सबैको सपना सुन्दर घर सुखी परिवार



लगानी र परिश्रमअनुसारको प्रतिफल प्राप्त गर्नका निम्ति घरको आन्तरिक र बाह्य सजावट, वास्तुशास्त्रअनुसार

घरको निर्माण, रङको छनोटलगायतका कुरामा ध्यान दिनुपर्छ। त्यो भएको स्थितिमा शास्त्रीय एवं आर्थिक दृष्टिकोणले पनि घर साँच्चिकै सुन्दर हुन्छ।

अपवादलाई छोड्ने हो भने जीवनमा एउटा सुन्दर घर होस् भन्ने आम मानिसको सपना हुन्छ। कतिपयको त्यो सपना पूरा हुन्छ भने कतिपयको हँुदैन। सपना पूरा हुनेको पनि केही आधारभूत कुरामा ध्यान नदिँदा अपूर्ण हुन्छ।

घर निर्माण गर्नु एउटा सपना हो भने घरमा सुन्दरता थप्नु अर्को महत्वपूर्ण कुरा हो। घरमा सुन्दरता थप्नका निम्ति धेरै लगानी गर्नु पनि पर्दैन। थोरै आइडिया लगाउने हो भने घरको सुन्दरता परिस्कृत हुन्छ। साथसाथै आफ्नो मेहनतले साकार रुप लिन्छ, परिवारमा सकारात्मक प्रभाव पनि पार्छ। त्यसैले घर बनाउँदा गुणस्तरीय सामग्रीको प्रयोग जति महत्वपूर्ण छ। निर्माण गरेपछि घरको सजावट पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

लगानी र परिश्रमअनुसारको प्रतिफल प्राप्त गर्नका निम्ति घरको आन्तरिक र बा≈य सजावट, वास्तुशास्त्रअनुसार घरको निर्माण, रङको छनोटलगायतका कुरामा ध्यान दिनुपर्छ। त्यो भएको स्थितिमा शास्त्रीय एवं आर्थिक दृष्टिकोणले पनि घर साँच्चिकै सुन्दर हुन्छ।

सजावट कसरी गर्ने ?

घरको स्वरुप र कोठाको आकार हेरेर हामीले घरमा प्रयोग हुने फर्निचर सामग्रीको छनोट गर्नुपर्ने हुन्छ। जस्तो सानो कोठा छ भने फर्निचर रेडिमेट खरिद गर्नुभन्दा कोठाको आकार नापेर बनाउन दिँदा उपयुक्त हुन्छ। घरको प्रवेशद्वार या मूलढोका जहिले ठूलो राख्नुपर्छ।

लिभिङ रुम ः लिभिङ रुम जहिले पनि अरू कोठाभन्दा ठूलो बनाउनुपर्छ। सकभर उज्यालो कोठालाई लिभिङ रुम बनाउनुपर्छ। चारै कुनामा विभिन्न फूल र गमलाले सजावट गर्नुपर्छ। भित्ताको आकारअनुसारको टेलिभिजन राख्नुपर्छ। भित्ताको बीच भागमा नापेर टेलिभिजनको सेटअप गर्नुपर्छ। अहिले टीभीको बक्स पनि पाइन्छ यसलाई प्रयोग गरेर टीभीको सेटअप गर्न सकिन्छ।

कोठाको रङ छनोटमा पनि ध्यान दिनुपर्छ सकेसम्म चम्किलो रङ प्रयोग गर्नुपर्छ जसले गर्दा कोठा उज्यालो देखिन्छ। साथै चारै कुनाको भित्तामा फरक–फरक रङको प्रयोग गर्दा राम्रो हुन्छ।

सोफा, टेबलको ग्याप राखेर सेटअप गर्नुपर्छ । जसले गर्दा कोठा छरितो देखिन्छ। साथै चम्किलो रङको सोफाको कपडा प्रयोग गर्नुपर्छ। कोठामा लाइटको पनि उपयुक्त छनोट गरेर राख्नुपर्छ। साथै यहाँको पर्दाको समेत रङ छनोटमा ध्यान दिनुपर्छ।

