कलाकार कपाली हेपटाइटिसका कारण समस्यामा



सानो र ठूलो पर्दाको नेपालभाषाका फिल्मका कलाकार मानकृष्ण कपाली ‘वावा’ हेपाटाइटिस बीको समस्याका कारण ५ महिनादेखि अस्वस्थ हुन पुगेका छन्।

वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा कलेजोमा समस्या देखिएपछि निदान अस्पतालमा उपचार गराइरहेका उनका अनुसार कलेजो ड्यामेज भएका कारण डाक्टरको सल्लाहमा औषधि सेवन गरिरहे पनि कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले समस्या परेको छ।

सानै बेलादेखि गायनमा रुचि राख्ने उनले डेढ वर्षदेखि कलाकारितामा सक्रिय रहेर नेवारी भाषाका थोला ज्ञानपु स्टाइल, अंश, याक म्हया, जीपी बदमास मखु जस्ता नेवारी फिल्म तथा ख्वताबजी जस्ता टेलिसिरियलमा अभिनय गरेका छन्। ‘बिरामी भएका कारण ख्वताबजीमा काम गर्न सकेको थिइनँ तर अघिल्लो हप्तादेखि भने काम गरेको छु।’ –उनले भने।

नेपाली र नेवारी भाषाका गीत तथा गजल लेखनमा समेत सक्रिय उनले केही भजन पनि गाएका छन्। उनका गीत तथा गजलहरू मदनकृष्ण श्रेष्ठ, प्रेमध्जव प्रधान, योगेश वैद्य, प्रकाश श्रेष्ठ, सतेश महर्जन, सरोज बुद्धाचार्य, सपना श्री, प्राश्ना शाक्य जस्ता गायकगायिकाले गाएका छन्। उनको संगीतमा बुद्व मिखा, सिनुनुग, गुलमरी प्यारामरी र बुद्ध गरी–४ गीति एल्बमसमेत प्रकाशित छन्।

हालै उनको उपचारका लागि काठमाडौं महानगरपालिका–२५ का वडा अध्यक्ष नीलकाजी शाक्यले महानगरपालिकाको तर्फबाट नगद १ लाख रुपियाँ सहयोग गरेका छन्। उपचार शुल्क उच्च रहने भएकाले उनले आफ्नो स्वास्थ्य उपचार सहयोगका लागि अपिलसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्