दुनु सोझ्याएर श्रेष्ठ बन्ने कसरत



-दामोदर पौडेल
एमाले र माओवादीको एकीकरण भएलगत्तै नेपालमा पहिलोपटक एक दलमा दुई अध्यक्षको व्यवस्था भएको छ । यसले एक–अर्काप्रतिको अविश्वास र एक–अर्कोभन्दा कम हुन नचाहने प्रवृत्तिलाई नै देखाउँछ । सम्भवतः दलका कार्यकर्ताहरुलाई चित्त बुुझाउन पनि त्यसो गरिएको हुन सक्छ । यद्यपि प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अब आएर महत्वाकांक्षा कम हुँदै गएका व्यक्तिजस्तो लाग्दछन् । शिखरको पदमा बाँचुन्जेल बस्ने वा अपदस्त हुने कम्युनिस्ट सत्ता भएका देशहरुको अपवादबाहेकको परिदृश्य हो ।

दुई अध्यक्षको व्यवस्थाले यो संकेत गर्दछ तर यसलाई कमसे कम महाधिवेशनले उचित सम्बोधन गर्नेछ । तल्लो निकायमा अझै मन मिलिसकेको छैन । त्यहाँ व्यवहारमा एमाले र माओवादी नै छन् । त्यसैले तल्लो निकायसम्म पनि पहिलाको दुई दलकै पूर्वकेन्द्रीय नेताहरुलाई कमसे कम स्थानीय तहसम्म जाने व्यवस्था गरेर नै पार्टी एकीकरणलाई वास्तविक धरातलमा मूर्तरुप दिन आवश्यक छ ।

प्राविधिकरुपमा भने विजयपछि पदको लागि विवाद भएर दल फुट्ने गरेकोमा नेपालमा कम्युनिस्टहरु विजयपछि एक भएर उदाहरण पनि बनेका छन् । उनीहरुले देशको उन्नति र जनताको हितको लागि बाचा गरेअनुसार हुने हो भने देशमा अब केही सकारात्मक कार्य हुने आशा गर्न सकिन्छ । तर दोस्रो ठूलो नेपाली कांग्रेस दलका नेताहरुको मनस्थित भने फरक देखिएको छ ।

उनीहरु दलले जिते मेरो नेतृत्वमा चुनाव जितेको हुँदा मै नेता रहिरहनुपर्दछ भन्ने र हारेमा मेरो समयमा हार भएकोले दललाई राम्रो अवस्थामा नलगेसम्म म नै नेतृत्वमा बस्छु भन्ने मानसिकता लिएको देखिन्छ । जिन्दगीभरि सत्तामा रही नेतृत्व गर्ने मानसिकता लिने स्कुलिङबाट आएका कम्युनिस्टहरु विजयपछि पनि पद छोड्न पर्ने वास्तविकतालाई आत्मसात् गरिरहेका छन् । कांग्रेसले सैद्धान्तिकरुपमा पद त अस्थायी हो भन्ने मान्यता राख्ने भए पनि व्यवहारमा पद नै दलको हितभन्दा पनि ठूलो मानिएको देखिएको छ । कम्युनिस्टहरुबाट कांग्रेसले सिक्नुपर्ने पाठ यो पनि हुन सक्छ ।

माक्र्सवाद र लेनितवादलाई मात्र मार्गनिर्देशक मान्ने नयाँ कम्युनिस्ट पार्टीको धारणाले अब स्टालिन, माओसमेतको विचारलाई परोक्षरुपमा त्यागेकै भन्ने देखिन्छ । स्टालिन र माओ अपेक्षाकृत तानाशाही रहेको इतिहासले देखाएकोमा उनीहरुको विचारलाई परोक्षरुपमा त्यागेको देखिनु सकारात्मक र लोकतान्त्रिक पक्ष हो । अर्कोतर्फ कांग्रेसमा एमाले र माओवादी एक भएपछि एकदलीयता आउने भविष्यवाणी गर्नेहरु पनि देखिएका छन् । उनीहरुले भुलेकै हुनुपर्दछ कि लोकतन्त्र भनेको सिद्धान्तभन्दा बढी डेलिभरी हो । सामान्य जनताले सिद्धान्तको कुरा बुझ्दैनन् र नेताहरुले गरेको कामको आधारमा नै प्रायः नेता चुन्छन् ।