किचेन ः घर सानो भएका कारण किचेन र डाइनिङलाई एउटै स्थानमा समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ। डाइनिङ र किचेन सकेसम्म फरक ठाउँमा राख्दा राम्रो हुन्छ जसले गर्दा फराकिलो र राम्रो देखिन्छ। वास्तुशास्त्रीको सल्लाहबमोजिम किचेन र डाइनिङ व्यवस्थापन गर्नुपर्छ। परिवार संख्याका आधारमा डाइनिङको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

किचेनमा वास्तुशास्त्रीको सल्लाहबमोजिम टायल प्रयोग गर्दा राम्रो हुन्छ। टायल प्रयोग गरेको अवस्थामा सफा गर्न र राम्रो देखिन्छ। डाइनिङ टेबल छनोट गर्दा घर्राको प्रयोग गर्न सके त्यसमा चम्चा, काँटाललगायत अन्य साना सामग्री राख्न सजिलो हुन्छ । चिम्नीको प्रयोग गर्नुपर्छ। सामान्यतया सानो कोठा भएको घरमा ओपन किचेन राख्दा राम्रो हुन्छ।

बेडरुम ः वास्तुशास्त्रको सल्लाहबमोजिम बेड राख्नुपर्छ। मिलेसम्म वास्तुशास्त्रअनुसार बेड पूर्व दिशामा राख्नुपर्छ। दराजको व्यवस्थापन मिलाउनुपर्छ। ऐना राख्ने ठाउँसमेत उपयुक्त ठाउँमा राख्नुपर्छ। रुमको कुनै खाली भित्तामा ऐनाको प्रयोग गर्दा कोठा ठूलो देखाउन सहयोग गर्छ।

कार्पेट उपयुक्त रङको प्रयोग गर्दा जसले गर्दा पोजेजिभ भाइब्रेट हुने किसिमको हुनुपर्छ। ठूलो देखाउन र उज्यालो रङको प्रयोग गर्नुपर्छ तथा उज्यालो रङकै अन्य सामग्री प्रयोग गर्नुपर्छ।
बेड छनोट गर्दा समयअनुसार चलेको बेड छनोट गर्नुपर्छ। बेडलाई कोठाको बीचमा नराखी कुनै एक कुनामा राख्दा उपयुक्त हुन्छ।

कोठाका विभिन्न कुनालाई समेत प्रयोग गर्नुपर्छ जसले गर्दा खाली नदेखिएर सजावट गर्न सकिन्छ। बेडको कुनामा आकर्षक ढंगले सामान सजाउन सकिन्छ।

फर्निचर ः बजारमा पाइने रेडिमेट सामग्रीभन्दा घरको र कोठाको आकार हेरेर सामान खरिद गर्नुपर्छ। योभन्दा राम्रो आफैंले फर्निचर बनाउन दिँदा राम्रो हुन्छ। यसरी विभिन्न उपाय अपनाएर कोठा या घर सजाउँदा आफ्नो दैनिक क्रियाकलाप सजिलो हुनुका साथै हेर्दा पनि आकर्षक देखिन्छ।

भर्याङ ः बजारमा अहिले काठ, मेटल, आल्मोनियम सबैखालका भर्याङ पाइन्छ। भर्याङको आकारअनुसार कति सानो ठूलो हो त्यसअनुरुप भर्याङ राख्नुपर्छ। भर्याङको कुनामा गमला फूलले सजाउँदा राम्रो हुन्छ।

बाथरुम ः सकेसम्म बाथरुम छरितो बनाउने प्रयास गर्नुपर्छ। जसले गर्दा सजिलो महसुस गर्न सकियोस्। धारा बजारको टे«न्डअनुरुपको राख्नुपर्छ। टायलको छनोट सफा देखिने खालको प्रयोग गर्नुपर्छ।

आन्तरिक सजावट ः फर्निचरको पुनः संयोजन गलत तरिकाले राखिएका फर्निचरले घरलाई नसुहाउँदो देखिन्छ। कुर्सी, टेबल, डेक्स एवं सोफालाई भित्तामा राम्रोसँग राख्नुपर्छ । फर्निचर राख्दा गर्दा हिँड्डुल गर्न सहज किसिमबाट राख्नुपर्छ। घरमा धरै पाहुना हुँदा सहज हुने गरी फर्निचर व्यवस्थापन गर्नुपर्छ ।

