इंग्ल्याण्डद्वारा गोलबर्षा



मस्को, (एजेन्सी)
रसियामा जारी फिफा विश्वकपमा इंग्ल्याण्डले गोलबर्षा गर्दै पानामालाई पराजित गरेको छ ।
समूह जी अन्तर्गत आइतबार भएको दोस्रो चरणको खेलमा इंग्ल्याण्डले पानामालाई ६–१ को भारी गोलअन्तरले पराजित गरेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गर्दा जोन स्टोन्सले दुई तथा जेसे लिन्गार्डले एक गोल योगदान गरेका थिए ।

इंग्लिश टोलीले खेलको आठौ मिनटमै जोन स्टोन्सको गोलबाट खाता खोलेका थिए । यस्तै कप्तान ह्यारी केनले पेनाल्टीमार्फत् इंग्ल्याण्डको अग्रता दोब्बर पारे ।

जेसे लिन्गार्डले ३६ औं मिनेटमा तथा स्टोन्सले ४०औं र केनले इन्ज्युरी समयको पहिलो मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मध्यान्तरसम्म इंग्ल्याण्डलाई ५–० को स्थितिमा राखे । यसैगरी खेलको ६२औं मिनेटमा थप एक गोल गर्दै केनले आफ्नो ह्याट्रिक पूरा गरे ।

यो सँगै जारी विश्वकपमा सर्वाधिक ५ गोल गरेर उनी गोल्डेन बूटको बलियो दावेदार बनेको छ ।

जितपछि इंग्ल्याण्ड र बेल्जियम समूह बी मा समान ६ अंक सहित संयुक्त रुपमा शीर्ष स्थानमा छ । पानामा भने समूहबाट बहिरिएको छ ।

केन गोल्डेन बूटको बलियो दावेदार
इंग्ल्याण्डका स्टार ह्यारी केनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुलाई उछिनेका छन् । उनले विश्वकपमा पाँच गोल गर्दै रोनाल्डो र लुकाकुलाई उछिनेका हुन् ।

आइतबार पानामालाई ६–१ गोलले हराएको खेलमा उनले ह्याट्रिक गर्दै गोल्डेन बुटको आफु प्रमुख दावेदार भएको जनाउ दिए । उनले यसअघि ट्युनिसियासँगको खेलमा दुई गोल गरेका थिए । रोनाल्डोले स्पेन विरुद्ध ३ र मोरक्को विरुद्ध १ गोल गरेका थिए । लुकाकुले पानामा विरुद्ध २ र ट्यूनिसिया विरुद्ध २ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्