म्याच प्रिभ्यु: अर्जेन्टिनालाई फराकिलो जितको जरुरी



जारी विश्वकपअन्तर्गत मंगलबार हुने समूह डी को तेस्रो चरणको खेलले सबैमा कौतुहलता बढाएको छ । यसो हुनुको प्रमुख कारण लियोनेल मेसी र अर्जेन्टिना नै हुन् । पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी र दोस्रो खेलमा क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिनाको अन्तिम १६ पुग्ने सम्भावना न्यून बनेको छ ।

दुई खेलबाट एक अंक जोडेको अर्जेन्टिनाले १ गोल गर्दा ४ गोल बेहोरेको छ । समूहको दुई खेल जितेर ६ अंक सहित अन्तिम १६ पुगिसकेको क्रोएसिया बाहेक अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्डलाई मंगलबारको खेल उत्तिक्कै महत्वपूर्ण बनेको छ ।

अर्जेन्टिनालाई नाइजेरियाविरुद्धको खेल कुनै पनि हालतमा जित्नुपर्ने भएको छ । त्यो पनि फराकिलो गोलअन्तरले । क्रोएसिया र आइसल्याण्डको खेलले प्रभाव पार्ने भएकोले अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध कम्तिमा पनि ३–० को जित आवश्यक रहेको छ ।

तर गत विश्वकपको नतिजालाई हेरेपनि नाइजेरियाले अर्जेन्टिनाविरुद्ध २ गोल गरेको थियो । नाइजेरियालाई पनि अन्तिम खेलमा जित नै खाँचो रहेकोले पनि यो खेल सोचे जस्तो अर्जेन्टिनाका लागि नहुन सक्छ । दुई खेलबाट ३ अंक जोडेको नाइजेरियाले विपक्षीलाई दुई गोल गर्दा विपक्षीबाट पनि दुई नै गोल बेहोरेको छ । यसर्थमा अर्जेन्टीनाको तुलनामा नाइजेरियालाई जित्नु पर्ने दवाब कम भएपनि आइसल्याण्ड र क्रोएसियाबीचको खेलले भने तनाव दिएको छ ।

यदि अर्जेन्टिनालाई हराएमा भने अन्तिम १६ मा पुग्नबाट नाइजेरियालाई कसैले पनि रोक्न सक्दैन । गत दुई पटकको च्याम्पियन र गत विश्वकपको उपविजेता अर्जेन्टिनाले नाइजेरियाविरुद्धको खेलमा सम्पूर्ण शक्ति खर्चने छ । विशेषगरी मेसीमा निर्भर अर्जेन्टिनाले टीमवर्क खेल्नु पर्ने देखिन्छ ।

नाइजेरियाविरुद्धको खेलमा अर्जेन्टिना ३–३–३–१ को रणनीतिमा उत्रने सम्भावना छ । यस्तै नाइजेरियाले भने ४–२–३–१ को रणनीति अवलम्बन गर्नसक्ने सम्भावना छ । यदि यो रणनीतिमा खेलाडीहरु मैदानमा देखिएमा अर्जेन्टिनाको स्ट्राइकर सर्जियो अगुएरो तथा अट्याकिंग मिडफील्डरहरु साल्भियो, मेसी र डी मारियालाई नाइजेरियाको गोलरक्षक इजेन्वा तथा शेहू, त्रुस्ट–ईकोङ्ग, बलोगुन र ओबी जस्ता डिफेन्डर र निदी र ओगु जस्ता डिफेन्सिभ मिडफील्डरको रक्षात्मक घेरालाई तोड्ने चुनौती छ ।

यस्तै नाइजेरियाका स्ट्राइकर नकामे र अट्याकिंग मिडफील्डर ईहानाचो, इटेबो र ओबीको आक्रमणलाई विफल पार्न अर्जेन्टिनाका गोलरक्षक रोमेरो तथा डिफेन्डर मासेरानो, पेज्जेला र ओटेमेन्दी तथा डिफेन्सिभ मिडफील्डर पेरेज, क्रानिभेटेर र लो सेल्सोले निक्कै सावधानी अपनाउनु पर्ने हुन्छ । क्रोएसियाविरुद्धको महत्वपूर्ण खेलमा भने अर्जेन्टिनाका गोलरक्षक र डिफेन्डरबीचको समन्वयमा भएको कमजोरीले नै हारको मुख देख्नु परेको थियो ।
हेड टू हेड 
यी दुवै टोलीले एक अर्काबीच ८ म्याच खेलेका छन् । जसमध्ये अर्जेन्टिनाले ५ खेलमा जित निकाल्दा नाइजेरिया २ खेलमा विजयी बनेको छ । यस्तै १ खेल भने बराबरी टुङ्गिएको थियो । यसक्रममा अर्जेन्टिनाले १३ गोल गरेको छ भने नाइजेरियाले १२ गोल फर्काएको छ । गत विश्वकपको भेटमा अर्जेन्टिना ३–२ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्