दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता



खारटौम

दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ ।

बुधबार भएको स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।

दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ ।

“स्थायी युद्धबिरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेका छन्,” सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले सुडानको राजधानीमा जानकारी दिनुभयो ।

दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले सुडानका राष्ट्रपति ओमर अल बसिरको उपस्थितिमा स्थायी युद्धबिराम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यसअघि पनि यस्तै थुप्रै युद्धबिराम सम्झौता भएका र तिनीहरूको उल्लंघन पनि भएका छन् । प्राय सम्झौता दक्षिण सुडानभन्दा बाहिरी देशहरूमा भएका छन् ।

विभिन्न चरणमा भएका पटक पटकका भित्रि वार्ता तथा छलफलहरू पछि अहिलेको सम्झौता भएको बताइएको छ । वार्ताका लागि इथियोपियाका प्रधानमन्त्री अविय अहमदले पनि ठूलो योगदान गर्नुभएको छ ।

दक्षिण सुडानमा भएको युद्धका कारण दशौँ हजार जना मारिएका छन् भने लाखौँ विस्थापित भएका छन् ।

विद्रोहीहरूको नेतृत्व गर्नुभएका रिक दक्षिण सुडानका पूर्व राष्ट्रपतिसमेत हुनुुहुन्छ । विश्वभरका नेताहरूले पटकपटक दबाब दिएपछि उहाँहरू सम्झौतामा पुग्नु भएको बताइएको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्