कायरा जोडी



आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह जोडी बाँधिएको फिल्म कायराको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा पूर्णतया म्युजिकल लभस्टोरी छ। पहिलोपटक स्क्रिन शेयर गरेका आर्यन र साम्राज्ञीको जोडी ट्रेलरमा आकर्षक देखिएको छ।

ट्रेलरमा धेरै संवादको प्रयोग गरिएको छ। म्युजिकल लभस्टोरी भएकै कारण ट्रेलरमा लभ संवाद र गीतलाई प्राथमिकता दिइएको फिल्मका निर्देशक लक्ष्मण रिजालले बताए। लभर ब्वाईको इमेज बनाएका आर्यनलाई यो फिल्मको ट्रेलरमा पनि लभर ब्वाईकै रूपमा देखिएका छन् र पनि आफूलाई यसपटक अघिल्ला फिल्मको तुलनामा भिन्न पाइने दाबी आर्यनले गरे। ‘लभर ब्वाई भए पनि यसमा मैले आफूलाई पहिलेभन्दा निखारेको छु। संगीतमा रम्ने एक प्रेमिल युवकको रूपमा म छुु’, आर्यनले भने– ‘आशा छ दर्शकले मन पराइदिनु हुनेछ।’ साम्राज्ञीले पहिलोपटक आर्यनसँग स्क्रिन शेयर गर्न पाउँदा रमाइलो महसुस भएको बताइन्।

आर्यनको फिल्म निर्माण कम्पनी आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एन्ड आर प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता राजकुमार भट्ट रहेका छन्। आर्यनकै कथा लेखन रहेको फिल्ममा केदार भुसालको पटकथा र संवाद छ। फिल्मका निर्माता निर्देशक लक्ष्मण रिजाल पनि हुन् भने दिनेश थापा र दिवस पराजुली सहनिर्माता रहेका छन्। आगामी साउन १८ गते रिलिज हुने फिल्ममा कोशिष क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, शिवराम श्रेष्ठ (आशिकी) को छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्