सत्ता, भत्ता र जत्था



हाम्रो जस्तो मुलुकमा अहिलेको घडीमा धेरै रेलको खाँचो छैन, जुन मुलुकमा समस्या छन् त्यसलाई पहिला सरकारले निर्मूल गर्नु आवश्यक छ । बाटोघाटो, धूलो–धुवाँको समस्या उस्तै, एयरपोर्ट, फास्ट ट्रयाक आदिको समस्या उस्तै, यसबाहेक उद्योग विकासमा सुस्तताको समस्या उस्तै, तैपनि हामी गौरव गर्दछौं कि उद्योग, हस्पिटलको विकास, स्कुल–कलेजको विकास, यस्ता जतिसुकै विकासको कुरा गरे पनि सामानको निर्यातभन्दा आयात नै बढी हुन्छ ।

हस्पिटलको कुरा गर्ने हो भने, निम्न–मध्यम वर्गका व्यक्तिले हस्पिटलमा उपचार गर्न गाह्रो भएको छ । हाम्रो देशमा जतिसुकै स्तरीय स्कुल–कलेज बने पनि भविष्यमा यहाँका विद्यार्थी विदेशीकै नोकर हुने हो, कि कसो ? त्यसकारण वर्तमान सरकारले धेरै गफ गर्न छोडेर यी कुरालाई कसरी सम्बोधन गर्ने भनी अगाडि बढ्नुपर्दछ ।

हाम्रो जस्तो मुलुकमा सरकारलाई हरसमय दुई–तीनवटा कुराले सताइरहेको हुन्छ । पहिलो सत्ता–भत्ता, दोस्रो इच्छाशक्ति र दूरदर्शिताको कमी, अर्को मेहनत नगरी आउने रकमहरुको आशा जस्तै– कर, रेमिट्यान्स र विदेशी सहयोग । जबसम्म सरकारले यस्ता रकमको तहबह मिलाउन सक्दैन तबसम्म मुलुकमा सधैँ भाँडभैलो भइराखेको हुन्छ । जबसम्म सरकारले यी कुरामा कडाइ र ठूलो सोच अपनाउँदैन तबसम्म केही हुनेवाला छैन । हामीले यस्ता कुरालाई धेरैपल्ट दोहो¥याइसक्यौं, यस्ता रकमबाहेक देशमा रहेका आयस्रोतहरु जस्तै– जलस्रोत, कृषि, पर्यटनलाई नै राज्यले दु्रत गतिमा ठेल्दै लैजानुपर्दछ, तर यो मुलुकमा सधैँ कुरा एउटा हुन्छ काम भने अर्कै भइराखेको हुन्छ ।

अहिले आएर हाम्रो देशमा पनि धेरै थरीका धनीवर्ग छन् । यीमध्ये नेता, उद्योग व्यवसायी, जग्गाधनी, गैरआवासीय, चलचित्रकर्मी, मारवाडी आदिको पनि मुलुकमा आर्थिक योगदानको उत्तिनै खाँचो देखिन्छ, जति सरकारको हुनुपर्ने हो । अरु पनि धेरै थरीका धनीवर्गहरु यहाँ छन्, जसले उद्योग विकासका साथै समाज, टोल, गाउँमा योगदान पुराउँदै जाने हो भने यो मुलुकको विकास टाढा छैन । यसबाहेक जनसमुदायको राम्रो सोच तथा श्रम योगदानको पनि उत्तिकै खाँचो छ । भनाइको मतलब हामीले सधैँ सरकार र नेताहरुको मुख मात्र ताकी गाली गरेर मुलुकको विकास हुने कुरा होइन । तर यिनीहरुलाई समय–समयमा हामी सबै मिली प्रेसरचाहिँ दिइराख्नुपर्छ ।

अहिलेको परिप्रेक्ष्यमा मुलुकमा विकासका कुरा गर्दा सवारीसाधन, धूलो, धुवाँ, बाटोघाटो, रमणीय स्थल, मठ–मन्दिर व्यवस्थित हुनु । यी चीजको विकास हुनु पनि विकासको एउटा ठूलो अंग मान्न सकिन्छ । तर हामीले जति पनि बाटोघाटो प्रयोग गर्दा, रमणीय स्थलमा जाँदा तथा मठ–मन्दिरहरु फोहोर तथा अव्यवस्थित हुँदा सरकार, सम्बन्धित निकाय, सर्वसाधारण आदि उत्तिनै दोषी देखिन्छन्, जुन भनिराख्नुपर्ने कुरा होइन । तर अब यस्तो हुनुभएन, सबै पक्षहरु निःस्वार्थ भई यी चीजको विकास गर्नु पनि अहिले उत्तिकै जरुरी छ ।

यो मुलुकमा एउटा विडम्बना र दुःख लाग्दो कुरा के छ भने, सरकारमा रहने सत्तापक्ष सधैँ कानमा तेल हालेर बसिराखेको हुन्छ भने प्रतिपक्षहरु सधैँ आफ्नो कार्यकालमा केही नगर्ने सरकारबाट वाहिरिएपछि सत्तापक्षलाई गाली, आलोचना, खण्डन मात्र गरिरहेरहेका हुन्छन्, जुन घिनलाग्दो र एकदम गलत कुरा हो । बरु यसको साटो परिवर्तन नभएर एक–अर्कालाई सहयोग गरौं, ताकि मुलुकमा सत्तापक्षलाई काम गर्न त सजिलो हुन्छ र भोलि आफ्नो पनि पालो आउँछ भन्ने सोच राख्नुपर्दछ ।

जुनसुुकै सरकारले मुलुकको विकास भइराखेको छ भनेर दाबी गरे पनि त्यसमा जनताले विश्वास गर्न गाह्रो भएको छ । अहिलेको परिप्रेक्ष्यमा उद्योगको विकासलाई द्रुत गतिमा लैजाने हो तर सधैँ आयात बढी निर्यात कमका कुरालाई लिने हो भने कसरी मुलुक विकासको बाटोमा गइराखेको छ भनेर विश्वास गर्ने ? शायद यसैको उपज हो अझै बेरोजगार, बैंकको तरलता, सुस्त विकास, आर्थिक ऋण भार आदि ।

अहिले मुलुकको अवस्था हेर्दा यहाँ समस्याको समाधान र विकास गर्नुपर्ने कुरा धेरै छन् । त्यसकारण यस्तो अवस्थामा धेरै रेल सपना मात्र बोकेर बस्नु ठीक होइन जस्तो लाग्छ । यस्तो बेलामा अहिलेको लागि कसरी सर्वप्रथम उद्योग, फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय एयरपोर्ट, फ्लाइङ ओभर ब्रिज तथा बाटोघाटो नै निर्माण गर्ने हो । र, यसमा जोड दिने हो । अहिले आएर वर्तमान सरकार गफाडी नभई यी कुरामा अग्रसर हुने हो भने पक्कै पनि हाम्रो मुलुकमा द्रुत विकास हुन समय लाग्नेछैन ।
–रमेश केशरी वैद्य, क्षेत्रपाटी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्