महिलाका लागि सबैभन्दा खतरनाक देश भारत



नयाँदिली (एजेन्सी)
भारत महिलाका लागि विश्वकै सबैभन्दा खतरनाक देश भएको एक सर्वेक्षणले देखाएको छ । ग्लोबल एक्सपोर्टले मंगलबार जारी गरेको एक सर्वेक्षणमा उक्त तथ्य उल्लेख गरिएको छ ।

उक्त सर्वेक्षणको नतिजामा यौन हिँसा र महिलालाई नोकर राख्नमा भारत सबैभन्दा अगाडी रहेको छ । यो सर्वेक्षण थम्सन–रोयटर्स फाउन्डेसनका तर्फबाट महिला मुद्दामा काम गर्ने ५ सय ५० महिला विशेषज्ञसाग गरिएको हो ।

सर्वेक्षणमा भारत महिला सुरक्षाको मामिलामा युद्धग्रष्त अफगानिस्तान र सिरिया भन्दा पनि पछाडी परेको छ । महिलाका लागि सबैभन्दा खतरनाक देश भारत हो र त्यसपछि मात्र अफगानिस्तान र सिरिया हुन् । त्यसपछि सोमालिया र साउदी अरेबियाको स्थान रहेको छ ।

रोयटर्सका अनुसार भारतका महिला तथा बाल विकास मन्त्रालयले सर्वेक्षणको नतिजामा कुनै प्रकारको टिप्पणी गर्न अस्विकार गरेको छ ।
कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रतिवेदन सेयर गर्दै ट्विट गरेका छन्– हाम्रा प्रधानमन्त्री योगको भिडियो बनाउन ब्यस्त छन् । अर्को तर्फ महिला विरुद्धको हिँसा तथा बलात्कारको मामिलामा भारतको स्थिति अफगानिस्तान, सिरिया र साउदी अरेबियाको भन्दा खराब भएको छ । यो हाम्रो देशका लागि कति लज्जास्पद कुरा हो ।

पश्चिमी देशमा शिर्ष १० स्थानमा अमेरिकामात्र परेका छन् । महिलाका लागि खतरनाक देशको सुचीमा १० औ स्थानमा अमेरिका परेको छ । पाकिस्तान सुचीमा ९ औं स्थानमा परेका छन् ।

सन् २०११ मा पनि थमसन–रोयटर्स फाउन्डेसनले यस्तै सर्वेक्षण गराएको थियो । त्यतिबेला नतिजामा अफगानिस्तान, कंगो, पाकिस्तान, भारत र सोमालियालाई महिलाका लागि सबैभन्दा खतरनाक देश बताइउको थियो । तर सन् २०११ मा भारतको लिस्टमा भारत पहिलो स्थानमा थिएन ।

विशेषज्ञहरुले भारतमा महिलाका लागि स्थिति अन्त्यन्त नराम्रो हुनु भनेको उनको सुरक्षाका लागि पर्याप्त प्रयास भएको छैन भने देखाएको बताएका छन् ।

निर्भया सामुहिक बलात्कारपछि महिलाको सुरक्षा मुद्दालाई भारतले प्राथमिकतामा राखेको देखिएको थियो तर मतसर्वेक्षणको नतिजा त्यसको ठीक उल्टो आएको छ । सरकारी आंकडाले सन् २००७ र २०१६को बीच महिलामाथि हुने हिँसाका मामिला ८३ प्रतिशतले बढोत्तरी भएको र यस क्रममा हरेक ४ घण्टामा एक महिला बलात्कारको सिकार हुने गरेको बताए ।

महिलाको तस्करीको मामिलामा भारत, लिबिया र म्यान्मारको नाम सबैभन्दा माथि रहेको छ । बषौं सम्म युद्धको त्रासदी झेलिरहेका अफगानिस्तान, सोमालिया र सिरिया महिलाका लागि खराब स्वास्थ्य सेवा तथा युद्ध सम्बन्धी हिँसामा सबैभन्दा माथि परेका छन् ।

पाँचौ स्थानमा परेको साउदी अरेबियामा हालैका दिनमा केहि सुधार भएको तर त्यो पर्याप्त नभएको विशेषज्ञहरुले बताएका छन् ।
अमेरिकाको नाम पहिलो १० देशमा आउनुको एउटा प्रमुख कारण ह्यासमीटु अभियान भएको बताइएको छ । यस सर्वेक्षणमा प्रश्नको जवाफ दिनेहरुमा सहायताकर्मी, स्वास्थ्य कर्मचारी, शिक्षा क्षेत्रका विशेषज्ञ, एनजिओमा काम गर्ने, निति निर्माता र सामाजिक मुद्दाका विज्ञहरुलाई सलंग्न गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्