ने तरखरमा थियो । तर बेल्जियमले तीन गोल थपेर जापानलाई पाखा लगाएर अन्तिम आठमा ब्राजिलसँग खेल्ने पक्का ग¥यो ।

बेल्जियमको यो उत्कृष्ट पुनरागमन विश्वकपको नकआउट चरणमा दोस्रो पटक अवसर बनेको थियो । यसअघि १९७० विश्वकपमा नकआउट चरणको खेलमा पश्चिमी जर्मनीले इंग्ल्यान्डको २–० को अग्रतालाई लत्याएर ३–२ कै जित हात पारेको थियो ।

दुई–दुई गोलको बराबरीपछि अतिरिक्त समयमा उन्मुख उक्त खेलमा थपिएको ४ मिनेट इन्जुरीको समयको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले विजयी गोल गरेको थियो । स्थापन्न खेलाडी नासेर चाड्लीले विजयी गोल गरेका थिए । सोमबार राति पहिलो हाफ बराबरीमा सकिएको उक्त खेल पछिको ४५ मिनेटमा भएको ५ गोलले उत्कृष्ट खेलमा परिणत भयो ।

जापानले ४ मिनेटभित्र २ गोल गर्दै अप्रत्यासितरुपमा अग्रता लिएको थियो । जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा क्लोज रेन्जमा गोल गरेका थिए । यस्तै दवाबमा परेको बेल्जियमविरुद्ध ताकासी इन्युले ५२ औं मिनेटमा लंग रेन्जमा उत्कृष्ट गोल गरेका थिए । तर जापानले त्यो अग्रता लामो समय जोगाउन सकेन । उनीहरु विश्वकपमा पहिलो पटक क्वाटरफाइनल पुग्ने अवसर गुमाएर इतिहास कोर्न वंचित भए ।

त्यसका विरुद्ध बेल्जियमले पनि ५ मिनेटको फरकमा २ गोल गर्दै खेलमा फर्किएको थियो । खेलको ६९ औं मिनेटमा बेल्जियमका जन भर्टोगेनले हेडमार्फत् गोल गर्दै खेलमा फर्कने संकेत गरे । यस्तै स्थापन्न खेलाडी रोर्बेटो फेलाईनीले ७४औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको थियो । कप्तान इडेन हाजार्डको क्रसमा फेलाईनीले हेडमार्फत गोल गरेका थिए । नासेर चाड्लीले ९४ औं मिनेटमा गोल गरेपछि बेल्जियमले सनसनी जित हात पा¥यो ।

प्रतिक्रिया दिनुहोस्