लोकतन्त्रको माध्यमबाट सत्तासीन कम्युनिस्ट पार्टीले एकदलीय तानाशाही ल्याउन जनताले मत दिनुपर्दछ । जनतामा कांग्रेस भन्नेले राम्रो गर्न सकेन भन्ने नै सन्देश गएपछि एकदलीयता आउँछ भन्नु बहुदलीयताको संरक्षण गर्ने नाममा हामीलाई बेइमानी गर्न छुट देऊ भनेजस्तै हुन जान्छ । अर्थात् राम्रो गरौं र जनताबाट स्थापित होऊँ भन्ने मानसिकता लिएर कम्युनिस्टको विरोध गरेकै भरमा स्थापित होऊँ भन्ने मान्यता कांग्रेसले छोड्न सक्नुपर्दछ । अन्यथा कांग्रेसले अझै कठिनाई भोग्न पर्न सक्दछ । कांग्रेसको सरकार हुँदा सांसद खरिदबिक्रीदेखि राजालाई लोकतन्त्र बुझाउने कार्य हनु लोकतान्त्रिक होइन । यस्तो कुराको पृष्ठपोषण गर्ने कार्यले प्रोत्साहन पाउनु भनेको कांग्रेसको लागि शुभसंकेत पनि होइन ।

यद्यपि ओलीले भनेका छन् कि कांग्रेस लोकतान्त्रिक विपक्षको रुपमा आवश्यक छ र लोकतन्त्रमा विपक्षी चाहिन्छ । शायद कांग्रेसलाई जीवित राख्ने कार्य पनि ओली–प्रचण्ड नै मिलेर गर्नुपर्ने भयो भने यस अवस्थाको कांग्रेसको चाल हेरेर अन्यथा मान्नुपर्दैन ।
एमाले र माओवादीको एकताको घोषणामा बहुलवादप्रतिको आस्था, राजनीतिक प्रतिस्पर्धाप्रतिको अविचलित भावनाले उनीहरु लोकतन्त्रको विपक्षमा जाने अवस्था देखिँदैन । यद्यपि प्रतिपक्ष अत्यन्त भ्रष्ट भएमा र जनताबाट टाढिएमा देशमा एक प्रकारको बहुदलीय व्यवस्थाअन्तर्गत नै एकदलीय अभ्यास हुन सक्छ । मानवीय स्वभाव नै पद र प्रतिष्ठाप्रति लालायित हुने हुँदा माक्र्स सर्वहाराको अधिनायकवादको पक्षमा रहेको र यसैलाई समेत उनले उन्नत लोकतन्त्र आदि भनेकै हुन् तथा लेनिनले देशमा एउटा मात्र दल रहनुपर्ने वा हुनेसमेत भनेकै हुन् । त्यसैले अरु सकारात्मक विषय छोडेर एकदलीयतामा जाने सोचको विकास पनि हुन सक्छ । जनताले पनि अयोग्य प्रतिपक्षीलाई बोझ मान्न सक्छन् ।

तर कम्युनिस्ट पार्टीहरुले बुझ्नै पर्दछ कि ब्राजिलका प्रख्यात कम्युनिस्ट समर्थक वा कम्युनिस्ट भनिने इमानदार नेता लुला डिसिल्भा राष्ट्रपति बनेपछि भ्रष्टाचारमा मुछिए । क्युबाका क्यास्टो पनि विलासी कार्यको लागि चर्चामा आउँथे ।

तर उनीहरुमध्ये लोकतन्त्र मानेकोले लुला सत्ताबाट बाहिर रहनुप¥यो तथा भ्रष्टाचारको आरोप खेप्नुप¥यो भने क्यास्टोसमेत धेरै नेताहरु ती देशमा बहुदलीयता नभएकोले सधैँ सत्तामा नै रहे । मानवीय कमजोरीलाई ध्यान दिएर बहुदलीयता र बहुलवादलाई आफ्नो आदर्श निरन्तर मान्न नेपाली कम्युनिस्टहरुले आवश्यक छ ।
वास्तवमा नै राम्रो कामलाई नराम्रो गर्नेहरुले विरोध गर्दैमा जनताले नराम्रो गर्नेलाई पत्याउँदैनन् र एकदलीयताको बाटोमा जाँदा गल्तीको प्रतिकार गर्न दलबाहिर र भित्र नै कठिन हुन्छ भन्ने तथ्यलाई सबैले आत्मसात् गर्न जरुरी छ ।

ओलीको बहुलवादप्रतिको आस्था र दाहालले एकदलीयतामा हुने मनोटनसको अवस्था ठीक होइन भन्ने धेरै वर्ष पहिला दिएको अभिव्यक्तिले निरन्तरता पाउन पनि आवश्यक छ ।

कार्लमाक्र्सले भनेको भन्दै उद्धृत गरिएको थियो कि हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौं, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन् । यहाँ त्यस्ता पनि कम्युनिस्टहरु छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन् । उनीहरुको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ । तर हामी कुन कुरामा प्रस्ट छौं भने, वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सद्भाव बढाउन सकिँदैन ।


