कोलम्बिया अन्तिम १६ मा, जापान भाग्यमानी



मस्को, (एजेन्सी)
कोलम्बियाले सेनेगललाई १–० ले हराएर रुसमा जारी विश्वकपअन्तर्ग नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

बिहीबार समूह ‘एच’ अन्तर्गत अन्तिम खेलमा कोलम्बियाका लागि निर्णायक गोल येरी मीनाले गरेका हुन्। उनले ७४ औं मिनेटमा गरेको गोलले नै कोलम्बियालाई अन्तिम १६ मा पुर्यायो। बराबरी र हारले दक्षिण अमेरिकी टोली प्रतियोगिताबाट बाहिरिने पक्का थियो।

मीनाले गरेको गोलको जवाफ फर्काउन नसक्दा सेनेगल प्रतियोगिताबाट बाहिरियो। तर जापान भने फेयर प्लेको आधारमा भाग्यमानी बन्यो। जापानले पनि पोल्यान्डसँग ५९औं मिनेटमा गोल बेहोरेर १–० ले हार्न पुगेको थियो। यो पोल्यान्डका लागि सान्त्वना जीवित साबित भएको थियो। यो समूहमा बलियो टोलीमा मानिए पनि पोल्यान्ड सबैभन्दा कमजोर टोली प्रमाणित भएको छ।
दुई पहेँलो कार्डको भुमिका
विश्वकपअन्तर्गत पहिलो पटक दुई टोलीबीच टाइ भएको छ। सेनेगल र जापानले समान १–० ले हारेपछि फेयर प्लेको आधार मान्दा जापानले बाजी मार्यो। यो जापानको तेस्रो पटक अन्तिम १६ मा पुगेको अवसर हो। यसअघि २००२ मा जापान र कोरियामा भएको विश्वकप र २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा जापान दोस्रो चरणमा पुगेको थियो। यसपटक जापान नकआउट चरणमा पुग्ने एक्लो एसियाली टोली पनि हो।

१–० ले हारेपछि जापान र सेनेगलको समान गोल भिन्नता र समान ४/४ अंक भएको थियो। जसमा हेड टू हेड हेर्दा पनि यी दुबै टोलीले २–२ बराबरी खेलेका थिए। यसैले फेयर प्लेलाई आधार लिँदा जापान दुई पहेँलो कार्ड कम खाएकोले समूह चरण पार गर्न सफल भयो। बढी कार्ड खानु नै सेनेगलको लागि दुर्भाग्य बन्यो।

प्रतिक्रिया दिनुहोस्