विद्यालयमा व्यवस्थापन पक्षको महत्व र उत्तरदायित्व



ओमशंकर श्रेष्ठ,
शिक्षाको महत्व नबुझ्ने अहिले संसारमा सायदै कोहि होलान्। तर समय परिस्थिती अनुसार शिक्षाको स्वरुप , तरिका , श्रोत, साधन , पाठ्क्रम , नीति , लक्ष, योजना , पायपुस्तक र तिनीहरूका विषयवस्तु , कार्यान्वयन विधि तथा जनशक्ति परिचालन जस्ता क्षेत्रहरूमा व्यापक परिमार्जन हुँदै गइरहेका छन् र हुनु आवश्यक पनि।

नेपालको वर्तमान अवस्थामा शिक्षालाई सिपमुलक र व्यावहारिक लगायत अन्तर्राष्ट्रिय प्रतिस्पर्धातमक बनाउने भरमग्दुर प्रयास भइरहेको देखिन्छन्। यसमा सरकारी , गैर सरकारी , अन्तर्राष्ट्रिय गैर सरकारी तथा अन्य दातृ निकायहरूको त्यतिकै सक्रियता र संलग्नता पनि रहँदै आएको छ। निजी क्षेत्रको समेत लगानी , चासो र र सरोकार रहेको नेपालको शिक्षा क्षेत्रमा पछिल्ला समयमा सामुदायिक बिद्यालयले पनि शैक्षिक गुणस्तरका लागि गरेका अथक प्रयास र मिहेनतको कारण औसतमा केहि हदसम्म सरकारी शिक्षा बजेट त्यसै खेर गइरहेको भन्ने आम गुनासो मसिनो हँुदै गएको महशुस गर्न सकिन्छ।

कुनै पनि बिद्यालयको गुणस्तर , दिगोपना र सम्वृद्धिका लागि त्यसको बिद्यालय प्रशासन र व्यवस्थापनको पनि अहम भुमिका हुने गर्दछ। यसका लागि केहि सुझाव यसरी दिन सकिन्छ।

बिद्यार्थी र अध्यापनमा परोक्ष र अपरोक्ष प्रभाब ः
बिद्यालयको भौतिक पुर्वाधार लगायत शिक्षक तथा कर्मचारीहरूको जतिसुकै राम्रो योग्यता र दक्षता भएपनि व्यवस्थापन र प्रशासनको सही नेतृत्व बिना सबद्यालयको स्थिती क्याप्टेन नभएको जहाज जस्तै हुनेछ। कुशल , बैज्ञानिक तथा आधुनिक बिद्यालय व्यवस्थापन र चुस्त , निष्पक्ष र योग्य प्रशासनले मात्र सन्तुलित र स्वस्थ अध्यापनको वातावरण सिर्जना गर्न सक्दछन्। त्यसका लागि व्यवस्थापन समितीका अध्यक्ष देखि प्रधानाध्यापक सम्मको नियुक्ति र चयनमा वैधानिकता , निष्पक्षता , राजनीतिक पुर्वाग्रहरहित , वरिष्ठता , योग्यता , निस्वार्थ सेवा भावना , दाग रहित नैतिक आचरणमा जोड दिइनु पर्दछ। बिद्यालयलाई केहि दिन भन्दा त्यहाँबाट केहि लिने निहित र तुच्छ स्वार्थ बोकेका तथा समाजमा विगतमा कुनै उपलब्धिमूलक र सम्मानजनक योगदान र पहिचान नभएका व्यक्तिहरूलाई त्यसता उच्च र स्रवेदशिल ओहदामा पुर्याइयो भने बिद्यालयको प्रगतिको कदापि कल्पना गर्न सकिन्न।

सहि व्यक्तिलाई सहि स्थान

विषयगत रुपमा मात्र दक्षताको आधारमा शिक्षकहरूलाई अध्यापनको मौका दिइनु पर्दछ। बिज्ञानमा उच्च शिक्षा हासिल गरेकालाई अंग्रेजी विषय अध्यापन गराइनु गलत मात्र नभई त्रुटिपुर्ण व्यवस्थापन मान्न सकिन्छ। साथै आफ्ना मान्छेहरूलाई समन्धित ज्ञानबिना नै अनावश्यक विभागमा भर्ति गराई नातावाद , कृपावादलाई प्रशय दिइनु हुन्न। यस मामिलामा विशेष रुचि , दखल , प्रतिभा र ज्ञान भएका बिद्यार्थीहरूको समेत पहिचान गरी तिनीहरलाई बिभिन्न अभियान जस्तै वातावरण , संस्कृति , साहित्य , भाषा , विज्ञान र खेलकुदमा परिचालन गर्न सकिन्छ। बिद्यालय भनेको पेट पाल्न जागिर खाने वा व्यपार गर्ने स्थान नभएकाले आफ्ना चिन्ने जान्नेलाई जागिर ख्वाउने काममा प्रशासन र व्यवस्थापनले मरिमेट्नु हुन्न।

