आप्रवासी समस्याबारे मर्केलको चासो



वर्लिन, (एजेन्सी)
जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार युरोपेली नेताहरूलाई अनियमित आप्रवासको समस्या समाधान खोज्नका लागि मिलेर काम गर्न आह्वान गरेकी छिन्। उनले जर्मनीको संसदमा यो विषय युरोपेली संघका (ईयु) लागि अहिले निकै महत्वपूर्ण रहेको बताएकी छिन्।

ईयुको शिखर बैठक सम्मुख थुप्रै अवैध आप्रवासीको बारे कसरी कदम उठाउने भन्नेबारे ध्यान केन्द्रित भइरहेकोबेला मर्केलले यो आह्वान गरेकी हुन्। विशेषतः भूमध्यरेखीयसागर पार गर्दै अधिकांश अफ्रिकीहरूले ज्यान खतरामा राखेर युरोप प्रवेशका लागि प्रयास गरिरहेका छन्।

आप्रवासीहरूको भेल रोक्नका लागि मर्केलमाथि अहिले ठूलो दवाव परिरहेको छ। मर्केल सरकारका सीएसयु पार्टीका गठबन्धन साझेदार जर्मनीका गृहमन्त्री होस्र्ट सिहोफरले यसै साता भित्र आप्रवासी समस्या समाधानबारे ठोस कदम नउठाइएको खण्डमा आफूले आफ्नो गृहनगर राज्यमा आप्रवासीहरूलाई फर्काइदिने चेतावनी दिएका छन्।

सिरिया युद्धलगायत अन्य हिंसाग्रस्त मुलुकहरूबाट शरणार्थी बन्नेहरूको संख्या वृद्धि भइरहेका कारण पनि आप्रवासी समस्या दिनानुदिन चर्किंदै गएको हो। तर युरोपेली परिषद्ले सन् २०१५ मा दिनहुँ हजारौं संख्यामा आप्रवासीहरू ग्रिक टापुहरूमा आइपुग्दा जस्तो अहिले तिव्र समस्या नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्