नाइँ नभन्नु ल लुक्स



नेपाली फिल्मकै इतिहासमा नामका आधारमा हालसम्मकै लामो सिरिज फिल्म नाइँ नभन्नु–५ को फस्ट लुक सार्वजनिक गरिएको छ। फिल्मको निर्माण संस्थाले फिल्मका २ जोडीलाई पोस्टरमा स्थान दिँदै फिल्मको फस्ट लुक सार्वजनिक गरेको हो।

पोस्टरमा स्वस्तीमा खड्काका साथमा डेब्यु नायक अभिषेक नेपाल देखिएका छन् भने अनुभव रेग्मीका साथमा अर्की डेब्यु कलाकार सेड्रिना शर्मा देखिएकी छिन्। यी दुवै जोडी एक पोस्टरमा सँगै छन् भने अनुभव र डेब्यु कलाकार सेड्रिना शर्माको अर्को जोडीको पोस्टरसमेत सार्वजनिक गरिएको छ।

फिल्ममा थुप्रै सिनियर कलाकार भए पनि निर्माण टिमले पछिल्लो पुस्ताका कलाकारलाई सार्वजनिक गर्दै पहिलो चरणको प्रचारप्रसार शुरू गरेको छ। निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार फिल्मको फस्ट लुक सार्वजनिक गरिएको बताए। ‘नाइँ नभन्नु ल–५ सदाझैं फेमली ड्रामा हो। तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं’, निर्देशक आचार्यले भने– ‘पोस्टर यस्तै कथाको झ–झल्को हो।’

आगामी भदौ ८ गते रिलिज डेट तोकिएको फिल्ममा यसपालि कलाकारको ठूलै टोली छ। फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तीमा खड्का, जयनन्द लामा, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। हरेक सिरिजबाट कसै न कसैलाई डेब्यु गराउँदै आएका आचार्यले यो फिल्मबाट अभिषेक नेपाल र सेड्रिना शर्मालाई डेब्यु गराएका छन्।

अभिषेकले स्वस्तीमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीका रूपमा देखिनेछन्। फिल्मलाई विकास आचार्य र सामिप्यराज तिमल्सेना मिलेर लेखेका छन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका छन्। वसन्त सापकोटाको संगीत रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्