नियमित अनुगमन , पृष्ठपोषण र प्रोत्साहन तथा पुरस्कार

बिद्यलाय जस्तो ठूलो संस्थामा ठूलो संख्यामा शिक्षक तथा कर्मचारी कार्यरत रहने भएकाले मिहेनत गरी अनुशाहित ढंगले काम गर्ने र प्रशासन र व्यवस्थापनको नजिक रहेर चाकडी र चापलुसी गरी अघि बढ्नेहरूको पहिचान र नियमित अध्ययन अध्यापनको अनुगमन गरी आवश्यक रुपमा बिद्यार्थी लगायत शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन र पृष्ठपोषण दिइनु पर्दछ। पदोन्नोति र पुरुस्कार प्रमुख आधार योग्यता , वरिष्ठता , लगनशिलता र सिर्जनशिलतालाई बनाइनु पर्दछ। टिमवर्कलाई जोड दिँदै गुटवन्दि र अराजक स्थितीलाई निरुत्साहित गरिनु पर्दछ। कोहि मरीमरी काम गरिरहने र कोहि बसीबसी कोहि चाट्ने भयो भने कुनैपनिबेला विरोधको भयावह विस्फोट हुनसक्छ।

भ्रष्टाचार नियन्त्रण र रोक

आर्थिक तथा नैतिक भ्रष्टाचार गर्नेहरूमा खाने मान्छेलाई जुँगाले छेक्दैनन् भन्ने उखान चरितार्थ हुन्छ। पाठ्यपुस्तक , स्टेसनरी सामान , बिद्यार्थीहरूको पोशाक , टाइपेटी , ट्रयाकसुट , क्यान्टिन र परिक्षा संचालन , शैक्षिक भ्रमण , निर्माण तथा मर्मत संभार, आवशयक अन्य वस्तुहरूको खरिद बिक्री देखि विविध भैपरी खर्चमा समेत लेखा , आर्थिक समिती , अडिटर र टेन्डरदाता सम्म मिलोमतो गरी प्रत्यक्ष र अप्रत्यक्ष भ्रष्टाचार हुन सक्छन्। अझै यस्ता कार्यसम्बन्धी माथिल्लै निकायमा उजुरी परेकै खण्डमा पनि राजनीतिक शक्ति , भनसुन र कमिसन तथा घुसबाट भ्रष्टाचार सामसुम पार्न कागजी सेटिंग हुने संभावना धेरै रहन्छ। यसका लागि प्रशासन र व्यवस्थापन पक्ष निकै सचेत रहनुपर्ने हुन्छ। दुवैले एकले अर्कालाई जाँच्ने र निगरानी राख्ने गर्दा पनि यस्ता अर्थिक चुहावट रोक्न सकिन्छ।

पारदर्शिता र नैतिक अनुगमन , अभिव्यक्ति स्वतन्त्रता

बिद्यालयमा आइपर्ने अप्ठयारा समय र विषयमा मात्र बैठक बस्ने र अन्य सिमित व्यत्तिलाई फाइदा हुने विषयलाई भने गोप्य राख्ने थुपै्र बिद्यालय छन्। यसबाट एकताको भावना मासिन पुग्छ। साथै शिक्षक तथा कर्मचारीहरूमा विरोध र असन्तुष्टिको भावना जन्मिन्छ। बैठकहरूमा पनि जायज आवाज उठाउने हरूलाई प्रशासन र व्यवस्थापनको विेराधिको रुपमा नहेरी उठेको आवाजको कदर र आवश्यक सुनुवाई गरी अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिनु पर्दछ। बिद्यालयमा बिद्यार्थी , शिक्षक शिषिका वा कर्मचारीमाथि यौन उत्पीडन र शोसन भइरहको पहिचान गरी त्यसको सही समाधान गरी दोषिलाई आवश्यक कारवाही गरिनु पर्दछ।