फूल मानिसको धार्मिक र दैनिक जीवनमा समेत प्रत्यक्षरूपमा जोडिएको छ। सोचमा समेत सकारात्मक प्रभाव राख्ने हुँदा फूलको सजावट ताजा फूलले कोठा र घरको सौन्दर्य बढाउनुका साथै शरीर तथा मस्तिष्कलाई ताजा बनाउँछ। त्यसकारण फूललाई घरको कुनै ठाउँमा प्रयोग गरेर न्यानो स्वागतको अनुभव प्रदान गर्न सकिन्छ।

वास्तुशास्त्रीका अनुसार मास्टर बेडरुम घरको दक्षिण पश्चिममा कुनामा राख्नुपर्ने हुन्छ। यसमा विवाहितका लागि बैजनी रङ, हल्का रातो, हरियो रङ राम्रो मानिन्छ। हरियो र रातो रङ पनि राम्रो मानिन्छ। कालो र नीलो राम्रो मानिँदैन मास्टर बेडरुममा। अविवाहित विद्यार्थीका लागि सेतो र हल्का पर्पल रङ राम्रो मानिन्छ । सेतो सरस्वतीको प्रतीक भएकाले विद्यार्थीको लागि उपयुक्त मानिन्छ।

राशी अनुसार पर्दा र बेडसिटको प्रयोग पनि पाइन्छ । वास्तुमा मेष वृश्चिक राशीका लागि हल्का रातो र सेतो बुट्टा भएको राम्रो मानिन्छ। वृष र तुलाका लागि सेतो, मिथुन र कन्या हरियो, कर्कटलाई सेतो, मकर र कुम्भ नीलो वा हल्का उज्यालो रङ, मीन र धनुका लागि पहेलो रङ उपयुक्त मानिन्छ।

सिटिङरुममा ग्रे र रातो राम्रो रङ राम्रो र भित्तामा उज्यालो रङ उपयुक्त मानिन्छ। दिशाअनुसार रङ छनोट गर्नुपर्छ। उत्तरमा हरियो, दक्षिणमा बैजनी रङ, पश्चिममा पहेलो रङ र पूर्वमा रातो रङ राम्रो मानिन्छ। किचेनमा हरियो र बाथरुममा कालोबाहेक सबै रङ राम्रो मानिन्छ।

वास्तुको महत्व
वास्तुशास्त्र प्राचीन विज्ञान हो, वास्तुशास्त्रको पालन गरी बनाइएका घरमा बस्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। वास्तुशास्त्रले कुन चीजलाई कुुन दिशामा राख्नु उपयुक्त हुन्छ र सकारात्मक ऊर्जाको प्रवाहमा व्यवधान गर्दैन भन्ने विषयमा सैद्धान्तिक व्याख्या गरेको छ।

पञ्चतत्वको मिश्रणबाट नै कुनै पनि संरचनाको निर्माण भएको हुन्छ र मानव शरीर पनि तिनै पृथ्वी, जल, वायु र आकाशबाट बनेको हुनाले नै वास्तु दोष हुने गर्दछ।

वैदिक कालमा यज्ञ तथा प्रकृति पूजा नै ज्ञानको आधार मानिन्थ्यो। वेदमा वास्तुशास्त्रका विषयमा संक्षिप्त परिचयमात्र पाइन्छ जहाँ पूरा प्रकृतिलाई नै वास्तु ब्रम भनी व्याख्या भएको छ। तर, सोही वेदको व्याख्याका रूपमा आएका उपनिषद् र पुराणमा वास्तु विषयले विस्तृत रूप लिइसकेको पाउन सकिन्छ।

आचार्य उग्रादित्यले कल्याणकारक नामक ग्रन्थमा ‘तत्रादितो वेश्मविधानमेव, निगद्यते वास्तु विचारयुक्तम्।’ अर्थात् भवनको निर्माण गर्दा सर्वप्रथम वास्तुशास्त्रीय दृष्टिले भूपरीक्षण र भवन निर्माण योजनाको विचार गर्नुपर्दछ भनी वास्तुशास्त्रका विषयमा लेख्नुुभएको छ। त्यस्तै उमास्वामी आचार्यले श्रावकाचार काव्यको श्लोक नम्बर ११२ र ११३ मा वास्तुशास्त्रको सामान्य प्रयोगका विषयमा लेख्नुभएको छ ः

