समूह एफको खेल सुरु



 

काठमाडौं ।

रसियामा जारी विश्वकप फुटबलको समूह एफ तर्फको खेल सुरु भएको छ । भर्खरै सुरु भएको खेल मेक्सिको र स्विडेन बीच एकाटेरिन्बर्ग रंगशालामा भैरहेका छ भने दक्षिण कोरिया र जर्मन बीचको खेल कजान रंगशालामा खेल जारी छ ।

समूह चरणको पछिल्ला दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण कोरियालाई खासै महत्वपूर्ण नभएको यो खेल जर्मनीको लागि “गर या मर” को अवस्थामा रहेको छ ।

अन्तिम १६ पुग्न जर्मनीका लागि यो निर्णायक खेल समेत हो । पहिलो खेलमा मेक्सिकोसँग १–० ले हारेपछि वर्तमान विश्वविजेता जर्मनी टोली संकटमा परेको थियो । तर दोस्रो खेलमा स्वीडेनविरुद्ध अन्तिम क्षणमा २–१ को जित निकाल्दै जर्मनीले अन्तिम १६ पुग्ने आशालाई जीवितै राख्यो । स्वीडेनविरुद्धको जितपछि ३ अंक जोडेको जर्मनीका लागि दक्षिण कोरियाविरुद्धको खेलमा महत्वपूर्ण ३ अंक सहित फराकिलो गोल अन्तरको आवश्यकता रहेको छ ।

अन्तिम १६ पुग्नका लागि यो समूहमा स्वीडेन, मेक्सिको र जर्मनीको उत्तिक्कै सम्भावना रहेको छ । यो समूहमा २ खेल जितेर ६ अंक सहित शीर्ष स्थानमा रहेको मेक्सिकोलाई समेत ढुक्क भएर बस्ने अवस्था छैन । यदि जर्मनी र स्वीडेनले आ–आफ्नो खेल समान २–० ले जितेमा मेक्सिको र दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिने सूचीमा पर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्