अनुशासन र अतिरिक्त क्रियाकलाप

अनुशासन भन्ने शब्द बिद्यार्थीहरू माथि मात्र लक्षित र केन्दि«त नगरी त्यसलाई प्रधानाध्यापक , व्यवस्थापन समिती , शिक्षक तथा कर्मचारीहरूलाई पनि अनिवार्य ढंगले पालना गराइनु पर्दछ। कुनै पनि विद्यालयको अस्तित्वको मेरुदण्ड नै अनुशासन हो भन्ने बुझ्नु पर्दछ। विगतमा जस्तै शिक्षा किताबी ज्ञानमा मात्र सिमित रहेको स्थिती अहिले छैन। बिद्यार्थीहरूको सर्वागिण व्यक्तित्व विकासका लागि तिनीहरूलाई नियमित रुपले खेलकुद , हिज्जे , वादविवाद , संगीत , साहित्य तथा चित्रकला र विज्ञान प्रदर्शनी जस्ता क्रियाकलापमा भाग लिन लगाइनु पर्दछ।

पुरस्कार र प्रोत्साहन

राम्रो काम गर्न नसक्नेहरूलाई राम्रो गर्न लगाउन र राम्रै काम गर्दै आएकाहरूलाई अझै राम्रा काम तर्फ अग्रसर गराउन विद्यालय प्रशासन र व्यवस्थापनले समय समयमा बिद्यार्थी , शिक्षक शिक्षिका तथा कर्मचारीहरूलाई पुरुस्कार र प्रोत्साहनको व्यवस्था गरिरहनु पर्दछ। अझै बिद्यालय परिवारलाई बिद्यालय प्रति भावनात्मक समबन्ध वृद्धि गराउन बोनस र अन्य सुविधाहरू पनि दिइनु पर्दछ। विशेष गरी निजी ढंगले संचालित बिद्यालयहरूमा लगानीकर्ता अर्थात संचालकले मा समपुर्ण मुनाफाको मज्जा लिने तर अन्य शिषक तथा कर्मचारीहरू कम तलब सुबिधामा अहोरात्र खटिरहुनपर्ने हुँदा तिनीहरूको असन्तुष्टि र विरोधको नकारत्मक असर बिद्यार्थीहरू माथि पोखिने गरिएको पाइएको छ। साथै शिक्षक तथा कर्मचारीहरूलाई जागिरको ग्यारेन्टि दिएर तिनीहरूलाई असुरक्षित भावनाबाट पिडित हुनबाट रोकनु पर्दछ।

नेतृत्वदायी शिक्षा

विगतमा जस्तै बिद्यार्थीलाई चुँइक्क बोल्न नदिई अर्थात शिक्षकले मात्र एकहोरो बोलेको सुनिने कक्षाकोठालाई अचेल बैज्ञानिक मानिन्न। बिद्यार्थीहरूलाई व्यवहारिक र प्रयोगत्मक शिक्षा दिएर तिनीहरूलाई बहिमुर्खी र सक्रीय व्यक्तित्वको विकास गर्ने मौका दिई हरेक क्षेत्रमा नेतृत्व गराइनु पर्दछ।

कक्षाकोठाको उचित व्यवस्थापन र शिक्षण सामग्री

अहिले पहिले जस्तो परम्परागत प्रयोगशाला र पुस्तकालमात्र व्यवस्था गरेर पुग्दैन। तिनीहरूलाई समेत नयाँ प्रविधिको अर्थात डिजिटलयुक्त गरिनु आवशयक छ। सम्भव भए सम्म सम्पुर्ण जनशक्तिलाई ल्यापटपको वयवस्था गरी कक्षकोठा सम्म त्यसको पहुँच पुर्याई विद्यार्थीहरूलाई विभिन्न एप्स र साइट प्योग गरी अध्ययन र अध्यापन गराइनु पर्दछ। बिद्यालयका कक्षाकोठमा सरसफाई र राम्रो प्रकासको व्यवस्था हुनुपर्दछ। साथै बिद्यार्थी संख्याको अनुपातमा पुग्नेगरी सफा तथा अत्याधुनिक शौचालयको व्यवस्था गरिनु पर्दछ। तर विडम्वनाको कुरा स्थलगत निरिक्षण गरिने हो भने नेपालका थुपै्र बिद्यालयमा योग्य लाइवे्ररियन , नयाँ संस्करणका पुस्तक तथा सहायक पुस्तकहरू र खेलकुदका सामग्री र खेल्ने मैदान र अन्य आवश्यक पुर्वाधारको अभाब रहेको पाउने छौं।

(लेखक विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर , काठमाडौंका भाइस प्रिन्सिपल हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्