पूर्वस्यां श्रीगृहं कार्य आग्नेयां तु महानसम्।
शयनं दक्षिणस्यां तु नैऋत्यामायुधादिकम्।।
भुक्तिक्रिया पश्चिमस्यां वायव्ये धन संग्रहः।
उत्तरस्यां जलस्थानमैशान्यां देवसद्गृहम्।।

अर्थः उमास्वामी आचार्यद्वारा लिखित श्रावकाचार नामक पुस्तकमा पूर्व दिशामा शोभागृह, आग्नेय दिशामा भान्सा कोठा, दक्षिण दिशामा शयनकक्ष, नैऋत्य दिशामा आयुधशाला, पश्चिम दिशामा भोजनगृह, वायव्य दिशामा धन संग्रह, उत्तर दिशामा जलश्नान र ईशान दिशामा देवस्थान अर्थात् पूजाकोठा बनाउनुपर्दछ।

पूर्व ः भवनको मूल ढोका, बरन्डा ढोका, झ्याल, शयनकक्ष, भण्डारणकक्ष

पश्चिम ः भोजनकक्ष, शौचालय,
उत्तर ः रिसेप्सन, पैसा राख्ने ठाउँ, बालबालिकाको शयन कोठा, पूजा कोठा, बैठक कोठा, उत्तर दिशाका जमिनको सतह केही अग्लो भएकालाई शुभ मानिन्छ।
दक्षिण ः भारित वस्तु र धन सम्पत्तिको भण्डारण गर्नाले बढोत्तरी हुने विश्वास गरिन्छ। घरको दक्षिण दिशामा खुलापन खाल्डो वा शौचालय हुुनु एकदमै नराम्रो मानिन्छ।
दक्षिणपूर्व ः अग्निसँग सम्बन्धित कार्य, भान्सा कोठा, जेनेरेटर, ट्रान्सर्फमर, विद्युत् मिटर,
संगीत वा नृत्य साधना कक्ष
दक्षिण पश्चिम ः ओजनदार सामान भण्डारण, पानी ट्यांकी, सिँडी, मनोरञ्जन कक्ष
उत्तर पश्चिम ः पाउना कोठा, गोठ, ग्यारेज
उत्तरपूर्व ः शयनकक्ष, सभाकक्ष, पठनपाठनका लागि उपयुक्त, अध्ययन भवन, भूमिगत ट्यांकी

यजुर्वेदको स्थापत्य अध्यायअन्तर्गत वास्तुशास्त्रलाई दुई भागमा बाँडिएको छ– देवशिल्प र मानवशिल्प। देवशिल्पअन्तर्गत मठमन्दिर र यज्ञशाला आदि । धार्मिक संरचना निर्माण विधिका बारेमा उल्लेख गरिएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्ष बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणबारे सविस्तार उल्लेख छ। भूमि वास्तु, घरायसी वास्तु, व्यावसायिक वास्तु, धार्मिक वास्तु गरी वास्तुलाई ४ भागमा विभाजन गरिएको छ। वास्तुशास्त्रको पूर्वप्रयोग र विधि अपनाउँदा भौतिक संरचनाको निर्माण डिजाइन राम्रो नहुन सक्छ तर वास्तुशास्त्रमा उल्लेख भएझैं मासिसका लागि धु्रवीय व्यवस्थापन महत्वपूर्ण रहने वास्तुशास्त्री बताउँछन्।

प्रासादो मण्डपश्चैव, विना शास्त्रेण यः कृतः।
विपरीतं विभागेषु, योऽन्यथा विनिवेशयेत्।।
विपरीतं फलं तस्य, अरिष्टं तु प्रजायते।
आयुर्नाशो मनस्तापः, पुत्रनाशः कुलक्षयः।।
यजुर्वेद, स्थापत्य अध्याय प्रथम श्लोक

अर्थ ः शास्त्र प्रमाणको बिना यदि देवालय, मण्डप, घर, पसल, र व्यावसायिक भवनको निर्माण गर्दा त्यसले विपरीत फल दिन्छ, अरिष्ठ हुन्छ, आयुनाश, पुत्रनाश, धननाश, तथा कुलक्षयको सम्भावना रहन्छ।

