मेसी र रोजोको गोलमा अर्जेन्टिनाको उद्धार



मस्को, (एजेन्सी)
नाइजेरियालाई हराउँदै अर्जेन्टिना रुसमा जारी विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा नाइजेरियालाई २–१ गोलले हराउँदै अर्जेन्टिना समुह ‘डी’ को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । टोलीको जितमा लियोनेल मेसी र मार्कोस रोजोले गोल गरेका थिए । खेलको १४ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५१ औं मिनेटमा नाइजेरियाले पेनाल्टी पायो । भिक्टर मोयसले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

८६ औं मिनेटमा मार्कोस रोजोले गोल गरेपछि अर्जेन्टिना २–१ ले विजयी भयो । यसै समूहको अर्को खेलमा आइसल्यान्डले जित्न नसकेपछि पनि अर्जेन्टिनाको अन्तिम १६ पक्का भएको थियो । अर्जेन्टिना समुह चरणको पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० गोलले पराजित भएको थियो । यो दुई नतिजापछि अर्जेन्टिनाको विश्वकपको यात्रा समाप्त हुने संकेत भएको थियो ।

क्रोयसिया समुह विजेता
समुह चरणका तीन वटै खेलमा जित निकालेको क्रोएसिया समुह ‘डी’को विजेताकोरुपमा विश्वकपको अन्तिम १६ मा पुगेको छ ।

मंगलबार राति भएको समुह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २–१ गोलले हराउँदै समूहमा शत प्रतिशत नतिजा निकाल्यो । क्रोयसियाको जितमा ५३ औं मिनेटमा मिलन बडेलज र ९० औं मिनेटमा इभान राकिटिकले गोल गरे ।

आइसल्याण्डले ७६ औं मिनेटमा पेनाल्टीमार्फत् एक गोल फर्काएको थियो । यो समूहबाट नाइजेरिया ३ अंक र आइसल्यान्ड १ अंक बनाएपछि बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्