म्याच प्रिभ्यु: कोलम्बियाविरुद्ध इंग्ल्याण्डको परीक्षा



समूह एच को विजेता कोलम्बियाले मंगलबार समूह जी को उपविजेता इंग्ल्याण्डविरुद्ध अन्तिम १६ को अन्तिम म्याच खेल्दैछ । उक्त खेल मस्कोको ओट्क्रिति एरिनामा हुनेछ । उक्त खेलमा कोलम्बियाका स्टार हेम्स रोड्रिग्वेज पिँडौलाको चोटका कारण मैदानमा नदेखिन सक्छ ।

यस्तै प्रशिक्षणमा फर्केका आबेल एगुइलर भने कोलम्बियाको सुरुवाती ११ मा अटाउने सम्भावना छ । यता फिट बनेका इंग्ल्याण्डका डेले अली र जोन स्टोन्स कोलम्बियाविरुद्ध सुरुवाती ११ मा अटाउन सक्नेछ । अलीले ट्युनिसियाविरुद्धको म्याच खेलेका थिए भने स्टोन्सले बेल्जियमविरुद्धको खेलमा पिँडौलामा दुखाइ महसुस गरेका थिए ।

इंग्ल्याण्डका फाबियन डेल्फ भने आफ्नो श्रीमती सहित घर फर्किसकेका छन् । यी दम्पति चाँडै नै अभिभावक बन्दैछ । कोलम्बिया पछिल्लो सात खेलमध्ये १ म्याचमा मात्र पराजित भएका छन् । जुन समूह चरणमा जापानसँग बेहोरेको २–१ को हार नै हो । यता पछिल्ला १२ म्याचमा अपराजित इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसंग मात्र पराजित भएको थियो । ती १२ खेलमा ह्यारी केनले ६ गोल गरेका छन् । जसमध्ये जारी विश्वकपमा मात्र ५ गोल गर्दै उनी गोल्डेन दावेदारको शीर्ष स्थानमा रहेको छ ।

इंग्ल्याण्डले ३–१–४–२ को रणनीतिमा खेल्ने सम्भावना छ भने कोलम्बियाले ४–२–३–१ रणनीति अपनाउन सक्नेछ । जसअन्तर्गत कोलम्बियाको गोलरक्षक डेभिड ओस्पीनासहित रक्षकहरु अरियस, मिना, सान्चेज र मोजिकालाई इंग्लिश अग्रपंक्तिका फरवार्डद्वय केन र स्टर्लिंग तथा आक्रामक मिडफील्डरहरु ट्रिप्पिएर, लिन्गार्ड, अली र योन्गले परिक्षा लिनेछ ।

विशेषतः इंग्लिश कप्तान केन कोलम्बियन रक्षापंक्तिको पहिलो निशाना हुनेछ । यस्तै कोलम्बियाका फरवार्ड राडामेल फाल्काओ, अट्याकिंग मिडफील्डरहरु क्वाद्राडो, क्विन्टेरो र मुरियलले पनि गोलरक्षक जोर्डन पिक्फोर्ड सहित वाकर, स्टोन्स र मागुइरेले रक्षात्मक इंग्लिस पर्खाल भत्काउने भरमग्दुर प्रयास गर्नेछ ।

इंग्लिश अग्रपंक्ति र रक्षापंक्तिलाई डिफेन्सिभ मिडफील्डर जोर्डन हेन्डरसनले तथा कोलम्बियाली आक्रमण र रक्षापंक्तिलाई डिफेन्सिभ मिडफील्डरहरु सान्चेज र उरिबेले सघाउने छन् । कोलम्बिया मुख्यतः फाल्काओ, क्विन्टेरो र मिनाको प्रदर्शनमा निर्भर हुनेछ भने तुलनात्मक सन्तुलित इंग्लिश टोलीको नतिजा भने विशेषतः केन, ट्रिप्पिएर र स्टोन्सको प्रदर्शनमा भर पर्नेछ ।

हेड टू हेड
यी दुवै टोलीले एकअर्का विरुद्ध ५ पटक खेलेका छन् । जसमध्ये इंग्ल्याण्डले ३ पटक खेल जित्दा २ पटकको खेल बराबरीमा टुङ्गिएको छ । यसक्रममा इंग्ल्याण्डले १० गोल गर्दा कोलम्बियाले ३ गोल मात्र फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्