उद्धार तत्काल हुनुपर्छ 



उत्तरी धादिङको सत्यदेवी र मार्पाकमा पहिरोका कारण पाँचजनाले ज्यान गुमाएको दर्दनाक खबर सञ्चारमाध्यममा सार्वजनिक भयो । पहिरोसँगै धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प जाँदा जनजीवन त्रसित बन्यो ।

नियतिको कठोर प्रहारबाट सत्यदेवीका एकै परिवारका तीनजनाले ज्यान गुमाउनुप¥यो । दुई दिनदेखि परेको वर्षाले खनियाबास गाउँपालिका–५ स्थित साईस्वाँराका राजु गोलेको घर पहिरोले बगाएको थियो । बुधबार राति घरसँगै बगेर गोलेकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, १० वर्षीया छोरी लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भयो ।

पहिरोले सात घर पुरिए । सोही गाउँपालिकाको वडा नं. ४ स्थित चिउरीखर्कमा पहिरोले एक घर पुरिँदा शमशेर घले र कोप्ची घले बेपत्ता भए । अविरल बर्सादका कारण नेत्रावतीको मार्पाकमा पनि पाँच घर पहिरोमै विलीन भए ।

दैवी विपत्तिको पीडा कति निर्मम हुन्छ त्यो स्वयं पीडितले अनुभव गर्न सक्छन्, तर विपत्तिको पीडाको अनुभूति सबै नेपालीले गरिसकेका छन् । मनसुन शुरु भइसकेको छ । फेरि बाढीको त्रास कायमै छ । सचेत रहन सार्वजनिकरुपमा अपिल गरिएको छ ।

नेपाली जनताले हरेक वर्ष विपत्तिको सामना गर्दै आइरहेका छन् । यस्ता त्रास सम्झाउने अनगिन्ती घटना छन् । केही वर्षअघि सिन्धुपाल्चोकको जुरेमा खसेको पहिरो, ताप्लेजुङको फेम्सोहाङमा एकै परिवारका नौजनाको मृत्यु हुने गरी खसेको पहिरो, धादिङको पहिरोलगायत नेपाली जनजीवन नै प्रभावित गर्ने खालका प्राकृतिक विपत्तिहरुको सामना गर्नुपरेको छ । भूकम्पले तहसनहस बनाएका बस्तीहरु अझैसम्म ठडिएका छैनन् ।

विस्थापितले गतिलो ओत पाएका छैनन् । यही कष्ट र सकसका बीच मनसुन शुरू भएसँगै धादिङका दुर्गम ठाउँहरुमा पहिरोले बस्ती बगाउन थालेको छ । बर्खाले गर्दा धादिङका पहाडी क्षेत्रहरुमा सदरमुकाम धादिङबेंसीबाट गाडी चल्न छाडिसकेको छ ।

पहिरोले घर बगाएको क्षेत्रसम्म पुग्न मात्रै सदरमुकामबाट एकदिनको पैदलयात्रा हिँड्नुपर्ने अवस्था छ । यस्तो संकटको अवस्थामा प्रहरीसहितको टोली समयमै पुगेर उद्धार कार्यमा खटिनुपर्छ । तर, भौगोलिक विकटताका कारण पहिरो प्रभावितको राहत तथा उद्धारमा सरकारले पहल गरेको छैन । घरसहित परिवारका सदस्यहरु पहिरोले बग्दा पनि सरकारको ध्यानाकर्षण नहुनुले राज्यविहीनताको अवस्थालाई स्मरण गराएको छ ।

नेपालको भौगोलिक अवस्थाका कारण दैवी विपत्तिबाट छुट्कारा नै पाउन सक्ने अवस्था छैन । तथापि, सरकारका निकायले विपद् व्यवस्थापनका काम भने गर्न सक्छ । ०७२ सालको महाभूकम्पले थिलथिलो भएको धादिङलगायतका प्रभावित क्षेत्रमा पानी परेपश्चात् पहिरोको जोखिम रहँदै आएको छ । भलपानीसँगै पहिरो खस्ने समस्याका कारण गतवर्ष पनि धादिङका विभिन्न गाउँबस्ती पहिरोमा बगेका थिए । वर्षायामसँगै पहिरोको जोखिम अझै धेरै हुने विज्ञहरुले अनुमान गरेका छन् ।

भूकम्प प्रभावित जिल्लामा यस्तो जोखिम अत्यधिक बढी छ ।
भूकम्पपीडित अझैसम्म स्थायी बासमा फर्किन नसकेको परिस्थितिमा जोखिममा रहेका अधिकांश पीडितलाई सतर्कता अपनाउनुपर्ने देखिएको छ । भौगोलिक विकटता र प्रायजसो बस्ती पहिरोको उच्च जोखिममा रहेका कारण यस्तो विपत्ति नदोहोरिएला भन्न सकिँदैन । सरकारले पहिरोपीडितलाई उद्धार र राहतको व्यवस्था गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ ।

जोखिमपूर्ण बस्तीहरुलाई समयमै सुरक्षित ठाउँमा सार्न सकिए मात्रै पनि भविष्यमा यस्ता दुःखद नियतिको सामना गर्नुपर्दैन । भूकम्पको कम्पनका कारण कमजोर भएको पहाडमा मनसुनसँगै पहिरो जाने क्रम तीव्र हुने र यससँगै तराईका जिल्लाहरुमा बाढीको त्रास पनि कायमै छ । सरकारले आफ्नो उपस्थिति देखाउने यस्तै विपद्को अवस्थामा हो । त्यसैले, विपद् व्यवस्थापनका लागि समयमै सम्बन्धित निकायलाई सक्रिय बनाउनु जरुरी देखिएको छ ।
– प्रशान्त लामा, धादिङ ।

प्रतिक्रिया दिनुहोस्