गाउँ सुनसान भइसक्यो



रोजगारीको लागि युवा पुस्ता विदेशिएका कारण अहिले गाउँहरु केटाकेटी र बूढाबूढीको भरमा छन् । गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामी जाने मान्छेको समेत अभाव हुने गरेको छ । दैनिक दुई हजारभन्दा धेरै युवा त्रिभुवन विमानस्थलको बाटो भएर बाहिरिने गरेको तथ्यांक पाइन्छ । खुल्ला सिमाना रहेको भारत जानेको संख्या पनि उल्लेख्य छ ।

अन्य समयमा विदेशमा कमाएर पठाएको पैसाले काम चल्ने भएको भए पनि कामको सिजनमा गाउँघरमा कामदारको अभाव हुने गरेको छ । काम गर्न सक्ने युवापुस्ता विदेशिएका छन् भने उनीहरुका परिवार गुणस्तरीय शिक्षा र स्वास्थ्यको खोजीका लागि शहरबजारमा छिरेपछि गाउँ खालिजस्तै छन् । गाउँमा रहेका एकाध घरपरिवारका उमेर पुगेका ज्येष्ठ नागरिक सिजनअनुसारको काम गर्न सक्दैनन् ।

दैनिकीको लागि घरको समान्य काम गर्न सक्ने भए पनि सिजनअनुसारको काम गर्न नसकेकै कारण आज कैयौं धान फल्ने खेत र मकै–कोदो फल्ने बारीमा रुख–बिरुवा हुर्किरहेका छन् ।

कहाली लाग्दो परिस्थितिका बीच गुज्रिरहेका गाउँहरुमा गत असार १५ गते धुमधामका साथ असार १५ अर्थात् धान दिवस मनाइयो । स्थानीय तह र विभिन्न संघसंस्थाले आयोजना गरेको धान दिवसको कार्यक्रममा जनप्रतिनिधि र सबै जिल्लामा कर्मचारीको उल्लेखनीय उपस्थिति रह्यो तर त्यहाँ साँच्चै काम गर्ने किसानको उपस्थिति भने निकै कम थियो । गाउँघरमा असारको महिना लागेसँगै कामको माचो चलेको छ ।

धान फल्ने खेतमा रोपाईं गर्नको लागि यस वर्ष मौसमले समेत साथ दिएकाले छिट्टै रोपाईं शुरु भयो तर काम गर्ने जनशक्तिको अभाव छ ।

आधुनिक प्रविधिको प्रयोग गर्न मिल्ने खालको खेतका फाँटहरु छैनन् भने पुरानै पद्धति प्रयोग गरेर खनजोत गर्न हलो र कोदालो समाउने मान्छेको अभाव छ । धान दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा सहभागीले एक दिन त्यो पनि एक घन्टा त निकै रमाइलो गरे । हलो, कोदालो र बीउको मुठो समाएर रोपाईंसमेत गरे तर त्यही खेत जनशक्तिको अभावमा बाँझो रहँदै छ भन्ने कुराको भने खोजी गरेनन् ।

रोपाईं दिवस मनाइरहँदा खेतका फाँटहरुमा देखिएको चहलपहल अब असारको महिनाभरि देखाउनुपर्ने बेला आएको छ । गाउँमा रहेका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले पनि परिस्थितिको बाध्यतालाई मनन गरेर आफ्ना नियमित कामको बन्दोबस्ती मिलाएर जनशक्ति अभावको समस्यालाई समधान गर्न समय दिनुपर्छ ।

एक दिन फाँटमा पसेर दिएको हौसलाले मात्रै अब राम्रो धान उत्पादन हुने खेतमा धान फल्दैन । रोजगारीको अभाव रहेको भन्दै दिनानुदिन बाहिरी देश पलायन भैरहेका युवालाई फर्काउने र गाउँठाउँमा विभिन्न पेसा व्यवसायमा रहेकाहरुले समय–समयको व्यवस्थापन गरेर खेतीयोग्य जमिनमा खेती लगाउने कुरालाई आत्मसात् गर्नुपर्छ ।

धुमधामका साथ धान दिवस मनाएका स्थानीय तहलाई पनि यो कुराको हेक्का होस् कि त्यहीँ धान रोप्नको लागि गाउँमा जनशक्तिको चरम अभाव छ । जनशक्तिको अभाव कम गर्ने मुख्य कडी रोजगारीको सिर्जना र युवा पलायन रोक्नु नै हो ।
– प्रभाकर सापकोटा, धादिङ ।

प्रतिक्रिया दिनुहोस्