भारले पेनाल्टीमा विश्व कीर्तिमान



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपको नकआउट चरण पनि शुरु भएको छैन पेनाल्टीमा विश्व कीर्तिमान बनिसकेको छ ।

विश्वकपअन्तर्गत २१ औं संस्करणको यो विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्री (भार) प्रविधिको प्रयोगले पेनाल्टीको संख्या बढेको हो । भारले यति पेनाल्टी भएका छन् कि विश्वकपमा पेनाल्टीको पुरानो कीर्तिमान तोडिएको छ ।

अहिलेसम्म पेनाल्टी संख्या लगभग २२ अंकमा पुगेको छ । यसले १६ वर्ष अगाडि विश्वकप २००२ मा बनेको कीर्तिमान भंग भएको छ ।

१६ वर्ष अघि दक्षिण कोरिया र जापानले संयुक्तरुपमा विश्वकपको आयोजना गरेका थिए । सो विश्वकपमा १८ पेनाल्टी भएका थिए । रुसमा भइरहेको विश्वकपअन्तर्गत साउदी अरेबियाका सलमान अल फराजले इजिप्टविरुद्ध ३९ औं मिनेटमा प्राप्त पेनाल्टी १८ औं थियो । यसले २००२ विश्वकपको बराबरी भएको थियो । यसपछि पोर्चुगल र इरानबीचको खेलमा दुई तथा अर्जेन्टिना र नाइजेरियाबीच तथा क्रोयसिया र आइसल्यान्डबीचको खेलमा एक एक पेनाल्टी भएपछि अहिलेसम्म कूल २२ पेनाल्टी भएका छन् ।

समूह चरणका केही खेल बाँकी रहेको स्थितिमा पेनाल्टी संख्या अझै बढ्ने प्रबल संभावना छ । भार प्रविधिले गर्दा पनि पेनाल्टी संख्या बढ्ने तय छ । भार प्रविधि विश्वकपको इतिहासमा पहिलो पटक प्रयोग भएको हो । भारको पहिलो प्रयोग फ्रान्स र अस्टे«लियाबीचको खेलमा भएको थियो । जसमा फ्रान्सका एन्टोइन ग्रीजम्यान भारको निर्णयमा पहिलो पेनाल्टी प्रहार गर्ने जारी विश्वकपका पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्