पेनाल्टीमा क्रोएसियाले मार्यो बाजी



मस्को, (एजेन्सी)
रसियामा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा क्रोएसियाले डेनमार्कविरुद्धको खेलमा टाईब्रेकरमा बाजी मारेको छ ।

आइतबार राति भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समय र थप गरिएको ३० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट विजेताको टुंगो लागेको हो । पेनाल्टी सुटआउटमा क्रोएसियाले डेनमार्कलाई ३–२ गोलले पराजित गर्न सफल भयो । टाईब्रेकरमा क्रोएसियाका गोलरक्षकले तीन गोल छेकेका थिए भने डेनिस गोल गोलरक्षकले दुई गोल बचाएका थिए ।

डेनमार्क र क्रोएसियाले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका थिए । डेनमार्कले खेलको ५८ सेकेण्डमै गोल गर्दै १–० गोलको अग्रता बनाएको थियो । डेनमार्कका लागि माथियस यर्गेन्सेनले गोल गर्दै अग्रता दिलाएका थिए ।

डेनमार्कले गोल गरेको ३ मिनेटपछि नै क्रोएसियाले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएको थियो । क्रोएसियाका लागि मारियो मान्डुजुकिकले गोल गरेका थिए । खेलको अतिरिक्त समय सकिन ७ मिनेट बांकी रहेको अवस्थामा भने क्रोएसियाले पेनाल्टी हान्ने अवसर पायो ।

तर क्रोएसियाली कप्तान लुका मोड्रिचको प्रहारलाई डेनिस गोलरक्षक स्माइलकलले उत्कृष्ट ढंगले बचाएका थिए । सेमिफाइनल प्रवेशका लागि क्रोएसियाले अब आयोजक रसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्