विद्यालय चयनमा चनाखो हुन अपरिहार्य



केशरमान श्रेष्ठ,
एउटा असल गुरुले प्रेरणा दिन्छ। शिक्षा क्षेत्रमा चलेको एउटा चर्तित वाणी हो यो। तर नेपालमा अभ्यास भइरेहका शिक्षा प्रणालीले त्यस्ता शिक्षक खोज्न गाह्रो बनाइदिएको छ। एसईई फलामे ढोका पार गरेर आएका विद्यार्थीमा अहिले उच्च शिक्षाको उत्साह र उमंग होला तर त्यो कथित ढोकाबाहिरै बस्न बाध्य भएकाका लागि यो समय कठिन बनिरहेको होला। ती विद्यार्थीले हरेक दिन २ देखि ३ घन्टा बसेर आवश्यक न्यूनतम ग्रेड हासिल गर्नु अनिवार्य छ।

वास्तवमा एसएलसीलाई फलामे ढोका भनिए पनि करिअर निर्माणको दृष्टिकोणले उच्च माध्यमिक शिक्षाको भूमिका निर्णायक हो। यो स्तरको शैक्षिक स्तरले नै विद्यार्थीको भावी गन्तव्य तथा लक्ष्य निर्धारण हुन्छ। एसएलसीको पढाइलाई ठूलो उपलब्धि ठानेर उच्च माध्यमिक शिक्षाको पढाइमा खेलाची गर्ने विद्यार्थी लक्ष्यविहीन बन्न पुगेका धेरै उदाहरण हाम्रा वरपर छन्। यसमा उच्च माध्यमिक शिक्षा पढ्न योग्य हुनुमा ठूलो गौरव महसुस गरिरहेका विद्यार्थीको मात्र नभई उनीहरूले अध्ययनका लागि चयन गरेको विद्यालयको शैक्षिक वातावरण पनि त्यत्तिकै जिम्मेवार हुन्छ। त्यस अर्थमा पनि विद्यालयको छनोटमा विद्यार्थी तथा अभिभावक चनाखो हुनुपर्ने अपरिहार्य देखिन्छ।

हाम्रो समाजमा पढ्नेलाई जस्तो स्कुल भए पनि फरक पर्दैन भन्ने कथन छ। वास्तवमा त्यो सही पनि हो, तर विद्यार्थीको हकमा त्यो स्तरको परिपक्वता नहुने सम्भावन प्रवल हुने भएकाले त्यसलाई राम्रो आधार मान्न सकिँदैन। प्रायः विद्यार्थी पढाइका क्रममा विद्यालयलाई साथीको जमघट हुने र रमाइलो गर्ने स्थलका रूपमा लिने हुन्छन्। कोही शुरूमा पढाइप्रति संवेदनशील जस्तो देखिए पनि विद्यालयभित्र र साथीबीचको वातावरणमा उनीहरूको पढाइप्रतिको संवेदना क्षिण भएर जाने गर्छ। यस अर्थमा पढ्ने विद्यार्थीकै लागि पनि विद्यालयको चयनले महत्व राख्छ। उचित विद्यालय चयन विद्यार्थीको व्यक्तित्व निर्माणका लागि सबैभन्दा अहंम विषय हो।

विद्यालय आफैंमा शिक्षा हासिल माध्यम मात्र हो, सिक्ने काम विद्यार्थी आफंैको हो। कसैले कसैलाई सिकाउन सक्छ भन्नु भ्रम मात्र हो। तर विद्यार्थीको सिक्ने क्षमतालाई शिक्षक, विद्यालय, अभिभावक र उसका साथीहरूसँग संगतको वातावरणले निश्चितरूपमाा अहंम भूमिका खेलेको हुन्छ। यसमा कुनै विवाद छैन। विद्यालय चयनमा विद्यार्थीको पहिलो प्राथमिकता राम्रा नतिजाका लागि चर्चामा रहेका उत्कृष्ट विद्यालय हुनुपर्छ।

राम्रो वातावरण र प्रभावशाली शिक्षकको जमघट भएको विद्यालय पक्कै पनि छनोटको प्राथमिकतामा पर्नुपर्छ। तर ती विद्यालयले पनि विद्यार्थीलाई वर्षभरि पढाएर परीक्षाका लागि नै तयार गरिदिने हो। नेपालमा शिशु कक्षादेखि नै परीक्षाका नाममा छुट्याइएको यो १, २ वा ३ घन्टाले अत्यन्तै महत्व राख्छ। कथंकदाचित अरू समयमा राम्रो मेधावी भएर पनि यो सानो अवधिका लागि कुनै गडबडी आयो भने ऊ असफल हुने प्रवल हुन्छ। हामी त्यो अवधिको प्रश्नपत्रमा रहेका प्रश्न जसरी पनि, विशेषगरी कण्ठस्त गरी, उचित जवाफ दिन सक्ने गरी बन्नु नै हो। त्यसैले पनि कुनै विद्यार्थीका लागि नाम, दाम र प्रतिष्ठा कमाएकै विद्यालय अनिवार्य होइन। तर शिक्षणको यो संवेदना सायदै मात्र विद्यार्थीमा आउन सक्ने भएकाले गलत विद्यालयको चयन एउटा मेधावी वा मेहेनती विद्यार्थीका लागि खतरा बन्न सक्छ।

यसका लागि निजीस्तरका विद्यालयले प्रशस्त लगानी गरेर शिक्षाको बजारमा एकाधिकार कायम गर्ने अभ्यास भइरहेको छ। अर्कोतिर प्रायः निजी विद्यालयमा भरिभराउ भएपछि र आर्थिकरूपमा विपन्न अवस्था वा पढाइप्रति संवेदनशीलताको कमी भएका विद्यार्थीलाई कुर्नुपर्ने बाध्यता छ, सामुदायिक विद्यालयलाई। कम शुल्कमा उत्कृष्ट शिक्षा दिने सवालमा कतिपय सामुदायिक विद्यालयको प्रयास अत्यन्तै सराहनीय मान्न सकिन्छ। ती विद्यालयबाट उत्पादन भएका विद्यार्थीको गुुणस्तरले कुनै पनि क्षेत्रमा स्पर्धा गरिरहेको पाउँछौं। त्यसैले कुनै पनि विद्यालयको चयन त्यसको रूप पक्षलाई हेरेर गर्नु गलत पनि हुन सक्छ। यसमा स्वयं विद्यार्थीभन्दा अभिभावक आफैं चनाखो र विश्वस्त हुन सक्नुपर्छ, उच्च शिक्षा वास्तविक फलामे ढोका हो।

प्रतिक्रिया दिनुहोस्