वास्तुशास्त्रले घरको कुन भाग कस्तो हुन्छ भन्ने जानकारी दिन्छ। वास्तुशास्त्रमा ९ वटा दिशा हुन्छन् जसमा मध्य दिशा पनि एक हो। घर वा कार्यालयकोे बीच भागसँग व्यक्तिको गहिरो सम्बन्ध हुन्छ। विभिन्न दिशाले घरमा सकारात्मक तथा नकारात्मक ऊर्जा प्रवाह गरिरहेका हुन्छन्। वास्तुशास्त्रीले घर वा व्यावसायिक भवनको निर्माण गर्दा विभिन्न कक्षको गलत चयनले उत्पन्न हुने नकारात्मक ऊर्जाले पारिवारिक र व्यावसायिक उन्नतिमा बाधा पुर्याइरहेको हुन्छ।

दक्षिण दिशाको सम्बन्ध व्यक्तिको करियरसंँग सम्बन्धित हुन्छ। घर अथवा अफिसको दक्षिण दिशामा रातो रङको प्रयोग उत्तम मानिन्छ। दक्षिण दिशालाई सफासुग्घर राख्न पनि उत्तिकै जरुरी छ। घरको दक्षिण पश्चिम दिशाको सम्बन्ध व्यक्तिको कुशलता, बुद्धिमता र ज्ञानसंँग जोडिएको हुन्छ। साथै उक्त दिशा अध्ययन र शिक्षासँंग पनि सम्बन्धित हुन्छ। घरको पश्चिम दिशा व्यक्तिको लगाव, परिवार र पारिवारिक सम्बन्धसँग जोडिएको छ। रङरोगन गर्दा घरको पश्चिम दिशामा सुनौलौ, सिल्भर वा सेतो सङको प्रयोग गर्नुपर्छ।

उत्तर पश्चिम दिशाको सम्बन्ध मानिसको धन र समृद्धिसँग जोडिएको हुन्छ। उत्तर दिशाले व्यक्तिको सामाजिक सम्मान र मानप्रतिष्ठासँग सम्बन्ध राख्दछ। उत्तर दिशामा गाडा हरियो रङको प्रयोग उत्तम मानिन्छ। उत्तर–पूर्व दिशासँग प्रेम, विवाह, पति पत्नी सम्बन्धजस्ता विषय जोडिएका हुन्छन्। पूर्व दिशाको सम्बन्ध बालबालिकासँग बढी सम्बन्धित हुन्छ। यस दिशाले उनीको सोच, पढाइ एवं स्वास्थ्य क्षेत्रलाई नियन्त्रण गर्दछ। यस दिशाका लागि बैजनी रङको प्रयोग उत्तम मानिन्छ। दक्षिण–पूर्व दिशा व्यक्तिगत जीवनसँग जोडिएका सहायक व्यक्तिसँग सम्बन्धित हुन्छ। आफन्त, इष्टमित्र, साथीभाइसँगको सम्बन्धलाई यस दिशाले प्रतिनिधित्व गर्छ।

आधुनिक यन्त्रको सहयताले भवन वा परिसरमा व्याप्त प्राकृतिक तथा मानव निर्मित वातावरणबाट उत्पन्न विद्युतीय र अन्य तरंगको प्रभावी अध्ययन पनि सम्भव भइसकेको छ। वास्तुशास्त्रको व्यवहारिकता र प्रयोगको विषय आफंैमा चुनौतीपूर्ण हो तर पनि हामी पूर्णरूपमा नकार्न पनि सक्दैनौं भने नकार्न पनि नहुने वास्तुशास्त्री बताउँछन्। यसर्थ घरको वातावरणले व्यक्तिको विचार र आचरणलाई असर गर्दछ भन्ने कुरा नै हामी वास्तुशास्त्रको सारांशका रूपमा लिन सक्छौं।

कस्तो रङ छान्ने ?