प्रचण्डले जनमुक्ति सेनालाई देशको सेनामा प्रवेश गराएपछि सेनालाई कब्जा गरेर देशमा आफ्नो शासन लगाउन सकिन्छ भन्ने सोचेका थिए । त्यस समयमा राजस्वलाई विकास र सबै जनताको हितमा प्रयोग गरेर जनताको मन जित्नुपर्दछ भन्ने सोच राखेको भए शायद उनको त्यस समयको दल पछिको चुनावमा देशको अझ ठूलो दल बन्न सक्ने थियो ।


एउटा यस्तो प्रजातात्रिक राज्य स्थापना हुनुपर्दछ, जहाँ सबै राजनीतिक दलहरु नीति र विचारका आधारमा आफूलाई श्रेष्ठ साबित गर्न सकून् र आफ्नो पक्षमा बहुमत पु¥याउन सकून् । माक्र्सको यो भनाइले पूर्ण लोकतन्त्रलाई आत्मसात् गर्दछ । तर कम्युनिस्ट पार्टीको घोषणापत्रमा त्यस्तो देखिँदैन । त्यसैले लोकतन्त्र वा वास्तविक लोकतन्त्र जसलाई उन्नत लोकतन्त्र, गरिबको लोकतन्त्र आदि नाम दिएर संकुचित गर्न प्रयास नगरी विश्वव्यापी मान्यतामा आधारित लोकतन्त्रको पक्षमा रहने प्रतिबद्धताले लोकतन्त्र मान्दैनन् कि भन्ने अविश्वास हट्नेछ र अन्ततोगत्वा यसले त्यही दलका नेता, कार्यकता, देश र समाजलाई पनि फाइदा हुनेछ । अन्यथा माक्र्स वा लेनिन वा माओ आदिका विचार भनेर परस्पर विरोधी भनाइहरुमा प्रशस्त खेल्न र जनतालाई भ्रममा राख्न सकिनेछ । जनताको ब्रेनवास गरेर उनीहरुबाटै सबैभन्दा राम्रो व्यवस्थाको नाम यही हो भनेर भनाउन सकिन्छ । यद्यपि त्यसमा कुनै सत्यता नहोस् ।

शायद त्यसैले एक विद्वान्ले भनेका छन् कि मलाई साठी लाख सेना दिइयोस्, विश्वभरका जनतालाई माइनस सय डिग्री तापक्रममा चिया पाक्छ भन्ने बनाउन सक्छु । तर उनीहरुलाई चिया उमाल्न भने तातो नै चाहिनेछ र उनीहरुले आगो नै प्रयोग गर्नेछन् । यो मूल मन्त्रलाई सबैले ध्यान दिन आवश्यक छ ।

इतिहास साक्षी छ कि ठूलो जनसमर्थन पाएका प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानसेनापति, पुजारी आदिमा ध्यान दिएर सत्ता कब्जा गर्न चाहे । प्रचण्डले जनमुक्ति सेनालाई देशको सेनामा प्रवेश गराएपछि सेनालाई कब्जा गरेर देशमा आफ्नो शासन लगाउन सकिन्छ भन्ने सोचेका थिए । त्यस समयमा राजस्वलाई विकास र सबै जनताको हितमा प्रयोग गरेर जनताको मन जित्नुपर्दछ भन्ने सोच राखेको भए शायद उनको त्यस समयको दल पछिको चुनावमा देशको अझ ठूलो दल बन्न सक्ने थियो ।

इतिहासबाट सिकेर विकास, विकेन्द्रित सुविधा, जनताका आधारभूत आवश्यकताको परिपूर्ति, प्रशासनिक खर्चमा कमी, भ्रष्टाचारको अन्त्य गर्दै लोकतन्त्रको माध्यमबाट श्रेष्ठ दल बन्ने कार्य भएमा अर्को श्रेष्ठ दल बन्न कम्युनिस्ट पार्टीभन्दा इमानदार बन्न पर्नेछ र त्यो राम्रो कुरा हुनेछ । अर्कोपटक पुनः श्रेष्ठ बन्ने कसरत भई नै रहनेछ । त्यसैले त अमेरिका, जापान आदि देशमा राम्रो विकास भएको छ ।

उनीहरुले एउटा दलले राम्रो गरे अर्कोले अझ राम्रो गर्ने मान्यता लिन्छन् भन्ने सोच राखेको कारणले नै मूलरुपमा कोही विकासको आइकोन नदेखिए पनि ती देशहरुमा विकास भएको छ । अर्थात् कुनै आइकोनले होइन, जनताले नै देशको विकास गरेको अनुभूति गराउने परिपाटीमा भएको विकास नै वास्तविक र स्थिर विकास हुन्छ । यो तथ्यलाई समेत नेपाल कम्युनिस्ट पार्टी र कांगे्रससमेतका दलहरुले सोचून् । जनतालाई भावनामा बगाएर मत लिन सकिन्छ तर देशको विकासको लागि सबै साथ हिँड्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्