नेपाल आइपुग्यो इतिहासमा पहिलोपटक वाइड बडी जहाज



नेपाल समाचारपत्र, काठमाडौँ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको इतिहासमा पहिलोपटक वाइड बडी जहाज ल्याएको छ। लामो दुरीमा व्यावसायिक उडान गर्न र धेरै यात्रु बोक्ने जहाज किन्न बहस चलेको १० वर्षपछि एयरलाइन्सले एयरबसको ए ३३०–२०० सिरिजको वाइड बडी जहाज ल्याएको हो ।

खरिद प्रक्रिया सुरू भएको करिब २ वर्षपछि एयरलाइन्सको पहिलो वाइड बडी जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाज निर्माता कम्पनी एयरबसको फ्रान्समा रहेको कारखानाबाट एयरबसका पाइलटहरूले उक्त जहाज उडाएर ल्याएका हुन्।

लामो दुरीमा उडान गर्न मिल्ने २७४ सिट भएको जहाजमा १८ बिजनेस क्लास सिट रहेका छन्। जहाजमा २–२–२ फर्म्याटका १८ बिजनेस क्लास, २–४–२ फर्म्याटका इकनोमी क्लासका सिट छन्। जहाजको नेपाली दर्ता नम्बर ‘नाइएन एएलवाइ’ रहेको छ भने यसको नाम अन्नपुर्ण राखिएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले अन्नपूर्णले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने बताए ।

अहिलेसम्म प्रत्यक्ष हवाइ सम्पर्क नभएका ठाउँमा यसले जोड्ने भएकोले पर्यटकहरूको आगमन यसबाट बढ्ने उनको विश्वास छ। नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

विमानको पूजा–आजासमेत गरिएको छ ।२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेको थियो। ०७३ कात्तिकमा जहाज किन्न गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुई वटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो।

एयरलाइन्सले जहाज किन्न नागरिक लगानी कोष र संचय कोषसँग १२\१२ अर्ब ऋण लिएको छ।

प्रतिक्रिया दिनुहोस्