रङले घरलाई आकर्षक बनाउने गर्छ, त्यसकारण घर बनाउँदा रङको छट्टै महत्व छ। नेपाली समुदाय घरमा लगाउने रङका विषयमा धेरै सजग हुन थालेका छन्। ग्राहकको मागअनुरुप नेपाली बजारमा स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न रङ उपलब्ध छन्।

नेपाली बजारमा एसियन, पशुपति, बर्जर, कन्साई नेरोल्याकलगायतका रङका ब्रान्ड उपलब्ध छन्। अनेक गुणस्तर तथा कलर भेराइटीका साथै मानव स्वास्थ्य र वातावरणका क्षेत्रमा कुन रङले कस्तो असर गर्छ भन्ने विषयमा ग्राहकलाई आफूले प्रयोग गर्ने रङको विषयमा जानकारी पाउन कठिन हुन्छ। नेपालमा उपलब्ध रङमा बाहिर तथा भित्र दुवै भागमा प्रिमियम, इकोनोमिक र रेगुलर गरी विभिन्न प्रकारका रङ उपलब्ध छन्। भित्ता रङगाउनुअघि लगाइने वालपुट्टी, प्राइमर, इमल्सन, डिस्टेम्पर आदि पनि रङकै उत्पादन हुन्। नेपालमा उत्पादन गर्ने पेन्टस्ले एक्स्टेरियर तथा इन्टेरियरमा स्पेसल इफेक्ट्स, उड फिनिस, इनामेल जस्ता कलर पनि उत्पादन गर्दै आएका छन्।

अहिले घरमा रङ लगाउने कुरामा धेरै मानिस सजग हुन थालेका छन्। केही अघिसम्म लाखौं खर्च गरेर घर निर्माण गर्नेहरू पनि वर्षौंसम्म घरमा रङ नलगाई बस्थे तर अहिले घर स्टिमेटको बजेटभित्रै रङका लागि पैसा छुट्याइन्छ। घरको लुक्स बढाउन कुन रङ प्रयोग गर्ने भन्ने विषयमा चासो दिन थालिएको छ। साथै किचनमा कस्तो रङ लगाउने, लिभिङ रुममा कुन रङ लगाउने, बेडरुममा कस्तोलगायतका इन्टेरियर कलरिङ विषयमा पनि मानिसले ध्यान दिने गर्छन्।

बाहिरी रङ ः घरको बाहिरी रङले घरको सुन्दरताको व्याख्या गर्छ। तसर्थ, घरको रङ अरूको भन्दा फरक सबैलाई आकर्षित गर्ने खालको हुनपर्छ। साधारणतया घरको बाहिरी रङ मन्द खालको हुनुपर्छ। धेरै चम्किलो रङ खासै आकर्षित मानिँदैन।

किचेनको रङ ः किचन भनेको घरको मुटु हो जहाँ परिवारका सदस्यहरूको बढी नै आवतजावत हुन्छ। हामी किचनमा धेरै समय बिताउँछौं। त्यसैले किचनमा आँखालाई बाधा नपर्ने रङ लगाउनुपर्छ। सकेसम्म इजी क्लिन रङ लगाउनु उपयुक्त हुन्छ किनभने किचन त्यस्तो ठाउँ हो। जहाँ पानी बढी खेलाइन्छ। भान्साका लागि पानीले पनि नबिगार्ने तथा सहजै सफा गर्न सकिने रङ फिट हुन्छ।

बेडरुम ः बेडरुम त्यो ठाउँ हो जहाँ दिनभरिको थकान मेटाउन विश्राम गरिन्छ, बेड रुमले मानिसको रात्रि जीवनमा पनि प्रत्यक्ष सरोकार राख्ने भएकाले मानिसको स्वभावअनुसार प्रयोग गर्न सकिन्छ। यस्तो ठाउँमा मन शान्त हुने खालका लाइट ब्लु, लाइट पिंक वा अफ ह्वाइट रङ लगाउन सकिन्छ। बजारमा हालसालै देखापरेको सिल्क कलर बेडरुमका लागि उपयुक्त रङ हो।

लिभिङ रुम ः लिभिङ रुम सबैभन्दा पहिले देखिने तथा व्यक्तिको पहिचान झल्किने कोठा हो। तसर्थ, यो अन्य कोठाभन्दा आकर्षित हुनुपर्छ। पर्याप्त प्रकाश आउने कोठा भएकाले यसमा सजावट गर्नुपर्ने अन्य सामग्री राख्न सकिन्छ। सुन्दर देखाउन ब्राइट कलर लगाउनु उपयुक्त हुन्छ। यसमा आफूलाई मन पर्नेगरी जुनसुकै उत्तम रङ छान्नु बुद्धिमानी हुन्छ। तर, भद्दा देखिने रङ भने लगाउनुहुँदैन।

रङमा होसियार

स्वास्थ्य जानकारहरूका अनुसार सिल्कलगायतका उच्च गुणस्तरीय रङ छनोट गर्नुपर्छ। निर्माणाधीन अवस्थामै रहँदा रङ लगाउन खोज्नु उपयुक्त होइन। घर रङ्याउनुअघि आफ्नो क्षेत्र तयार छ कि छैन त्यसतर्फ केन्द्रित हुन जरुरी हुन्छ। रङ लगाइसकेपछि सुक्न पर्याप्त मात्रामा समय दिएको अवस्थामा मानव स्वास्थ्यमा नराम्रो असर पर्दैन।

त्यस्तै बजारमा उपलब्ध रङ स्वास्थ्यका लागि हानिकारक छ कि छैन ध्यान पुर्याउनुपर्छ। त्यस्तै बिग्रिएका, मक्किएका भित्ता मर्मत गरेर मात्र कलर गर्नुपर्छ।

रङ र स्वास्थ्य

रङ उत्पादक कम्पनीले रङमा लिडको मात्रा क्रमिकरूपमा घटाउँदै लगेका छन्। घर रङ्याउँदा प्रयोग गरिने इनामेलमा उच्च मात्रामा लिड रहेको र यसले मानव स्वास्थ्यमा असर गर्ने भन्दै आलोचना हुन थालेपछि कम्पनीहरूले यसमा सावधानी अपनाउन थालेका छन्।

लिडलेसमा पनि सिल्क, इमल्सन, ड्राइ ग्लसलगायतका रङको प्रयोग उपयुक्त रहेको विज्ञहरूको सुझाव छ। नेपालमा रङ उत्पादन गर्ने उद्योगले ९९ पीपीएमभन्दा बढी लिड प्रयोग गर्न पाइँदैन। मापदण्डमा रहँदै अहिलेको अवस्थामा अधिकांशजसो रङ कम्पनीको रङमा योभन्दा बढी लिड पाइँदैन। सस्ता, कमसल तथा बढी लिड भएको रङ प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुरालाई मध्यनजर गर्दै रङ उत्पादकले गुणस्तरीय रङ उत्पादन गर्न थालेका छन्।

केही रङमा भने ४ हजार पीपीएमसम्म लिड प्रयोग गरिएको मात्रा भेटिएको छ। यस विषयमा सर्वसाधारण सचेत हुन जरुरी छ। रङमा प्रयोग हुने लिडले सबैभन्दा धेरै असर बच्चाको बौद्धिक विकासमा पर्छ । लिडले श्वासप्रश्वासमा पनि असर गर्छ। उच्च लिडको प्रयागले पुरुषमा उच्च रक्तचाप, नपुंसकता तथा किड्नीमा समस्या ल्याउन सक्छ।

त्यस्तै महिलाको महिनावारी बिग्रने, गर्भ तुहिनेजस्ता समस्या देखिने गरेका छन्। लिड बढी भएको रङकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपांग हुने र १ लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ । संसारका ६२ भन्दा बढी देशले रङको मापदण्ड पूरा गर्न सफल भए पनि नेपालमा उपलब्ध केही रङले सो मापदण्ड राख्न सकेका छैनन्। तसर्थ, घरमा लगाउन गुणस्तरीय रङ छनोट गरौं, स्वस्थ रहौं, वातावरण जोगाऔं।

घर रङ्याउने पारम्पारिक रङमा रातो माटो, कमेरो, कालीमाटी तथा पहेंलो माटोलगायत पर्दछन्। पम्परागतरूपमा घर सजाउन स्रोतबाट सफा तथा शुद्ध माटोलाई ल्याएर कम्तीमा १ रात भिजाउने गरिन्छ। यसरी भिजाइएको माटो नरम, तथा लिसाइलो बन्छ। प्रयोग गर्दा भित्तामा लगाई एक दिन सुक्न दिइन्छ। राम्रोसँग सुकेको माटो घरको भित्तामा लामो समयसम्म टिक्छ। यसरी लगाइएको माटो सफा स्रोतबाट भए स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ।

 

प्रतिक्रिया दिनुहोस्